प्रचण्डले पटक–पटक धोका दिएपछि बाध्य भएर समर्थन फिर्ता लिएका हौँ—बृजेशकुमार गुप्ता,महामन्त्री, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)
बृजेशकुमार गुप्ता तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का महामन्त्री हुन् । संविधान संशोधनलागायतका एजेण्डा बोकेर आन्दोलन जारी राखेको मधेसी मोर्चाको एक घटक तमलोपाका नेता गुप्ता प्रचण्ड सरकारले धोका दिएकाले आफूहरुले बाध्य भएर समर्थन फिर्ता लिएको बताउँछन् । गुप्तासँग मुलुकको पछिल्लो राजनीतिक अवस्था, तराई–मधेसको आन्दोलन, आगामी निर्वाचन, संविधान कार्यान्वयनलगायतका विषयमा मैत्रीन्युज डटकमले गरेको कुराकानीः
करिब ६ महिना अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुभयो । यसपछिको राजनीतिलाई कसरी लिनुभएको छ ?
देश अहिले पनि द्वन्द्वमा छ । देश अहिले पनि संक्रमणकालमै छ । अहिले देशका ठूला राजनीतिक दलहरु मुख्य गरेर नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले हामीलाई जनताले म्याण्डेट दिएका छन् भन्दै आफ्नै ढंगले आफूलाई चलाएका छन् । यो निश्चय पनि राम्रो कुरा होइन । उनीहरुले आफूलाई जिम्मेवारीबोध गराउन सकेका छैनन् । ठूलोले ठूलै जिम्मेवारी लिनुपर्छ । सानोलाई बढी जिम्मेवारी दिन खोज्ने कुराले समस्या भएको छ ।
यही तरिकाले ठूला राजनीतिक दलहरु चल्ने हो भने देश अझ ठूलो द्वन्द्वमा जान्छ । देश द्वन्द्वमा जानु भनेको जनताले दुःख पाउनु हो । मधेसमा द्वन्द्व हुनु भनेको त्यहाँका जनताले दुःख पाउनु हो । यसको समाधानका लागि अर्थात यस्तो नहोस भन्नका लागि अहिले नै समाधानको बाटो खोज्नु उपयुक्त हुन्छ ।
भनेपछि तपाईहरुले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनतासँग जाने भनेको पनि समस्या समाधानकै लागि हो ?
मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन किन फिर्ता लियो ? यो त सबैलाई थाहा भएकै कुरा हो नि । मधेसी मोर्चा अधिकारका लागि ०६३ सालदेखि मोर्चा बनाएर लडेको मोर्चा हो । यसले मधेसी जनताको अधिकारका लागि लडिरहेको कुरा पनि सबैलाई थाहा भएकै कुरा हो । हामीले मधेसमा आन्दोलन गरेको पनि मधेसी जनताको अधिकारकै लागि हो । हामीले सरकारसँग मागेको पनि मधेसी जनताको अधिकार सुनिश्चित होस् भन्ने नै हो । हामीले यो बारेमा धेरै सरकारसँग छलफल गर्यौँ । धेरै सम्झौता पनि गर्यौँ । तर, अहिले आएर उहाँहरु मधेसी मोर्चासँग जुन तरिकाले प्रस्तुत हुनु भएको छ । जुुन तरिकाको व्यवहार प्रस्तुत गर्नूभएको छ । त्यो सही छैन ।
हामीले अहिले मात्र होइन संविधान जारी हुनु अघि पनि संविधानको विरोध गरेकै हो । हामीले नमिलेका कुरा मिलाएर जाऔँ भनेकै हो । तर, ठूला राजनीतिक दलहरुले हठ गरेर संविधान जारी गरेर जानुभयो । आन्दोलनका क्रममा कति साथीहरु सहिद भए । त्यस्तो अवस्थामा पनि हामीलाई आउनुहोस् छलफल गरेर समस्याको समाधान खोजौँ भन्नुभयो । हामीले हुन्छ भनेर सरकारलाई समर्थ गर्यौँ । तर, समस्या समाधान गर्ने होइन, हामीलाई धोका दिने काम भयो । हामीलाई अलमल्याउने मात्र काम भयो । त्यसैले हामी बाध्य भएर सरकारको समर्थन फिर्ता लिनु पर्ने अवस्थामा पुग्यौँ । आन्दोलन हाम्रो रहर होइन, बाध्यता हो । हामीले पनि देशमा सम्वृद्धि चाहेका छौँ । हामीले पनि देशमा शान्ति चाहेका छौँ । तर, त्यो भैरहेको छैन । हामीलाई पनि दुःख लागेको छ । हाम्रा साथीहरुको रगतमाथि लेखेको संविधानलाई हामीले यही अवस्थामा स्वीकार गर्ने स्थिति छैन ।
भनेपछि तपाईँहरु अहिले पूर्णरुपमा संविधानको विपक्षमा हुनुहुन्छ होइन ?
हामीले पूरै संविधान नमान्ने भनेका छैनौ । हामीले संविधान कार्यान्वयन गरेर नै जानुपर्छ भनेका छौँ । तर, हाम्रा मागको पनि त सम्वोधन हुनु पर्यो नि ? त्यत्तिकै त हामीले कसरी स्वीकार गर्न सक्छौँ र ? फलेको वृक्षको हाँगा नुहुनु पर्छ । उहाँहरु पनि ठूलो दल भएपछि नुहुनु पर्छ अनि समस्याको समाधान हुन्छ ।
सरकारले त पहिला स्थानीय तह वा निकायको निर्वाचन गरौँ । त्यसपछि संविधान संशोधनको प्रक्रियामा अघि बढौँ भनेकै छ नि ?
यो कुरा केटाकेटीलाई चक्लेट दिएर फकाए जस्तो हो । हामीलाई उहाँले त्यसैबेला अर्थात सरकार गठन गर्ने बेलामै अहिले संविधान संशोधन गर्न सकिने अवस्था छैन । म स्थानीय तहको निर्वाचन गरुन्जेलसम्मका लागि मात्र प्रधानमन्त्री हो भनेको भए हामी उहाँलाई समर्थन नगर्न पनि सक्थ्यौँ । समर्थन गरे पनि पहिला निर्वाचन गर्ने र त्यसपछि मात्र संशोधन गर्ने भनेर समर्थन गर्न सक्थ्यौँ । हामीलाई त पटक–पटक धोका दिने काम भएको छ । यसलाई हामीले कसरी स्वीकार गर्न सक्छौँ ? नौ–नौ महिनाका लागि गठन भएको सरकार थियो । उहाँले त हामीलाई त्यसैबेला संविधान संशोधन हुन्छ भनेर झुट्टा कुरा गर्नु भयो नि ?
अहिले तराई–मधेस अशान्त छ । तर, सरकारले सेना लगाएर भए पनि निर्वाचन गर्ने भनेको छ । यो कत्तिको सम्भव छ ?
सेना लगाएरै उहाँहरुले निर्वाचन गर्ने उहाँहरुको कुरा भयो । म भन्न चाहन्छु । अहिले नेपालमा आतंकबाद सिर्जना भएको छैन । त्यसकारण सेना लगाएर निर्वाचन गर्ने आवश्यकता सरकारलाई छैन । उहाँहरुले मार्शल लगाएर संविधान जारी गरेकै हो । अहिले त्यो संविधान त सबै जनताले मानेका छैनन् नि ? उहाँहरुले सेना लगाएर निर्वाचन गर्नुभयो भने जनताले त्यो निर्वाचन पनि अस्वीकार गर्नेछन् ।
अहिले निर्वाचनको हतार गर्ने दलकै कार्यकर्ताहरुले तराई–मधेसको समस्या समाधान नगरी निर्वाचन सम्भव छैन भनेर भनिरहेका छन् । यस्तो जान्दा–जान्दै निर्वाचनमा जाने रहर हो भने हामीले भन्नु केही छैन । पूर्वराजा ज्ञानेन्द्रले पनि निर्वाचन गरेकै थिए । के हालत भयो ? म त्यो कुराको पनि ख्याल गर्न आग्रह गर्छु । उहाँहरुले हामी जवरजस्ती गर्दा द्वन्द्व हुन्छ । त्यसमा मान्छे मर्छन् । मान्छे मर्दा नेपाली मर्ने हो भन्ने उहाँहरुलाई जानकारी होस् । हाम्रो आग्रह यही हो ।
अहिले ९० प्रतिशत बढी प्रतिनिधिले जारी गरेको संविधान १० प्रतिशत भन्दा कमले आन्दोलन गर्दैमा कार्यान्वयन चरण रोकिन्न भन्ने ठूला दलको तर्कलाई चाहिँ कसरी लिनु भएको छ ?
खारेजी भएको संसद् नेपालमै होइन आन्दोलनबाट स्थापित भएको ? त्यो आन्दोलन अहिले ठूला भनिएका राजनीतिक दलले नै गरेका होइनन् ? उनीहरुले त्यसबेला निर्वाचनबाट स्थापित गरौँ भनेर ज्ञानेन्द्रले भनेको भए मान्ने थिए ? थिएनन् । हो, हामीले पनि आन्दोलनबाट स्थापित गरेर एजेण्डालाई निर्वाचनमा गएर मान्नुपर्छ भन्ने छैन । आन्दोलनको विकल्प संसद् हुँदैन । आन्दोलन जनताले गर्ने हुन् । जनताले नै फैसला गर्छन । हामी अहिले जनतासँग छौँ । अहिलेको माग समग्र मधेसको माग हो । संविधान संशोधन गर्न मिल्दैन भन्ने जुन तर्क छ । पहिला उहाँहरुले नै संविधान जारी गरेको मसी सुक्न नपाउँदै फेरि संशोधन गरेको होइन ?
दुबै थरीको हठका कारण फेरि देश द्वन्द्वमा जाने खतरा बढ्यो नि होइन ?
शासन चलाउने ९० प्रतिशले त्यो कुरा बुझ्नु पर्छ । हामीले पहिला पनि चाहेर आन्दोलन गरेको होइन । अहिले पनि आन्दोलन गर्नुपर्छ भन्ने पक्षमा हामी छैनौँ । हामी मधेसी जनताको अधिकारका लागि लडिरहेका छौँ । उहाँहरु मधेस आन्दोलनलाई नै बद्नाम बनाउँदै हुनुहुन्छ । हामीलाई फेरि विस्तारै आन्दोलनमा जान बाध्य बनाउँदै हुुनुहुन्छ । उहाँहरुले हामीलाई लखेट्दै–लखेट्दै सिमासम्म पुर्याएपछि हामी सिमामै धर्ना बस्यौँ । हामी सिमामा धर्ना बस्दा त्यसलाई नाकाबन्दी भनियो । फेरि त्यस्तो अवस्था नआवोस् भन्ने हाम्रो चाहना छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मेची–महाकाली राष्ट्रिय अभियान सम्पन्न गर्यो । तराई–मधेसका केही जिल्ला बाहेक सबै जिल्लामा अभियान सफल पनि भयो । यसलाई कसरी लिनुभएको छ ?
मेरो विचारमा एमालेले द्वन्द्व चाहेको हो कि भन्ने लागेको छ । हामी त्यहाँ जाँदा नेपाली नै मर्छ अहिले समय त्यति अनुकुल छैन भन्ने हेक्का उहाँहरुलाई भएको भए सप्तरीमा पाँच जना सहिद हुनुपर्ने थिएन । मेरो फेरि पनि आग्रह छ । यस्तो कुरामा जिम्मेवार पार्टीले जिम्मेवार भएर सोच्नुपर्छ । फल लागेको रुख नुहुनुपर्छ । अहिले मधेसका उत्पीडित जनताले आन्दोलन गरेका छन् । म फेरि पनि स्मरण गराउन चाहन्छु । पहिला पनि हामीले चाहेर आन्दोलन गरेको होइन । प्रहरीले गोली हान्दै–हान्दै हामीलाई लखेट्दा दक्षिणको सिमासम्म पुग्न बाध्य भयौँ । हामी त्यही बस्यौँ, त्यो नाकाबन्दी भयो । यस्तो अवस्था फेरि नआवोस् ।