बैशाख १ गतेदेखि उपत्यकामा हर्न बजाउन प्रतिबन्ध
काठमाडौं । नयाँ वर्ष २०७४ देखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनले हर्न बजाउन रोक लगाउने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख, ट्राफिक प्रहरी, प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक लगायतको काठमाडौंमा बसेको बैठकले काठमाडौंको ध्वनि प्रदुषण कम गर्न हर्न बजाउन नपाउने निर्णय गरेको हो ।
अब उक्त निर्णय सकेसम्म छिटो कार्यान्वयनमा ल्याइने ट्राफिक प्रहरी महाशाखाका डीआईजी मिङमार लामाले जानकारी दिए ।
“हामीले सकेसम्म वैशाखबाटै कार्यान्वयनमा ल्याउने प्रयास गरेका छौं,” उनले भने, “सकेसम्म चाँडै गर्ने भनेका छौं । काठमाडौं उपत्यकाभित्रै गर्ने प्रयास हो, पहिलो चरणमा रिङरोडभित्र लागु गर्नेछौं । त्यसपछि बाहिर पनि यो कार्यान्वयन हुन्छ ।”
काठमाडौं महानगरका प्रमुख ईश्वरीराज पौडेलले भने वैशाख १ गतेदेखि नै कार्यान्वयनमा ल्याइने जानकारी दिए ।
“आगामी वैशाख १ गतेबाट काठमाडौं उपत्यका भित्रिने, बाहिरिने र सञ्चालन हुँदै आएका दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे सवारी साधनहरुले जथाभावी रुपमा हर्न बजाउन पूर्ण प्रतिबन्ध लगाइएको छ,” पौडेलले भने, “गम्भीर प्रकृतिको दुर्घटना हुन जाने सम्भावनासहितको अवस्था र सडकको एउटा भागबाट अर्को भाग नदेखिने घुम्ती सडकहरुमा बाहेक हर्न बजाउन पूर्ण रुपमा निषेध गरिएको हो ।”
यस नियमको सफल कार्यान्वयनले ध्वनि प्रदुषण कम हुने बताउँदै पौडेलले भने, “यसबाट सवारी चालकहरुको जथाभावी हर्न बजाउने खराब बानीलाई नियन्त्रण गर्ने साथै समग्र नगरबासीमा ध्वनि प्रदुषणको असर कम हुनेछ ।”
गाडीले चर्को हर्न बजाउँदा सर्वसाधारणको स्वास्थ्यमा असर पर्न गएको भन्दै यस्तो निर्णय गरिएको उनले जानकारी दिए । पौडेलले भने, “जथाभावी हर्न बजाउँदै हिँड्ने, हर्नको सदुपयोगभन्दा पनि दुरुपयोग भएकाले हामीले ध्वनि प्रदुषण नियन्त्रणका लागि यस्तो नियम ल्यएका हौं, ध्वनि प्रदुषण नियन्त्रणका लागि महानगरपालिका कार्यालयमा व्यापक जनगुनासो आएपछि संयुक्त बैठक बसेर यस्तो निर्णय गरिएको हो ।”
चैत २१ गते