सपना बाँडने मात्र होइन साँच्चैको महानगर बनाउने छु — विद्यासुन्दर शाक्य, नेकपा एमाले तर्फका मेयरका उम्मेदवार
विद्यासुन्दर शाक्य नेकपा (एमाले) तर्फका काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारका रुपमा प्रस्तुत हुनुभएको छ । आफू मेयर निर्वाचित भएपछि उहाँले निकै महत्वकांक्षी योजनासहित महानगरपालिकालाई सफा, सुन्दर, सम्वृद्ध र जीवन्त महानगरपालिकाका रुपमा विकास गर्ने योजना पनि अघि सार्नुभएको छ । काठमाडौं महानगरबासीको जीवनस्तर माथि उठाउन ‘महानगर विकास वण्डहरु’ निस्काशन गर्ने, ८० बर्ष उमेर देखि माथिका ज्येष्ठ नागरिकका लागि बार्षिक रु. १२,०००/- बृद्धभत्ता महानगरपालिकाले प्रदान गर्ने, बालकालिका, बृद्ध-बृद्धा, अपाङ्ग, पिछडाबर्गलाई महानगरले संचालन गर्ने यातायात सेवामा निःशुल्क गरिनेछ , प्रत्येक वडाको विभिन्न क्षेत्रमा फ्री-वाईफाई जोनहरु स्थापना गरिनेछ । सार्वजनिक जग्गाहरुमा ठाउँ ठाउँमा ‘स्मार्ट युथपार्क’हरु, फेमिलीपार्कहरु तथा प्रत्येक वडामा योग गर्न ‘योग पार्क’ बनाइने लगायतका दर्जनौं आकर्षक योजना अघि सार्नुभएका शाक्यसँग हाम्रो संवादाताले गरेको कुराकानीः
तपाईँ नेकपा (एमाले)को तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरका रुपमा प्रस्तुत हुनुभएको छ । आफ्नो जित कत्तिको सुरक्षित ठान्नु भएको छ र ?
काठमाडौँ महानगरपालिकामा एमालेको मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेस नै हो । अन्य दलले एमालेसँग प्रतिष्पर्धा गर्न सक्ने कुनै देखिंदैन र काठमाडौँ महानगरपालिका भनेको पहिलादेखि नै नेकपा ९एमाले०ले नेतृत्व गर्दै आएको महानगरपालिका हो । ०५४ सालको निर्वाचनमा पनि काठमाडौँमा एमालेले मेयर, उपमेयरसहित दुईतिहाई बढी सीट जित्न सफल भएको थियो । काठमाडौँमा अहिले पहिला भन्दा एमाले अझ बढी शक्तिशाली बनेको छ । देशभरी पनि एमालेले लिएको नीति, विचार र सिद्धान्तका कारण एमालेको प्रभाव निकै बलियो छ । एमालेको संगठन पनि महानगरपालिकामा निकै बलियो छ । यी सबै कारणले पनि एमालेले यो पटक पनि काठमाडौँमा सूर्य अंकित झण्डा फहराउन सफल हुन्छ भन्नेमा म मात्र होइन आम एमाले पङ्क्ति ढुक्क छ ।
एमाले संगठनको हिसावमा बलियो भए पनि घात–अन्र्तरघातका कारण एमालेलाई काठमाडौँमा जित्न निकै मुस्किल छ भन्ने चर्चा छ नि र?
नेकपा (एमाले) हिजो–अस्ति भर्खर केही सांसद् खाइहालौँ, मौका मिल्यो भने एक जना मन्त्री भएपनि पड्काई हालौँ भनेर बनेको पार्टी होइन । निकै लामो संघर्ष र बलिदानीबाट स्थापना भएको पार्टी हो, नेकपा एमाले । यो पार्टीमा निकै लामो राजनीतिक संघर्ष गर्नुभएका, निकै योगदान गर्नुभएका नेताहरु हुनुहुन्छ । हाम्रो पार्टी एमालेभित्र तीन–तीन जना त पूर्वप्रधानमन्त्री हुनुहुन्छ । नेपालमा रहेका कुनै पनि राजनीतिक दलसँग अहिले तीन–तीन जना पूर्वप्रधानमन्त्री छैनन् । यो एमालेको ठूलो सम्पत्ति हो । देशलाई कसरी सम्वृद्ध बनाउन सकिन्छ भन्ने भिजन भएका नेताहरुको ठूलो पङ्क्ति एमाले भित्र छ । पार्टीको विभिन्न जिम्मेवारीमा रहेर निकै कुसलतापूर्व जिम्मेवारी निर्वाह गर्नुभएका नेताहरुको पनि ठूलो पङ्क्ति एमालेमा छ । त्यसैले एमालेले कच्चा खेल खेल्छ र घात–अन्र्तरघात गर्छ भन्ने हल्ला विरोधीहरुले गर्ने हल्ला मात्र हुनेछ ।
ठूलो पार्टीभित्र सामान्य विवाद हुने, केही कुरामा मनमुटाव हुने सामान्य कुरा हो । तर, जब चुनावी प्रतिष्पर्धामा पार्टी होमिन्छ । एमाले एकताबद्ध भएर अघि बढ्छ । उम्मेदवार चयन हुनुअघिसम्म पार्टीले मलाई पठाए हुन्थ्यो भनेर अपेक्षा गर्नु र आंकक्षिहरु ह्नु भनेको अनुचित कुरा होइन । तर, पार्टीले निकै सोच–विचार गरेर कुनै एक व्यक्तिलाई आधिकारिक रुपमा अघि बढाएपछि अर्जुन दृष्टि नै निर्वाचनमा लगाएर एमाले अघि बढ्छ । त्यसैले हामी आम मतदातालाई ढुक्क भएर एमालेका पक्षमा मतदान गर्न आग्रह गर्छौ । हाम्रो पार्टी एमालेभित्र त्यस्तो घात–अन्र्तरघात कतै पनि हुने छैन । अहिले वडा–वडामा हामी ‘सात सूर्य सात छाप’को नारा लिएर अघि बढेका छौँ । अहिले घरघर–टोलटोलमा हामी चुनावी अभियान लिएर पुगेका छौँ । यो प्रक्रिया निर्वाचनसम्म नै निरन्तर रहन्छ ।
मेयरका रुपमा चर्चामा आएका व्यक्तिहरुलाई पनि त समन्वय गरेर अघि बढ्नु पर्ला नि ?
निश्चय पनि, मैले अघि पनि भने । मेयरका लागि धेरै जना प्रतिष्पर्धी हुनहुन्थ्यो । पार्टीमा लामो समय योगदान गर्नु भएका जीवनराम श्रेष्ठ, पूर्व मेयर केशव स्थापित, उपमेयर विदुर मैनाली, लगायत धेरै हुनुहुन्थो । उहाँहरुको अनुभव, उहाँहरुको सहयोग पनि एमालेलाई विजयी गराउनका लागि धेरै महत्वपूर्ण हुनेछ । म उहाँहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने छु । व्यक्ति आफैँ पार्टी होइन । पार्टीले नै व्यक्तिलाई नेता बनाएको हुन्छ । त्यसैले हामी व्यक्ति भन्दा पनि पार्टीलाई केन्द्रमा राखेर पार्टीका नीति, विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने छौँ ।
उम्मेदवार चयन गर्नु अघि देखिएको विवाद अब निर्वाचनका बेला देखिदैँन होइन त ?
यो भनिरहन नै जरुरी छैन । तपाईँहरु सबैले चुनावीसभा र कार्यक्रममा त्यो प्रत्यक्ष देख्न सक्नुहुन्छ । मैले अघि पनि भने, हाम्रो अर्जुनदृष्टि नै निर्वाचन र एमालेको विजयप्रति हुनेछ । मेयर, उपमेयरका सबै दावेदारहरु चुनावी प्रचारमा जुट्नु हुनेछ ।
तपाईँ अहिले मेयरको उम्मेदवार हुनुहुन्छ । निर्वाचन जितेपछि तपाईले पाँच वर्षसम्म काठमाडौँ महानगरपालिकाको नेतृत्व गर्नुहुनेछ । पाँच वर्षमा काठमाडौँ कस्तो बनाउने भन्ने योजना पनि त होला नि र ?
मैले एक पटक काठमाडौँको मेयर बनिहालौँ न त कस्तो हुँदोरहेछ भनेर मयेर पदको दाबी गरेको होइन । काठमाडौँवासीका केही सपनाहरु छन् । ती सपनासँग म नजिकबाट साक्षात्कार छु । महानगरवासीका सपनालाई मैले नजिकबाट स्पर्श गरेको छु, राम्ररी बुझेको छुं । सुन्दर, शान्त महानगर यहाँका जनताको मात्र होइन मेरो पनि सपना हो । यो सपना गफ गरेर मात्र पूरा हुँदैन । फेसबुकमा हावादारी सपना बांडेर मात्र सफल हुंदैन त्यसका लागि त काम गर्नुपर्छ । काम गर्न पनि कार्यान्वय गर्न सक्ने ‘भिजन’ चाहिन्छ । त्यो भिजन मसँग छ ।
अहिले महानगरभित्र रहेको अस्तव्यस्त यातायात सबैको टाउको दुखाई बनेको छ । यसलाई व्यवस्थित तथा आधुनिकीकरण गर्नु पर्दछ । नयाँ प्रविधियुक्त यातायात पद्धति स्थापनाका लागि मैले जोड दिनेछु । महानगरमा केवलकार, मोनोरेल, तथा अत्याधुनिक बससेवा, इलेक्ट्रिकल तथा स्मार्ट गाडीहरु संचालनमा ल्याइनेछ ।
त्यसैगरी काठमाडौंलाई स्मार्ट सिटीका रुपमा विकास गरिनेछ । स्मार्ट सिटीको पूर्वाधार तयार गर्नका लागि महानगरीय ‘ब्रोडव्याण्ड नेटवर्क’ स्थापना गरिनेछ । महानगरको नागरिक हुनुमा गौरवान्वित महसुस हुने गरी र जनतालाई सुलभ तथा द्रुत सेवा प्रदान गर्नका लागि ‘महानगर स्मार्ट सिटिजन कार्ड’को व्यवस्था गरिनेछ । महानगरको झल्को दिने गरी पब्लिक ट्रान्सर्पोटेशन सेवा कम्तीमा दिनको २० घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । त्यसैगरी महानगरभित्रका सबै टोल–टोलमा पुग्न कुनै पनि स्थानबाट ५ मिनेट भन्दा बढी हिँड्नु नपर्ने गरी ‘पब्लिक ट्रान्सपोर्ट’को व्यवस्था गरिनेछ । त्यसैगरी साइकल लेनको निर्माण गरिनेछ । साइकल चढ्नेलाई विशेष सुविधा उपलब्ध गराइनेछ । ठाउँ–ठाउँमा साइकल पार्किङ स्टेशन निर्माण गरिनेछ । काठमाडौँ महानगरभित्र स्मार्ट पार्किड सिष्टमको व्यवस्था गरिनेछ । विभिन्न ठाउँमा स्वचालित भर्टिकल कार पार्किङ र अण्डरग्राउण्ड पार्किङ सिष्टमको व्यवस्था गरिनेछ ।
काठमाडौँ उज्यालो पार्न पनि त कुनै योजना होलान नि ?
काठमाडौं महानगरलाई २४ सै घण्टा खुल्ला जीवन्त शहरका रुपमा विकसित गरिनेछ । त्यसका लागि चाहिने ‘उज्यालो काठमाडौं’ कार्यक्रमको प्रारम्भ गरी निरन्तर रुपमा कार्यान्वयन गर्न विशेष योजना ल्याइनेछ । काठमाडौं महानगरमा निश्चित स्थानमा सडक बजार निश्चित समयकालागि संचालन गर्न दिइनेछ । विभिन्न स्थानमा ‘नाइट मार्केट’को प्रवद्र्धन गरिनेछ । नेपाल प्रहरीसँग समन्वय गरी काठमाडौं महानगरभित्र सडक, चोक, गल्लीलगायत सम्पूर्ण सार्वजनिक स्थलहरुमा सीसीटीभी जडान गरिनेछ । आगलागी भए तत्कालै आगो नियन्त्रण गर्नका लागि प्रत्येक वडामा ठाउँ ठाउँमा Fire Hydrant को व्यवस्था गरिनेछ । सुन्दर, समृद्ध, स्वस्थ र पर्यावरणमैत्री सांस्कृतिक जीवन्त शहरका रुपमा महानगरको विकास गरिनेछ । त्यसैगरी ‘क्लिन द सिटी‘ अभियानको थालनी गरिनेछ । काठमाडौंलाई पहिलो पटक ‘ई–गभर्नेन्स’ प्रणालीमा आवद्ध गरी पारदर्शी प्रशासन प्रणाली लागु गरिनेछ । रोजगारीका प्रशस्त अवसरहरु सिर्जना गरिनेछ । अर्वान एग्रीकल्चरका लागि प्रोत्साहन गरिनेछ र सोकालागि चाहिने उपकरण तथा विउ विजनहरु निःशुल्क वितरण गरिनेछ । महानगरमा निस्कने फोहरबाट वायोग्याँस उत्पादन गरी महानगरको व्राण्डमा त्यस वायोग्याँसलाई सहुलियत दरमा बिक्रीवितरण गरिनेछ ।
त्यो सँगै अन्य योजना पनि होला नि ?
अरवन युटिलिटीको उचित व्यवस्थापन गर्न स्मार्ट प्रविधिहरु प्रयोग गरिनेछ । काठमाडौं महानगरभित्र ठूला –ठूलाइभेन्टहरु गर्न ‘मेघा हलहरु’निर्माण गरिनेछ । काठमाडौं महानगरलाई झिलिमिली शहरका रुपमा विकास गर्न चाहिने सबै खाले ऊर्जा स्रोतको व्यवस्था मिलाइनेछ । घरेलु हस्तकलाका उत्पादनहरुलाई नेपाल ब्राण्डिङ्ग गरी अन्तर्राष्ट्रिय बजारमा स्थापित गरिनेछ । काठमाडौं महानगरबासीको जीवनस्तर माथि उठाउन ‘महानगर विकास वण्डहरु’ निस्काशन गरिनेछ । ८० बर्ष उमेर देखि माथिका ज्येष्ठनागरिकका लागि बार्षिक रु। १२,००० बृद्धभत्ता महानगरपालिकाले प्रदान गर्ने, बालकालिका, बृद्ध—बृद्धा, अपाङ्ग, पिछडाबर्गलाई महानगरले संचालन गर्ने यातायात सेवामा निःशुल्क गर्ने । ज्येष्ठ नागरिक, अपाङ्गता भएका बालबालिकाहरु (पाँचबर्ष मुनिका), पिछडिएका तथा न्यून आय भएका व्यक्तिहरुलाई महानगरबाट संचालित यातायातमा निःशुल्क यातायातको व्यवस्था गरिनेछ । सकेसम्म बढी स्वरोजगारीका अवसर सिर्जना गर्न युवालाई लक्षित गरी विभिन्न किसिमको vocational तालिमहरु संचालन गर्ने व्यवस्था मिलाइनेछ । ‘वल्ड एजहोम’, हस्पिटल निर्माण गरी महानगरबासीलाई सेवा प्रदान गरिनेछ ।
प्रत्येक वडाको विभिन्न क्षेत्रमा फ्री—वाईफाई जोनहरु स्थापना गरिनेछ । विश्वका विकसित शहरहरुमा निर्माण गरिए जस्तै काठमाडौं शहरको दृश्यावलोकन गर्न एउटा ‘काठमाडौं फ्लायर’ निर्माण गरिनेछ । काठमाडौं भित्र रहेका विभिन्न समुदायहरुले मनाइने जात्रा, पर्व तथा अन्य सांस्कृतिक क्रियाकलापको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
काठमाडौं महानगरमा रहेका विभिन्न बहिल तथा विहारहरुलाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक कदम चालिनेछ ।
स्वस्थ हुन योग पार्क सहित विकसित शहर बनाउने योजना पनि अघि सार्नु भएको छ भन्ने छ नि ?
हो, काठमाडौँ सुनिने होइन देखिने र महानगरको अनुभव गर्ने शहरका रुपमा विकास गर्ने मेरो योजना छ । महानगरलाई साँच्चैकै ‘कान्तिपुरी नगरी’ बनाउने पनि मेरो योजना छ । महानगर पाँच वर्षमा जीवन्त सांस्कृतिक शहर बन्ने छ । त्यति मात्र होइन, हाइटेट प्रविधियुक्त विकसित शहर मेरो कार्यकालमा बन्नेछ । पुराना भित्री शहरलाई हेरिटेज शहरका रुपमा विकास गरिने छ । प्रत्येक वडामा योग गर्न ‘योग पार्क’ बनाइनेछ । योग गर्न निशुल्क प्रशिक्षण दिइनेछ । टोल–टोलमा हुने भजनमण्डल कार्यक्रमलाई संरक्षण तथा प्रवद्र्धन गरिनेछ । सार्वजनिक जग्गाहरुमा ठाउँ ठाउँमा ‘स्मार्ट युथपार्क’हरु तथा फेमिलीपार्कहरु निर्माण गरिनेछ । अपाङ्गमैत्री शहरको रुपमा विकास गरिनेछ । विश्वका अधिकांश देशबाट आएका पर्यटकलाई फेरि पटक–पटक नेपाल घुम्न जानुपर्छ भन्ने बनाउनका लागि पर्यटक आकर्षित गर्ने योजनाहरु ल्याइने छ । त्यसका लागि गुरुयोजना नै बनाएर अघि बढिने छ ।
महानगरपालिकोको सबै भन्दा ठूलो चुनौति भनेको व्यवस्थापन हो । म यसलाई पहिलो प्राथमिकतामा राखने छु । कुशल व्यवस्थापन नहुंदाका कारण कसैले पनि राम्रो काम गरेर देखाउन सकेको छैन र त्यसैले पनि जस पाएका छैनन् । यस्तै कर तिर्ने नागरिकले पनि खासै सुविधा पाएका छैनन् । मेरो कार्यकालमा यी सबैको व्यवस्थापन हुनेछ । यहाँ बोल्नेहरु धेरै भए । सपना देखाउनेहरु पनि धेरै भए । त्यसैले अब सपना बांड्ने मात्र होइन सांचैको महानगर बनाउने छुं । काठमाडौं माहनगरबासीहरुको सपना साकार पार्नेछुं । त्यसका लागि यहाँहरु सवैले आफ्नो मत दिएर नेकपा९एमाले०लाई पहिले जस्तै दुईतिहाई बहुमतले विजयी गराउनु हुनेछ भन्ने विश्वास गर्दछु । धन्यवाद ।