औद्योगिक व्यापार मेलामा दर्शकको भीड

काठमाडौं । राजधानीमा बिहीबारदेखि जारी ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ मा दर्शकको भिड लागेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा संयुक्त रूपमा आयोजना गरेको मेलामा तीन दिनमा साढे तीन करोड रूपियाँको कारोबार भएको छ ।
प्रदर्शनीमा २१५ वटा स्टल रहेकोमा ५७ वटा बैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिसंग सम्बन्धित स्टलहरु रहेका छन् भने केन्द्रीय महिला उद्यमी प्याभिलियनमा २५ वटा, बन तथा कृषि सहज कार्यक्रमका १० वटा, राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट प्रर्वद्धित १० जना महिला उद्यमीहरु रहेका छन् ।त्यसैगरी भारत, पाकिस्तान, बंगलादेश र चीनका समेत गरी ३० वटा स्टलहरु रहेका छन र बाँकी स्टलमा नेपालका लघु, घरेलु तथा साना र राष्ट्रिय उद्योगका औद्योगिक उत्पादनहरुको प्रदर्शनी गरिएको छ । यसैगरी यस प्रदर्शनीमा करिव ६ करोडको आर्थिक कारोवार हुने र एक लाखले प्रदर्शनीको अवलोकन गर्ने अनुमान गरिएको छ । सोमबारसम्म चल्ने मेलाको माध्यमबाट नविनतालाई उद्योगसँग जोड्ने प्रयत्न स्वरुप यस व्यापार मेलामा छनौटमा परेका प्रदर्शनयोग्य तथा व्यवसायिकरण हुनसक्ने सम्भावनायुक्त प्रविधि, अनुसन्धान तथा आविष्कारहरूको प्रदर्शनी गरिने लक्ष्य लिइएको महासंघले जानकारी दिएको छ ।
वैशाख १० गते ।