आईजीपी नियुक्ति बदरको माग गर्दै सिलवालव्दारा सर्वोच्चमा फेरि रिट दायर

काठमाडौँ । प्रचण्ड सरकारले नियुक्त गरेका नयाँ प्रहरी महानिरीक्षकविरुद्ध प्रहरी नायव महानिरीक्षक (डिआईजी) नवराज सिलवालले सर्वोच्च अदालतमा आज दोस्रो रिट दर्ता गराउनुभएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रकाश अर्याललाई गरेको नियुक्त बदर र यसअघि सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनको माग राखी उहाँले रिट दायर गर्नुभएको हो ।
सरकारले सोमबार आईजीपीमा डिआईजी अर्याललाई नियुक्त गरेको थियो । उहाँलाई सोमबार राति नै महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
डिआईजी सिलवाल कार्यसम्पादन मूल्यांकनको फाइलमा झेल भएको भन्दै असन्तुष्ट हुनुहुन्छ । उहाँले कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गर्नुभएको छ ।
यसअघि सरकारले गत फागुन १ मा डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेकामा तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो । सर्वोच्चले कार्यसम्पादन मूल्यांकन ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुन नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो । त्यतिबेला चन्दलाई वरीयता क्रम मिचेर नियुक्ति दिइएको भन्दै डिआईजी सिलवालले नै सर्वोच्चमा मुद्दा दर्ता गराउनुभएको थियो ।
अर्कोतर्फ अधिवक्ता कपिलदेव ढकाल पनि अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गराउनुभएको छ ।

चैत २९ गते ।