राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०१७ मनाइयो

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने हाम्रो उद्धेश्य अनुरुप क्यान महासंघको रजत जयन्ती र राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०१७ को अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसलाई सार्थक र व्यवहारिक बनाउने क्रममा राजधानीमा चेतनामूलक प्रभातफेरी कार्यक्रम तथा अन्य कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रम क्यान महासंघको २५ भन्दा जिल्ला शाखाहरुमा ५० भन्दा बढी कार्यक्रमहरु एकै दिन सम्पन्न गरिएको छ ।
सूचना प्रविधि विभाग, नेपाल सरकार, क्यान महासंघ लगायतका विभिन्न संघसस्थाहरुको समन्वयमा आयोजित प्रभातफेरी कार्यक्रम भृकुटीमण्डपबाट सुरु भएर शहिदगेट, एनएसी, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुगेर समापन गरिएको छ । कार्यक्रममा सुचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था, शिक्षण संस्था र सूचना प्रविधिसँग सम्वन्धी व्यक्तिहरुको सहभागिता थियो ।
त्यस्तै क्यान महासंघ र सूचना प्रविधि विभागको आयोजनामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०१७ वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको माननीय विज्ञान तथा प्रविधि मन्त्री प्रेम बहादुर सिंहले उद्धघाटन गरे । कार्यक्रममा मनतब्य व्यक्त गदै माननीय विज्ञान तथा प्रविधि मन्त्री प्रेम बहादुर सिंहज्यूले अहिलेको युग प्रविधिको युग भएकाले यसको भरपूर सदुपयोग गर्नुपर्ने र दुरुपयोग हुनबाट जोगिन सवै सजक हुनुपर्ने वताए ।