एनसेलले ल्यायो ‘इन्टरनेशनल कल प्याक’ रु २.५० प्रति मिनेटमा २० मुलुकमा कल गर्न सकिने

काठमाडौँ । एनसेलका ग्राहकले नेपाल बाहिर रहेका आफ्ना परिवार तथा साथिभाईसँग अब अझ सुलभ दरमा कुरा गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक ‘इन्टरनेशनल कल प्याक’ ल्याएको छ, जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा कर सहित मात्र रु २.५० प्रति मिनेटमा कुरा गर्न सक्नेछन् । 

यहि शुक्रबार (असार ९) गते देखि लागु हुने यस कल प्याक योजना अन्तर्गत एनसेलका सबै ग्राहकले कर सहित रु २५ मा १० मिनेट अन्र्तराष्ट्रिय टक टाइमबाट फाइदा लिन सक्नेछन् । यो टक टाइम ग्राहकले भारत, चीन, अमेरिका, युके, क्यानडा, हङकङ, अस्ट्रेलिया, जापान, जर्मनी, सिङ्गापुर, दक्षिण कोरिया, बङ्गलादेश, साइप्रस, भुटान, फ्रान्स, स्पेन, डेनमार्क, इजराइल, बेल्जियम र इटालीमा सुलभ दरमा कुरा गर्न प्रयोग गर्न सक्नेछन् । 

यो योजना अन्तर्गत सुलभ दरमा अन्तर्राष्ट्रिय कलको लाभ लिन एनसेलका ग्राहकले १७१०७ डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्नेछन् ।  त्यसैगरी ग्राहकले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी निर्देशन अनुसार वा अंगे्रजी अंक १० टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि लिन सक्नेछन् । 

“विदेशमा रहेका आफ्ना परिवार तथा साथीभाईसँग सुलभ दरमा सजिलै सम्पर्कमा रहन योगदान पुर्याउने यो इन्टरनेशनल कल प्याक ल्याउन पाउँदा हामी हर्षित छौ । लोकल कलको दरमा विदेशमा कुरा गर्न सकिने यो प्याकले ग्राहकलाई थप लाभ प्रदान गर्नेमा हामी विश्वस्त छौ,” एनसेलका संवाद विज्ञ मिलन शर्माले भने । 

प्याक अन्तर्गत अन्तर्राष्ट्रिय कलको लागि प्राप्त टक टाइम सकिएपछि सम्बन्धित देशको लागि नेपालबाट कल गर्दा लाग्ने विद्यमान शुल्क लाग्नेछ । ग्राहकले एनसेलको आधिकारीक वेबसाइटमा गएर विभिन्न देशका लागि लाग्ने कलको शुल्क हेर्न सक्छन् । 

यस इन्टरनेशनल कल प्याकमा उपलब्ध टक टाइम २४ घण्टाको लागि मान्य हुनेछ । यस प्याकको लागि पल्स रेट ३० सेकेण्डको रहनेछ र ग्राहकले आफ्नो बाँकी रहेको टक टाइमकोे जानकारी लिनका लागि एस्ट्रिक्स१०१ह्यास डायल गर्न सक्नेछन् ।