पैसा र पहुँच भरमा बन्दुक राख्ने भीआईपीहरु

काठमाडौँ । नेपालमा व्यक्तिगत हतियार राख्ने सहज छुट नभए पनि पैसा र पहुँच हुनेहरुले गृहमन्त्रालयबाट स्वीकृति लिएर निजी बन्दूक राख्ने क्रम बढेको पाइएको छ ।
अबको १० महिनाभित्र तीनवटा चुनाव गराउने जिम्मेवारीमा रहेको सरकार अहिले आफैंले लाइसेन्स दिएका हतियार जिल्ला प्रशासन कार्यालयमा जम्मा पार्ने अभियानमा जुटेको छ । चुनाव अवधिभर त्यस्ता हतियार जिल्ला प्रशासन कार्यालयलाई बुझाउन सरकारले आग्रह गरेको छ ।
दर्तावाल हतियारहरु जिल्ला प्रशासन कार्यालयमा फिर्ता गर्न सरकारले आह्वान गरिरहेकै बेला केही भीआइपीका साथमा पनि व्यक्तिगत हतियार रहेको पाइएको छ ।
यसरी व्यक्तिगत हतियार राख्नेहरुमा उपराष्ट्रपति, प्रहरीका हाकिम र दलका नेताहरुसम्म छन् ।गृहमन्त्रालय स्रोतबाट प्राप्त जानकारी अनुसार उपराष्ट्रपति नन्दबहादुर पुनसँग २२ बोरको बन्दूक छ । त्यस्तै पूर्वप्रहरी अधिकारी हेमन्तबहादुर पालसँग १२ बोरको निजी बन्दूक छ । डीआइजी जयबहादुर चन्दले पनि निजी हतियार राखेको पाइएको छ ।
माओवादी नेता प्रभु साहसँग १२ बोरको बन्दुक छ भने प्रधानमन्त्री पुत्र साकार दाहालसँग २२ बोरको राइफल रहेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ ।
निर्वाचनका बेलामा व्यक्तिले आफ्नो साथमा यस्ता कुनै पनि हतियार राख्न नपाउने सरकारले भनिरहेका बेला झापाको अनारमनी घर भई काठमाडौंमा बस्ने प्रदीप मित्तलका साथमा ४ थान राईफल छन् । तीमध्ये केही १२ बोरका र केही २२ बोरका छन् ।
दोलखाका सञ्जीव वलीसँग जर्मनमा बनेको हतियार रहेको गृहमन्त्रालयमा रेकर्ड छ । त्यस्तै कपिलवस्तुको वीरपुरमा मात्रै विभिन्न व्यक्तिहरुसँग ७ थान राईफल रहेको गृहमन्त्रालयमा तथ्यांक भेटिएको छ ।
चैत ११ गते ।