सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खोलिने

काठमाडौँ, २९ चैत । सरकारले ७४४ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय खोल्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयले मंगलवार यस्तो निर्णय गर्दै यसकालागि आवश्यक प्रक्रिया समेत अगाडि बढाएको जनाएको छ । सरकारले नयाँ प्रावधानअनुसार स्थानीय तहको संरचना खडा गरेको र आगामी ३१ वैशाखमा स्थानीय तहको निर्वाचनसमेत हुन लागेको सन्दर्भमा नागरिकलाई वित्तीय सेवाको पहुँच दिनका लागि त्यस्ता शाखा खोल्न लागिएको हो । अर्थमन्त्रालयले बैंक तथा वित्तीय संस्थाको शाखा खोल्नका लागि सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ ।
बैंक तथा वित्तीय संस्था खोल्नका लागि मन्त्रालयको बैंक तथा वित्तीय क्षेत्र महाशाखाले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पनि स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने आवश्यक प्रक्रिया अगाडि बढाउन निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकेका छन् ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने कार्य तत्काल अगाडि बढाउन आवश्यक निर्देशन दिए । नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै स्थानीय जनतालाई सेवा दिने गरी शाखा खोल्नका लागि आवश्यक व्यवस्था गरिएको र प्रक्रियासमेत सुरु भएको अर्थमन्त्रालयले जनाएको छ ।
सरकारी बैंक तथा वित्तीय संस्थाप्रति जनताको विश्वास बढाउन र सेवा प्रवाहलाई समेत सहज एवम् सरल बनाउन सरकारी बैंक तथा वित्तीय संस्था नै स्थानीय तहमा जानुपर्छ भन्ने मान्यताका साथ प्रक्रिया अगाडि बढाइएको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराका सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए । त्यस्ता शाखा खोल्दा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थालाई नै प्राथमिकता दिनुपर्नेछ ।