दोलखा र पुत्ररत्न दर्शन—कपिल अज्ञात
पुत्र पुत्रजस्ता भएर निस्किए किन्तु म पिता पिताजस्तो हुन नसक्नुका पछि आफ्नै व्यथा–कथा छन् । पिताको सोझो अर्थ रक्षा गर्नु हो र ध्वन्यार्थमा उचित शिक्षादीक्षा दिएर सक्षम बनाउनु पनि हो । शिक्षादीक्षाको लागि राम्रो परिवेश चाहिन्छ, त्यस्तो परिवेश मैले दिएको छु भनेर पूर्णतया दावा गर्न म सक्तिन । म विश्व विद्यालयको प्राध्यापक भए पनि पुत्रका लागि निरीह अभिभावक जस्तो भएँ । कारण, मैले पुत्रले अपेक्षा गरेको विषय स्वदैशमैं उपलब्ध गराउन सकिन । यिनै हीनता र अभावले लपेटिएर पनि मैले जीवनमा आफैसँग वैचारिक विद्रोह गर्नु पर्यो ।
सरलता र इमान्दारिताको कुनै अर्थ नलाग्ने यो मुलुकमा राष्ट्रसेवकहरू सबभन्दा पछि पर्ने रहेछन्, त्यस्तै मध्ये शायद म पनि एक हुँ । अन्य कुनै कुराले त्यति विचलित गराएन जति पुत्रले चाहेको विषय स्वदेशमै पढ्न नपाउने कुराले भएको छ । स्वदेशमा दावी नपुगेपछि विदेशै गएर भए पनि उनको धोको सिद्ध गर्नमा मैले जीवनभरको कमाइ दाउमा लगाएँ । एक छोरो पढाउनमा पनि यति ठूलो कमाइ दाउमा लगाउनु पर्ने कस्तो बिडम्बना १ यही बाध्यताले पछि गएर मेरो विद्रोही चेतना जुर्मुरायो । मेरो वैचारिक बाटो गलत थियो भन्ने म आफै एक नमुना बनें । आखिर पुत्रले अर्जुनदृष्टि लगाएर आफ्नो लक्ष्य भेदन गरेको प्रमाणपत्र हासिल गरे । अन्यत्र दृष्टि दिन नपाउँदै उनको योग्यतालाई छोपेर उनी कार्यरत रहेको संस्थाको व्यवस्थापन समितिले उनलाई चिकित्सा सेवाको लागि चरिकोट पुर्यायो । त्यति दूर जाँदा सेवा व्यक्तित्वको आधार राम्रो बन्ला तर जीवन व्यक्तित्वको आधार अलि कमजोर पर्छ कि भन्ने मेरो मनमा अलि चिसो पस्यो किनकि उनको गुणको पहिचान र पारख भएर त्यो ठाउँ उनको उज्यालो र रमाइलो संसारको पृष्ठभूमि बन्ने परिवेश थिएन । आफ्नै नजर सामु रोजगारको मार्ग बताउने कुनै सूत्र आफ्ना हातमा नरहेकाले हामीले उनलाई रोक्न सकेनौं । उनी आफ्नै निर्णयले दुर्गमको सेवा साधनामा लागे । उनको जाँचकीय व्यवहार हेर्ने रहर हामी दुवै दम्पतीमा जाग्यो । दुवै जना नमिले एक्लै भए पनि पुत्रको गतिविधि र परिवेश हेर्नेबुझ्ने तीव्र ईच्छा मनमा साँचेकै थियौँ । विदाको समयमा कुनै काम विशेषले मलाई राजधानी प्रवेश गर्नु परेको स्थिति थियो । यस्तैमा मेरी पत्नीपरमेश्वरीले पुत्ररत्नको पनि खायस गरेर आउने विचार प्रकट गरिन् । विदाको बेला एक पन्थ दुई काज जस्तो हुने त्यही इच्छा जागी घरबाट यात्राको सामल बोकेर गन्तव्यतर्फ लागें । राम्रै संयोग जुरेछ । राजधानीका साततिरका सातवटा कामहरू यथा समयमैं सम्पन्न भए । ताकेका काम पूरा भए नयाँ कामको निम्ति पनि मनमा नयाँ प्रेरणा र उत्साह थपिदै जाँदो रहेछ ।
जीवनमा बनाउन पर्ने कुरा धेरै छन् । ती मध्ये सन्तान र सिर्जना मुख्य हुन् । पहिले आफ्ना लागि आफै बन्न पर्यो । आफै बने अरूलाई बनाउन सकिन्छ । पहिले आफै राम्रो नबनी अरूलाई बनाउन खोज्दा ती त्यति राम्रा हुँदैनन् । हुन त, राम्राले बनाउन खोजेर पनि राम्रा बन्न नसक्ने स्थिति हुन्छ । यो व्यक्तिको प्रकृति र प्रवृत्तिमा पनि भर पर्छ । जे होस्, मैले बनाउन चाहेका मेरा पुत्र मैले चिताएभन्दा पनि अधिक उत्तम र अनेक कोणबाट असल साबित भएका छन् । त्यसमा मलाई औधी खुसी र गौरव लाग्छ । सन्तान राम्रो बनेर राम्रो बाटो लिंदा कसलाई खुसी लाग्दैन रु हिंस्रक सिंहिनीले पनि आफ्नो सन्तान स्वावलम्बी भएको हेर्न चाहन्छे ।
म पुत्ररत्न दर्शनको निम्ति पुत्रकै सल्लाह बमोजिम राजधानीको पुरानो बसपार्कबाट नियत समयमैं चरिकोट जाने बसमा चढेँ । त्यो बाटो मेरा लागि नितान्त नयाँ थिएन । जगदीश घिमिरे प्रतिष्ठान मन्थलीले आयोजना गरेको काव्यगोष्ठीमा र तातोपानी खासा गरी दुई पटक ओहोरदोहोर गरिसकेको थिएँ तर रातको समय परेकाले बाटाका परिदृश्यहरूको त्यति हेक्का रहेको थिएन तर यसपालि बाटाका स्वरूप र वरपरका परिदृश्यहरूलाई पनि राम्ररी नियाल्दै अगि बढेको थिएँ । खाडीचौरबाट साँघुरो बाटो २५ कि।मि। मा मुडे, त्यसपछि खरिढुङ्गा पर्दोरहेछ । खरिढुङ्गामा पिच ९कालोपत्र० नबस्ने हुँदा अन्दाजी एक कि।मी। जति ग्राबेल बाटोमैं यातायातका साधनहरू गुड्दा रहेछन् । नेपालकै सर्वाधिक उचाइमा नागबेली आकारमा रहेको त्यो पिचबाटो साह्रै साँघुरो भएपनि दुर्घटनाका खतरा त्यति देखिएनन् । पत्रपत्रिका र समाचारहरूबाट भएका पनि सुनिएनन् । दोलखा दुर्गममा रहेको भएपनि आवतजावतको कठिनाई देखिएन । राजधानीसँग जोडिएको सुरक्षित बाटो रहेछ । सन्तानले जति ओहोर–दोहोर गरे पनि तिनका अभिभावकलाई त्यति चिन्ता नपर्ने रहेको महसुस भयो ।
लामाबगरको बाटो खरिढुङ्गा बाटोभन्दा पनि उचाइमा रहेको छ, भन्छन् तर त्यो मैले नदेखेको तथ्याङ्क थियो ।
प्राचीन कालमा दोलखा नेपालकै सिक्का उत्पादन गर्ने प्रसिद्ध थलो रहेछ । त्यही कारण होला अहिले पनि त्यहाँका मानिस अर्थिक दृष्टिले समृद्ध रहेछन् । अधिकांश दोलखाबासीले राजधानीमा घरजग्गासमेत जोडेका छन् भन्ने बुझियो । छोराछोरी काठमाडौंको घरमा बसेर पढाइलेखाइ गर्ने र बुढावुढी पहाडमा घरबारी सम्हाल्ने रहेछन् ।
दुइतीन घन्टा जति फेदी बाटो र दुइतीन घण्टा जति डाँडाका बाटोको दूरी तय गरेपछि चरिकोटको नगिच पुगियो । एक डाँडाबाट अर्को डाँडाको दर्शन रमाइलो लाग्दो रहेछ । कैयौं कोटमध्ये चरिकोट देख्दैमा भव्य र आकर्षक लाग्यो । चरीहरू रमाउने किल्ला वा गढी भएकाले चरिकोट भनिएको होला । त्यहाँ एकै नजरमा कैयौं डाँडा दृष्टिगोचर हुँदा रहेछन् । पर्यटकका लागि यो आकर्षक तथ्य हो । हिमालझैं भएर रहेका अत्युच्च डाँडाहरूको सिरानको थुम्कोलाई लुम्ब भनिदो रहेछ । सयौं लुम्ब भन्दाभन्दै सैलुङ्गे नामकरण रहेको व्युत्पति बोध हुँदा माथिमाथि सैलुङगेमा चौरी डुलाउनेलार्ई भन्ने गीतको सम्झना भयो । कोशौं उचाइको दूरीमा रहेका ती लुम्बहरूमा चौँरी डुलेको हेर्ने रहर मनमा उब्जियो तर आफ्नै समस्याले खुम्चिएर त्यो हेर्ने मेसो जुराउन सकिएन ।
म बसमा भएपनि पुत्र हातेफोन सम्पर्कमैं रही म कहाँ पुगेँ त्यसको जायजा लिँदै गरेका थिए । नजिकनजिक पुगेपछि पन्ध्रसोह्र कि।मि। परबाटै चरिकोटको बजार दृष्टिगोचर हुँदो रहेछ । बजार नजिकै पुग्दा पाँचछ तला अग्लिएका मञ्जिलहरूले भौतिक प्रतिस्पर्धाको आश्चार्यजनक परिचय दिए । कोटको प्रवेश हुने बित्तिक्कै उपाधि प्राप्त गरिसकेका पुत्र मलाई खोज्दै मेरा सामु उपस्थित भए । शिष्टाचार पूर्वक झोला पक्रिए । म गौरव बोधले अविभूत भएँ । पूर्वजन्मको पुण्य र यस जन्मको प्रयासले मात्र यस्ता पुत्ररत्नको प्राप्ति हुन्छ भन्छन् । स्वर्ग भनेको सुख हो नर्क भनेको दुःख हो सत्पुत्रले स्वर्गको अनुभव गराउँछन् । असत् पुत्रहरू दुःखानुभवका कारण बन्दछन् ।
दुःखरूपी नरकबाट पार गराउन सक्ने पुत्र नै असल पुत्र हुन् । यस लोकको विजय असल पुत्रप्राप्तिमा नै हुन्छ तसर्थ असल पुत्रले नै पिताको प्रभाव र प्रतिष्ठा बढाउँछन् भन्ने शास्त्रीय बचनहरू छन् । यथार्थमा त्यो चरितार्थ भएझैं लाग्यो । मेरा पुत्रले मलाई निकै खुसी दिएका छन्, हाँसोभित्र आँसुको पनि बास हुन्छ भन्छन् । त्यसमाथि केही पिर पनि थोपरी दिएका छन् । आफ्नो मौलिक बुद्धिको, आफ्नो भौतिक शरीरको एवं आफ्नै स्वाभाविक रूपको भरपुर उपयोग नगरेर गहिरो चिन्ताका कारण पनि विछ्याएका छन् । रूपगुणले सम्पन्न भएपनि पुत्रको अलि मोटो र अछाइँदो शरीर देखेपछि मेरो मन अलि बढी हच्किदै खिन्न भयो किनकि मेरा पुत्र जीवनमोडको उम्मेदवार बनेर उभिने क्रममा आउँदै छन् ।
बाबु १ शरीर साधन हो । साधन हेरेरै व्यवहार हुन्छ । पार्वतीले तपस्या गरी भगवान् शिवलाई प्राप्त गर्न खोज्दा भगवान् शिवले प्रकट भएर पार्वतीलाई पनि यही अर्तिउपदेश दिएका थिए । यही नै मनमस्तिष्कको प्रयोग भूमि हो । यसलाई यथाशक्य राम्रो बनाऊ । तिम्रो डाक्टरी विद्या यसैबाट फलीभूत पनि हुन्छ जस्तो औजार भुत्ते भए भने शल्यक्रिया सफल हुन गाह्रो पर्छ, त्यस्तै शरीर छरितो नहुँदा कामकर्तव्यमा कठिनाइ पर्दछ फेरि देख्नचल्नलाई पनि त राम्रो हुनुपर्यो भनेर उनलाई अर्तीउपदेशले सजग गराउन चाहें । उनी मौन रहे । मेरो गम्भीर चिन्तालाई खिसिक्क हाँसेर टारिदिए । ए हो क्यारे १ भनी आफ्नो शारीरिक बनोटप्रति गम्भीर नहुँदा म केही खिन्न भएँ । पछि मेरो भावना बुझेजस्तै गरी बोलीले रड्डै पारी उनले मेरा खिन्नता मेटाउने प्रयास गरे ।
सामान्य अवस्थामा रहेर मैले विवाहको प्रसङ्ग निकाल्दै भनेँ, हेर १ तिम्रो दाइले जागिरमा प्रवेश गरेकै डेढ वर्ष बितिसक्यो । त्यो लक्का जवान दाइको त्यसै कारणले विवाहमा बाधा भएको छ । सामान्य कारण अरू पनि होलान् तर तीमध्ये मोटोपन पनि एक प्रमुख कारण हो । अहिले अलिकति उनको बुद्धि फिरेछ । दैनिक कसरतले आफ्नो शारीरिक तौल १०–१२ किलो घटाई हाल हेर्न लायक भएका छन् । विवाह योग्य बन्नका निम्ति शरीर हेर्न लायक भएर मात्र पुग्दैन सुँध्न लायक पनि बन्नुपर्छ । सबैसँग मिठो बोली, वचन र व्यवहारले आफ्नो प्रभाव फैलाउनु पर्छ । तिम्रो दाइ पहिले कस्ता स्थूलाकृतिका गजधम्मे थिए । अहिले हेर कति सलक्क परी आकर्षक भएका छन् । अझै उनका सुधार्नु पर्ने कुरा त धेरै छन् । अहिले उनमा आफूलाई सुधार्नु पर्ने कुरामा चेतपसेजस्तो देखिन्छ । खानपिनका लक्षणहरूबाट त्यो झल्किन्छ । नानीदेखिका पूरै बानी त नफेरिएलान् तर उनमा आत्मविश्वास जाग्यो भने त्यसले उनलाई माथि उठाउँछ । आत्मविश्वास नै भित्री देवता हो मानिस बन्न त्यसैको पुजारी हुन सक्नुपर्छ । त्यसका लागि धैर्य र प्रतीक्षा गर्नै प¥यो तर बितेको अवसर पाइँदैन ।
यो भोलिका लागि पनि सुन्दर चेतावनी हो । एकपछि अर्को कारण देखा पर्दै उनी एक्लिदै गए भने उत्साह र उमङ्गको ऊर्जा ह्रास हुँदै हीनताको भासमा परी बेकम्मा पनि बन्न सक्नेछन् । उनलाई राम्रो बनाउन विवाह गर्न आवश्यक छ तर यो तथ्य बुझिदिएर बेलैमा व्यवहार मिलाई दिने माध्यम कोही देखिन्न । आफन्त पनि नाम मात्रकै हुन् । विवाहका लागि अलिकति पनि भनेजस्तो कहीं कतै देखा परेको छैन । यही प्रसङ्गमा योग्य र स्वावलम्बी कन्याका बाबुको वर खोज्ने क्रममा भाउ बढेको एक मुक्तकले प्रस्ट्याउन बाध्य भएँ ः
शरीर अलि मोटो भएपनि पत्याउँदैनन्
स्वभाव अलि खोटो भएपनि पत्याउँदेनन्
निकै सतर्क भएर चल्नुपर्छ बाबु मोडमा
अवस्था अलि छोटो भए पनि पत्याउँदैनन् ।
तसर्थ, अहिले गम्भीर मोडमा हुँदा अम्मल केही नभएको देवताजस्तो बन्नुपर्छ । यसै त यौवन भनेको निर्माणको समय हो । त्यसमाथि विवाहको बेला होसियार भएर काम गर्नुपर्छ । सकेसम्म दानवी चरित्र प्रदर्शन गर्न हुन्न ।, दुनियाँ आफ्नो वशमा भएपछि जे गर १ चुनावी माहौल राम्रो भए न इच्छाको जित हुन्छ अन्यथा हरूवा जीवन बेहोरेर जिन्दगीभर पछुताउनु पर्ला । अझै बेला बितिसकेको छैन फुकीफुकी पाइल चाल । कसरी राम्रो तुल्याऊँ भन्नेमा भित्रको चिन्ता शब्दका लहरा समातेर बाहिर आएका थिए ।
सिरानमा सल्लाघारी फेदीतिर खेत, बीचमा दोलखाको सानो बजारिया बस्ती, आँगनमै नेपालको राजधानी काठमाडौंदेखि हिमाल छुने बाटो पाएर रमाइरहेको जस्तो लाग्थ्यो । बजारकै केही पर गौरीशङ्कर अस्पताल पहारिलो ढिकमा अवस्थित रहेछ । पहिले कोरियाले त्यहींको खोरिया फाँडेर बनाएको अस्पताल हस्तान्तरण भएपछि काठमाडौं मोडल हस्पिटलद्वारा संचालित रहेछ । पुराना बासिन्दाहरू अझै पनि त्यस अस्पताललाई कोरियाली अस्पतालभन्दा रहेछन् । मेरो कनिष्ठ पुत्ररत्न त्यही अस्पताल सञ्चालनका एक प्रमुख एकाइ थिए । त्यहाँबाट गौरीशङ्कर हिमालको आभा राम्रोसँग झल्किन्छ । त्यही आभाबाट उत्प्रेरित भई अस्पतालको नामकरण पनि गौरीशङ्कर राखिएको हुनुपर्छ । मानिसहरू दूरदराजतिरबाट डोकोमा बोकेर उपचारको खोजीमा त्यहीँ ल्याँइदा रहेछन् । त्यहाँ उपचार हुन नसकेको स्थितिमा राजधानीले नै त्यसको दावी गर्ने रहेछ । केन्द्रबाटै सञ्चालित त्यो जीर्णशीर्ण स्थितिमा पनि सेवामुखी बनेको हिसाब स्पष्टसँग देखाउँदो रहेछ ।
पहाडी प्रकृतिको परिवारजस्तो दोलखामा झोला बिसाएपछि पुत्र पिताको गाइड बनेर वरपरको परिदृश्य देखाउन केही साथीसहित मलाई लिएर निस्किए । अस्पताल एरियाकै केही तल रहेको भीमसेन मन्दिर त्यहाँको प्रसिद्ध तीर्थस्थल रहेछ । त्यो चरिकोट भन्दा करिब ५ कि।मी। तल पर्दो रहेछ । केही साँघुरो अप्ठ्यारो लाग्ने नागबेली परेको ओरालो बाटो भएपनि प्रेमासक्त युवा युगल जोडीहरू दूरदूरबाट मोटरसाइकलमा हुइँकिदै मनोकामना पूरा गर्न आउँदा रहेछन् । त्यस्तै अन्य श्रद्धालु जनको पनि त्यतिकै भीड लाग्दो रहेछ । त्यहाँ दिनमैं चारपटकसम्म पूजाआजा चल्दो रहेछ । कलाका दृष्टिले उत्कृष्ट र भव्य लाग्ने उक्त मन्दिर भौतिक आयामका दृष्टिले पनि विशेष स्वरूपको देखिन्छ । ठूलाठूला घण्टहरू विशालताका प्रतीक रहेछन् । तिनबाट गुञ्जिने ध्वनिले पहराकै मुटु पनि थर्किने रहेछ । मन्दिर परिसरमैं स्थित भीमेश्वरको शिला पनि एक अद्भुत नमुना लाग्यो कुनै यान्त्रिक विकास नभएको त्यस युगमा मानिसहरूले कहाँबाट कसरी कुँदेर ताछिएको सालको मुढाझैं त्यस अजङ्गको शिला स्थापित गरे होलान् । वडा मननयोग्य विषय लाग्यो । मन्दिरभित्रै गएर वस्तुपर्श गर्न निषेध रहेछ । बाहिरबाटै स्थापित वस्तुहरूको अवलोकन गरी पुत्रको आवासकक्ष नजिकैको अतिथि कक्षमा मलाई विश्रामको व्यवस्था गरियो ।
अस्पतालको परिसर सबै कोल्टे परेको पहारिलो भागमा अवस्थित छ । पहारिलो भएपनि हिमालको निकट रहेकाले सिरेटो निकै चलेर बराबर जाडो अनुभव भइरहँदो रहेछ । त्यस्तै जाडो बढ्दै जाँदा बिहानी पख निस्कने हुस्सुको अंश हत्केलामै थाप्न सकिने रहेछ । त्यहाँ कुनै उष्णताले आक्रमण गर्न नसक्ने बुझेँ । त्यो भीरपाखाको साँघुरो बाटो भएपनि त्यो धेरै बाटालाई जोड्ने कडी रहेछ । त्यही बाटो भएर हिमालको काख भेटिदो रहेछ । चुली चढ्नेहरू त्यही बाटो भएर पनि जान सक्ने रहेछन् । दोलखामैं पुगेपछि हिमाली प्रभाव हरकसैमा अङ्कित हुँदो रहेछ । एक मुक्तकमा त्यही अनुभूति उतार्न मन लाग्यो ।
शिखरले गरेको छ राज दोलखामा
देखिन्छ त्यो हिमालको ताज दोलखामा ।
नियमित चल्छन् सँधै प्रकृतिका सेना
छैन कुनै विकृतिको लाज दोलखामा ।।
बसाइका क्रममा एकै सगोलको परिवारजस्तो भएर बसेका अस्पतालका चिकित्सक कर्मचारीको दैनिकीसँग सामेल हुँदै त्यहाँ मैले दुई दिन आनन्दपूर्वक कटाएँ । त्यहाँ सत्कारपूर्वक देखरेख मात्र होइन, मेरो पूरै शरीरको स्वस्थ परीक्षण समेत भयो । रुचिपूर्वक सबैले सहयोग गरे । त्यहाँको आत्मीय आतिथ्यबाट म द्रवीभूत भएँ । धन्यवादका शब्दसुमनबाहेक उनीहरूलाई टक्राउने मसँग अन्य कुनै वस्तुहरू थिएनन् । एक पुत्रको पिता भएर म त्यहाँ पुगेको थिएँ तर उनीहरूले मप्रति अभिभावकलाई गर्नुपर्ने जस्तो राम्रो व्यवहारले मेरो स्मृतिकोषलाई सुगन्धमय तुल्याए । त्यहाँ अधिक जाडो हुने हुँदा एक जना भर्खरकी नानी नेत्र चिकित्सक रहिछन् । उनै नानीले कतैबाट खोेजेर दुईवटा सिरकको समेत जोहो मिलाइदिएकी थिइन् । एक फाइवरको सिरक नै जाडो मेटाउन काफी थियो । दुई सिरकको आवश्यकता थिएन । त्यो न्यानो मायाको प्रतीक सम्झी मनमनै ती नानीको जय होस् भनें र गएको पर्सिपल्ट फर्कने निधो गरें ।