कञ्चनपुर घटना अत्यन्त गम्भीरः प्रचण्ड

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरमा बिहीबार भएको घटना अत्यन्तै गम्भीर रहेको बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँगको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री दाहालले कञ्चनपुर घटनाको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानबिन प्रक्रियामा नेपाल सरकारको सहयोग रहने बताउनुभयो ।

कञ्चनपुरको आनन्दवस्तीमा भारतीय सुरक्षाकर्मीको गोली लागि गोविन्द गौतमको निधन भएपछि भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार डोभलले आज प्रधानमन्त्री दाहालसँग टेलिफोन वार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टेलिफोन वार्तामा प्रधानमन्त्रीले भारत सरकारको छानविनपश्चात् दोषीमाथि ठोस कारबाही हुने नेपालको अपेक्षा रहेको बताउनुभयो ।

कञ्चनपुरको पुनर्वासमा घटेको घटनामा नेपाली युवा गौतमको मृत्यु भएको घटनाप्रति सुरक्षा सल्लाहकार डोभलले दुःख व्यक्त गर्नुभएको बताइएको छ । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै डोभलले घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभएको छ ।

सुरक्षा सल्लाहकार डोभलले भारत सरकारको छानविन प्रक्रियामा कूटनीतिक सहयोग र समन्वय गर्न एवम् मृतकको शवपरीक्षण प्रतिवेदनलगायत अन्य सम्भव जानकारी उपलब्ध गराउनसमेत प्रधानमन्त्री दाहालसँग अनुरोध गर्नुभएको थियो ।