जनतासामु गरेका प्रतिबद्धताहरु पुरा गर्ने छु – विद्यासुन्दर शाक्य, मेयर, काठमाडौँ महानगरपालिका

विद्यासुन्दर शाक्य
मेयर, काठमाडौँ महानगरपालिका
नेकपा (एमाले) तर्फबाट मेयरका उम्मेदवार बन्नुभएका विद्यासुन्दर शाक्य नेपाली काँग्रेसका राजुराज जोशीलाई भारी मतले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित हुनुभएको छ । मेयरमा निर्वाचित शाक्यले पाँच वर्षभित्र महानगरलाई कस्तो बनाउने भन्ने योजना नै सार्वजनिक गर्नुभएको छ । यातायात, पूर्वाधारलगायतका सन्दर्भमा पाँच वर्षमा काठमाडौँ कस्तो बनाउने भन्ने उहाँले घोषणापत्र पनि सार्वजनिक गर्नुभएको छ । घोषणापत्र अनुसार नै आफूले सबैको साथ लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएका शाक्यसँग मैत्रीन्युज डटकमले गरेको कुराकानीः
मेयर पदमा भारती मतले विजयी हुनुभएकोमा सर्वप्रथम बधाई छ ?
धन्यवाद ।

काठमाडौँ जस्तो महत्वपूर्ण महानगरपालिकाबाट मेयरमा निर्वाचित हुँदा कस्तो महशुस भएको छ ?
म आज भन्दा २० वर्षअघि पनि जननिर्वाचित प्रतिनिधिका हैसियतमा सेवा गरेको व्यक्ति हुँ । मैले २० वर्ष अघि वडाध्यक्षमा निर्वाचित भई जनताको सेवा गर्ने जुन अभिभारा पूरा गरेको थिएँ, आज झन् फराकिलो क्षेत्र र लाखौं जनताको मायाले माथिल्लो जिम्मेवारी प्राप्त भएको छ । यसमा सबै भन्दा बढी खुशी लागेको छ । सबै भन्दा पहिला मलाई अमूल्य मत दिएर निर्वाचित गर्नुहुने आम मतदातालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । काठमाडौं महानगरपालिकाको मेयरजस्तो गरिमामय पदमा योग्य ठान्ने मेरो प्यारो पार्टी नेकपा एमाले, पार्टी कार्यकर्ता, शुभचिन्तक एवं सबै नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा पनि म कृतज्ञता ज्ञापन गर्दछु ।
मैले मेरो विजयलाई नेकपा (एमाले) ले अगाडि सारिरहेको राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र सद्भाव, राष्ट्रिय एकता, संविधान कार्यान्वयन, बलियो स्थानीय सरकार तथा समृद्ध एवं समुन्नत नेपाल निर्माणको परिकल्पनाको जनअनुमोदनका रूपमा ग्रहण गरेको छु ।
अब पाँच वर्षमा काठमाडौँ कस्तो बनाउने भन्ने गहन जिम्मेवारी तपाईको काँधमा आएको छ । कस्ता योजना अघि सार्नु भएको छ ?
मैले यस अघि नै प्रतिबद्धता पत्र मार्फत आफ्नो योजनाहरु सार्वजनिक गरिसकेको छुं । मैले जुन घोषणपत्र लिएर जनताको घर–दैलोमा पुगेँ । त्यहि अनुरुप नै म काम गर्ने छु । मैले बोल्नका लागि मात्र बोलेको होइन । त्यसैले सपथ लिएको दिनदेखि नै म मेरा कार्ययोजना कार्यान्वय गर्न लाग्ने छु । मेरो कार्यकालमा काठमाडौं चौबिसघन्टे ‘जीवन्त सहर’ हुनेछ । वर्षौंदेखि अड्किएको तीनकुनेको जग्गामा अत्याधुनिक पार्क बन्नेछ । सम्पूर्ण ट्राफिक लाइटले काम गर्नेछन् । क्लिन द सिटी अभियानको प्रारम्भ धुवाँधुलो न्यूनीकरण गरी ‘नो मास्क सिटी’ हुनेछ । कार पार्किङ मलको नीति बनाई कार्य प्रारम्भ र स्मार्ट भर्टिकल कार पार्किङ नीति निर्धारण गरी कार्यान्वयन गर्नेछु ।
धरहरा प्रिमिसेसको मास्टर प्लान बनाई कार्यान्वयन हुनेछ । महानगरका विशेष स्थान भेहिकल फ्रि र वाईफाई फ्रि जोन घोषणा हुनेछन् । महानगरपालिकाको सम्पूर्ण कामकारबाही भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इ–गभर्नेन्स प्रणालीलगायत काम हुनेछन् ।
सडक, ढललगायत परम्परागत कामलाई निरन्तरता दिइने छ । ट्राफिक समस्या हटाउन पार्किङ मल निर्माण गरिने छ । मोनो र मेट्रो रेलका काम हुनेछन् । मेरो कार्यकालमा काठमाडौं सुरक्षित, २४ सै घन्टा खुला, जीवन्त र सुन्दर सहर हुनेछ । मेरो थोरै बोल्ने धेरै काम गर्ने बानी छ । त्यसैले म अब काठमाडौंलाई विश्वका अन्य देशसँग तुलना गर्ने होइन, अन्य देशका सहरले अब काठमाडौंजस्तो भनेर तुलना गर्ने महानगर बनाउनेछु ।

अहिले सबै भन्दा बढी काठमाडौँबासीले भोग्ने गरेको समस्या भनेको खाने पानी र प्रदूषण हो । यसको समाधान पनि खोज्नुहुन्छ होला नि ?
मैले मेरो घोषणापत्रमै ‘क्लिन द सिटी अभियान’ उल्लेख गरेको छु । म सपथ खाएकै दिनदेखि त्यसको कार्याप्रारम्भ गर्ने छु । धुवाँधुलो न्यूनीकरण गरी ‘नो मास्क सिटी’ को अभियान सञ्चालन गर्नेछु । मेलम्ची आयोजनालगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधि प्रयोग गरी धुलो र खाडलरहित सडक निर्माण गर्ने काम हुनेछ । त्यसैगरी ‘नो हर्न’ कार्यक्रमलाई निरन्तरता दिने छु ।
त्यो बाहेक पनि त केही योजना होलान नि ?
निश्चय पनि देशको राजधानीसमेत भएकाले काठमाडौंलाई विश्वको आकर्षणको केन्द्र बिन्दुका रूपमा यसलाई विकास गर्न जरुरी छ । अब म आर्थिक तथा सामाजिक न्यायमा आधारित नमुना सहर बनाउनेछु । काठमाडौं सहरलाई सहयोग गर्ने वा लगानी गर्नेलाई आकर्षित तथा व्यापारमैत्री वातावरण बनाउनेछ । धूवाँ–धूलो नियन्त्रण गर्नेछु । अस्तव्यस्त सहरलाई व्यवस्थित गर्न नयाँ प्रविधियुक्त यातायात पद्धति स्थापना गर्न जोड दिनेछु । अघि पनि मैले भने– महानगरमा केबलकार, मोनोरेल तथा अत्याधुनिक बस सेवा, इलेक्ट्रिकल तथा स्मार्ट गाडी सञ्चालनमा ल्याउनेछु । महागनरलाई ‘स्मार्ट सिटी’का रूपमा विकास गरिनेछ । महानगरको झल्को दिने गरी ‘पब्लिक ट्रान्सपोर्टेसन’ सेवा कम्तीमा दिनको २० घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउनेछु । त्यसैगरी महानगरभित्रका सबै टोल–टोलमा पुग्न कुनै पनि स्थानबाट ५ मिनेटभन्दा बढी हिँड्नु नपर्ने गरी ‘पब्लिक ट्रान्सपोर्ट’को व्यवस्था गर्नेछु । त्यसैगरी साइकल लेनको निर्माण गर्नेछु ।
साइकल चढ्नेलाई विशेष सुविधा उपलब्ध गराउनेछु । ठाउँठाउँमा साइकल पार्किङ स्टेसन निर्माण गर्नेछु । काठमाडौं महानगरभित्र ‘स्मार्ट पार्किड सिस्टम’को व्यवस्था गर्नेछु । विभिन्न ठाउँमा स्वचालित ‘भर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङ सिस्टम’को व्यवस्था गर्ने योजना छ । यसका लागि मेरो जितपछि नै डीपीआर तयार पारी दुई वर्ष्भित्र मेट्रो रेल र मोनोरेल सञ्चालन हुन्छ । काठमाडौंको खानेपानी समस्या समाधान गर्न बृहत्तर योजना बनाएर अघि बढ्नेछु ।
छिमेकी नगरपालिका र ललितपुर महानगरपालिकासँग पनि सहकार्य गरेर अघि बढ्नु हुन्छ होला नि ?
निश्चय पनि हामीले छिमेकी नगरपालिका र महानगर पालिकासँग सहकार्य गरेर अघि बढ्नुपर्छ । काठमाडौं महानगर र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा सटल बसको व्यवस्थासहित सहिद स्मृति पार्क र पृथ्वीनारायण स्मृति संग्रहालय सहितको युवा पार्क निर्माण हुनेछ । साइकल सिटी महानगरको कार्ययोजना प्रारम्भ हुनेछ, जसले आसपासका नगरलाई प्रोत्साहित गर्नेछ । महानगर र गोकर्णेश्वरको समन्वयरसहकार्यमा ‘तारेभीर परियोजना’ को प्रक्रिया अगाडि बढाइनेछ । टोखा नगरपालिकासँग समन्वयरसहकार्य गरी टोखाको संस्कृति सम्पदा संरक्षण, प्रवद्र्धन एवं झोरस्थित बाणेश्वर ‘वाटरफल पार्क’ बनाउने काम हुनेछ । ललितपुर महानगर र गोदावरी नगरसँग समन्वय गरी हाल ललितपुर महानगरपालिकामा भएका शिल्पकारहरूको ‘नयाँ ललितपत्तनम’ नामको आर्ट एन्ड क्राप्ट निर्माण प्रक्रिया अघि बढाइनेछ ।
यी सबै काम गर्न त चुनौती होला नि ?
चुनौतीहरु निश्चय पनि छन् । तर, चुनौतीसँग डराएर भाग्ने कुरा हुँदैन । चुनौतीसँग लडेर समाधान खोज्ने हो । मैले एमालेका तर्फबाट महानगर राजनीतिक संयन्त्रको प्रतिनिधिका रूपमा लामो समयदेखि काम गर्दै आएको छु । यसले मलाई महानगर बुझ्न निकै सजिलो भएको छ । महानगरको विकास कसरी गर्ने, महानगर विकासमा के कुराको कमी छ भन्ने मलाई राम्रोसँग थाहा छ । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला मृत अवस्थामा रहेका सपनालाई ब्युँझाउने काम भएको थियो । नेपाली जनताले देखेको समृद्धिको सपना पूरा गर्न महानगरपालिकामा एमाले बाहेकको नेतृत्वले सक्दैन भन्ने जनताको आशा र भरोसालाई मर्न नदिइ काम गर्ने छु । मेरो कार्यकालमा महानगर साच्चैको महानगर बन्ने छ ।