‘राष्ट्रघाती’ अभिव्यक्ति दिएकाे भन्दै प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न नदिने विपक्षी दलहरूको निर्णय
काठमाडौँ, १८ जेठ । नेपालले पनि भारतको सीमा मिचेको भनी प्रधानमन्त्री बालेन्द्र साहले आइतबार प्रतिनिधिसभा बैठकमा दिनुभएको विवादित अभिव्यक्तिप्रति आक्रोशित बनेका विपक्षी दलहरू एकजुट भएका छन्। आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ।
बैठकको निर्णयबारे जानकारी दिँदै नेकपाका नेता युवराज दुलालले विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ को संज्ञा दिएको बताउनुभयो। “प्रधानमन्त्रीले आफ्नो आपत्तिजनक अभिव्यक्ति तत्काल फिर्ता लिई संसद्बाटै देशवासीसमक्ष माफी नमागेसम्म सदनको कारबाही चल्न नदिने निर्णयमा विपक्षी दलहरू पुगेका छन्,” नेता दुलालले भन्नुभयो।
विपक्षी दलहरूले संसद् अवरोध गर्नेसम्बन्धी रणनीति तय गर्दै मुख्य दुईवटा माग अघि सारेका छन्:
१. सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको विवादित भनाइ संसद्को आधिकारिक अभिलेख (रेकर्ड) बाट तत्काल हटाइनुपर्ने।
२. प्रधानमन्त्री स्वयंले संसद्को रोस्ट्रममा उभिएर देशवासीका नाममा माफी माग्नुपर्ने।
आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका सीमासम्बन्धी प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको आफूले थाहा पाएको भन्दै टिप्पणी गर्नुभएको थियो। सोही अभिव्यक्तिका विरुद्ध संसद्मा सशक्त विरोध गर्ने र माग पूरा नभएसम्म सदन अवरुद्ध गर्ने निष्कर्ष विपक्षी दलहरूले निकालेका छन्।