समस्या मधेसी मोर्चा होइन, मोर्चालाई हावा भर्नेहरु हुन्—लालबाबु पण्डित, नेता, नेकपा (एमाले)


लालबाबु पण्डित एमालेका चर्चित नेता हुनुहुन्छ । अहिले उहाँको विराटनगर उप–महानगरपालिकामा मेयर बन्ने पनि चर्चा छ । मुलुकको पछिल्लो राजनीति, स्थानीय निर्वाचनमा एमालेको भूमिकालगायतका विषयमा केन्द्रित भएर मैत्रीन्युज डटकमले लालबाबु पण्डितसँग गरेको कुराकानीः

मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी लिनु भएको छ ?

अहिले मुख्य गरेर दुईथरी राजनीतिक विचारधारबीचको लडाईँ चलेको छ । एकथरी मुलुकलाई अध्यारोतिर धकेल्न चाहन्छन् भने अर्को थरी मुलुकको संम्वृद्धि चाहन्छन् । अहिले यी दुई बिचको द्वन्द्वबाट मुलुक अघि बढिरहेको छ । एमालेले चाहिँ पहिलो होइन दोस्रो विचारको प्रतिनिधित्व गरिरहेको छ । सरकारको नेतृत्व गरेको दल माओवादी र सरकारमा संलग्न दलहरुमा पनि यो द्वन्द्व केही हदसम्म देखिएको छ । वर्तमान सरकार अनेकथरीका बाचाबन्धन गरेर गठन भएको हो । त्यसकारण पनि यो सरकार आफैँ विभिन्न बन्धनमा जेलिएको छ । वर्तमान सरकारका प्रधानमन्त्रीलाई नै हेर्ने हो भने पनि उहाँ अहिले त्यस्ता अनेकथरी जालोमा जेलिएर बस्नु भएको छ । यसले पनि थप समस्या भएको छ ।
अहिले हामीसँग दुई वटा विकल्प छन् । एउटा भनेको मुलुकलाई सम्वृद्धिको दिशामा अघि बढाउने र अर्को भनेको यस्तै अवस्थामा अल्झाइरहने् । एमाले देशलाई यस्तै अवस्थामा अल्झाइ रहनु हुँदैन भन्ने पक्षमा छ । तर, कांग्रेस, माओवादीलगायतका केही दलहरु भने अहिले देशको स्वार्थलाई भन्दा पनि आफ्नो र अझ विदेशीको स्वार्थमा काम गरिरहेका छन् । यसले देशलाई निकासा दिने होइन झन् समस्या पैदा गर्छ । यो विषयमा पनि गम्भीर भएर सोच्नु पर्ने भएको छ ।

मधेसी मोर्चा लगायतका दलका सन्दर्भमा के भन्नुहुन्छ ?

अहिले मधेसी मोर्चा लगायतका नाममा एउटा न एउटा समस्या देखाएर देशमा अस्थिरता मच्याउने काम भैरहेको छ । यो देशका लागि हानिकारक छ । अहिले जनताले खोजेको कुरा हुन नदिने र नयाँ–नयाँ बखेडा झिक्ने काम मुख्य गरेर मधेसी मोर्चाका नाममा भैरहको छ । अन्य दललले पनि त्यसलाई सघाएका छन् । त्यही कारण अहिले निर्वाचनमा जाने र नजाने शक्तिका विचको द्वन्द्व पनि छ । आन्तरिक रुपमा कमजोर भएका शक्तिहरु पनि अहिले निर्वाचनबाट भाग्ने र देशलाई अन्योलमा लैजाने खेलमा लागेका छन् । त्यसमा बाह्य शक्तिको पनि बलियो समर्थन रहेको छ ।
अहिले गलत चिन्तन, सोच, व्यवहार र लक्ष्य बोकेका ती शक्तिहरुलाई परास्त गरेर अघि बढ्नु पर्ने गहन जिम्मेवारी राष्ट्रवादीको काँधमा आएको छ ।
यो शक्तिलाई परास्त गर्नका लागि त सबै भन्दा पहिला संविधान कार्यान्वयन गर्नु पर्ला नि होइन ?
हो, हामीले २०७४ माघ भित्र तीन तहका निर्वाचन पूरा गर्नुपर्ने जिम्मेवारी छ । हामीले त्यो समयावधी भित्र तीन तहका निर्वाचन पूरा नगर्ने हो भने संविधान कार्यान्वयन हुँदैन र गम्भीर समस्या खडा हुन्छ । अहिले केही शक्ति त्यही चाहिरहेका छन् । तर, हामी भने त्यस्तो अवस्था नआवोस भनेर लागेका छौँ । लोकतन्त्रनै खतरामा पर्ने अवस्था सिर्जना भयो भने जनतामा पनि निराशा पैदा हुने छ र झन समस्या हुनेछ साथै उनीहरुको राजनीतिक दलहरुमाथिको विश्वास पनि कमजोर भएर जानेछ ।

तर, अहिले तपाईँले भने जस्तो सबै राजनीतिक दलहरु चुनावमा सहभागी हुने र संविधान कार्यान्वयन गर्ने कुरा निकै सकसपूर्ण जस्तो देखिएको छ नि ?

लोकतन्त्रको नमूना भनेको नै निर्वाचन हो । त्यसैले निर्वाचनमा जानुको अर्को विकल्प विकल्प छैन । यो वा त्यो वाहनामा निर्वाचनमा नजाने कुरा उचित होइन । मेरो सन्दर्भको कुरा गर्नुहुन्छ भने सरकारले यही वैशाख ३१ का लागि तोकेको निर्वाचन नहुने कुनै कारण देख्दिन । अहिले केही बाह्य शक्तिको आडमा परिवर्तन नचाहने शक्तिहरु निर्वाचन गर्नु नहुने अडानमा छन् । मैले अघि पनि भने, त्यस्ता शक्तिलाई पनि परास्त गरेर अघि बढ्नुको अर्को विकल्प छैन । कसैको अनुहार हेरेर उनीहरुका लागि भन्दै देश नै अनिर्णयको बन्दी बनाउनु हुँदैन । हामी नभइ निर्वाचन हुँदैन भन्ने बालठहलाई समेत परास्त गरेर अघि बढ्नुपर्छ सबै भन्दा राम्रो विकल्प नै यही हो ।

निर्वाचन नै हुने अवस्थामा मधेसी मोर्चा निर्वाचनमा सहभागी होला ?

मधेसी मोर्चा समस्या होइन । यहाँ मधेसी मोर्चालाई हावा भरिदिनेको समस्या भएको छ । मधेसी मोर्चाको अहिले पनि कुनै एजेण्डा छैन । कहिले के बखेडा त कहिले के बखेडा झिकेर देशलाई अनिर्णयको बन्दी बनाउन चाहन्छ । नागरिकताको विषय त मोर्चाको जन्मजात नै माग जस्तो भएको छ । यस्ता हावादारी माग गरेर मोर्चाले समस्यामाथि समस्या थपेको छ । जहिले पनि नागरिकता–नागरिकता भनेर मोर्चाका नेताहरु कराउँछन् । नागरिकता लिन जाने कसलाई नागरिकता दिएको छैन ? यो प्रश्न गर्यो भने उनीहरुसँग फेरि उत्तर छैन ।
अहिले फेरि मधेसमा नामावली छुट्यो भनेर बखेडा झिकिरहेको छ । उनीहरुको यो कुरा सुन्दा मलाई अचम्म लागेको छ । मतदाता नामावलीमा नाम दर्तासम्म गर्न नजान्ने उनीहरुका कस्ता कार्यकर्ता रहेछन् ? अहिले मधेसी मोर्चालाई नामावली दर्ता नगराएका सबै मेरै मतादाता हुन भन्ने भ्रम परेको छ । त्यो उसको भ्रम मात्र हो । उ अहिले निर्वाचन भयो भने आफ्नो जमानत ने जफत हुन्छ भनेर भागिरहेको छ । मुलुकलाई निकास दिने सोँच नै मोर्चासँग छैन ।
जहाँसम्म मोर्चालाई सहभागी नगराएको अवस्थामा निर्वाचन नै हुँदैन कि भन्ने प्रश्न छ । त्यो नै भ्रमपूर्ण छ । २०७० सालको निर्वाचनमा मोहन वैद्य, विप्लवहरुले भाग नलिएको होइन ? अहिले उनीहरु पनि पश्चताप गरेर निर्वाचनमा सहभागी हुने भएका छन् । वैद्यजीले त पहिला भाग नलिएर गलत भयो भन्दै यो निर्वाचनमा भाग लिने भनिसक्नु भएको छ । मोर्चाको पनि अवस्था त्यही हो । उनीहरुले यो निर्वाचनमा भाग लिएनन् भने पछि पछुताउनुको अर्को विकल्प नै छैन ।

अहिले नेकपा (एमाले)ले बहुमतसहितको पहिलो पार्टी बन्न एमालेलाई कसैले रोक्न सक्दैन भन्दै आएको छ । साच्चै त्यस्तै हो ?

एमालेले मेची–महाकाली राष्ट्रिय अभियान सम्पन्न गर्यो । अभियान निकै उत्साहजनक ढंगले सम्पन्न भयो । अभियानपछि हामी निकै उत्साहित भएका छौँ । यो अभियानले सामाजिक सद्भाव विथोल्न खोज्ने, राष्ट्रलाई विखण्डनतर्फ लैजान खोज्ने, साम्प्रदायिक सद्भाव विथोल्न खोज्ने तत्वहरुलाई परास्त गरेको छ । यो अभियानले नेपालको सार्वभौमिकता र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने मात्र होइन संविधान कार्यान्वयन गर्ने कुराको पनि ग्यारेण्टी गरेको छ । त्योसँगै सामाजिक सद्भावको विकास गर्न पनि यो अभियानले सहयोग गरेको छ । यो अभियानले स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन गर्दै संविधान कार्यान्वयन गर्ने कुराको पनि ग्यारेण्टी गरेको छ ।
अभियानले मुलुकलाई शान्ति, स्थिरता कायम गर्दै सम्वृद्धिको दिशामा अघि बढ्न पनि सहयोग गरेको छ । के पहाडी, के हिमाली, के मधेसी, के राई, के लिम्बु, के पूर्वीया, के पश्चिमा अहिले सबैको चाहना भनेको शान्ति, स्थिरता र संम्वृद्धि हो । यो पूरा गर्नका लागि पनि एमालेको अभियान सहयोगी बन्यो । एमालेको मात्र अभियान नभएर राष्ट्रिय अभियान नै बन्नु हाम्रा लागि पनि खुशीको कुरा हो । खुशी, सम्पन्न र नयाँ नेपालको परिकल्पना सबै नेपालीले गरेका छन् । यो सपना पूरा गर्ने पार्टी एमाले हो भन्ने सन्देश पनि अभियानले दिएको छ ।
अभियानका क्रममा लाखौँको उपस्थिति र एमाले प्रवेशको लहरले पनि त्यही कुराको संकेत गरेको छ । हामी आफैँले पनि त्यो सपना पूरा गर्नका लागि यो सकारात्मक पाइला हो भन्ने ठानेका छौँ । यसले पनि एमाले आगामी निर्वाचनमा बहुमतसहितको पहिलो पार्टी बन्छ भन्न सकिन्छ । एमालेसँग चुनावमा जान सयौँ एजेण्डा छन् । तर अन्य राजनीतिक दलसँग कुनै पनि एजेण्डा छैन । यो पनि एमाले बहुमतसहित पहिलो पार्टी बन्ने आधार हो । हामी सबै राजनीतिक दलहरुलाई अहिले पनि जनताका बीचमा सँगै जाऔँ जसले जित्छ । त्यसैले सत्ता चलाउँछ ।

अहिले विराटनगर उप–महानगर पालिकाका लागि लालबाबु पण्डित मेयरको उम्मेदवार भन्ने चर्चा छ, सत्य हो ?  

अहिले धेरैले यो प्रश्न गर्ने गरेका छन् । तर, मैले अहिले नै म हुँ भनेर भनेको छैन । म अहिले पनि सकेसम्म युवालाई प्राथमिकता दिनुपर्छ भन्नेमा नै छु । विराटनगर इतिहासदेखि नै एमालेले वर्चश्व कायम गरेको ठाउँ हो । अहिले पनि त्यो वर्चश्व कायम राख्नुपर्छ भन्ने एमालेको मान्यता छ । त्यही भएर पनि लोकप्रिय व्यक्ति छान्दा मेरो चर्चा भएको हुनसक्छ । पार्टीले के निर्णय गर्छ त्यो पछिको कुरा भयो । अहिले म आफैँले चाहिँ त्यो बारेमा सोचेको छैन ।