जिम्बावेलाई आठ वर्षपछि एकदिवसीय सिरिज

maitrinews

जिम्बावे ।   जिम्बावेले आठ वर्षपछि घरबाहिर खेलेको एकदिवसीय सिरिज जितेको छ । श्रीलंकाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिज ३–२ ले जित्दै जिम्बावेले सन् २००९ पछि पहिलो सिरिज कब्जा गरेको हो ।  मंगलबार हम्बानटोटामा भएको निर्णायक पाँचौँ तथा अन्तिम खेलमा घरेलु टोली श्रीलंकालाई ३ विकेटले हराएर जिम्बावेले सिरिज जितेको हो । जिम्बावेले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको श्रीलंकाले कमजोर ब्याटिङ गर्दा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्न सक्यो । जवाफमा जिम्बावेले ३८.१ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पार गर्‍यो ।

राजाको अलराउन्ड प्रदर्शन 
जिम्बावेलाई पाँचौँ खेलमा जित दिलाउने क्रममा सिकन्दर राजाले अलराउन्ड प्रदर्शन गरे । बलिङतर्फ ३ विकेट लिएका राजाले नटआउट २७ रनको योगदान गरे । अन्त्यमा धर्मराएको जिम्बावेको इनिङ मजबुत बनाउन राजाले २७ बलमा १ चौका र २ छक्का हिर्काए । खेलको म्यान अफ दी म्याच चुनिएका ३८ ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै जिम्बावेलाई जित दिलाए ।

राम्रो ओपनिङ 
त्यसअघि जिम्माबेका ओपनरले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । ओपनर हामिल्टन मासाकाट्जाले सर्वाधिक ७३ रनको योगदान गरे । उनले ८६ बल खेल्दा ९ चौका र १ छक्का प्रहार गरे । उनी म्यान अफ दी सिरिजसमेत चुनिए । अर्का ओपनर सोलोमन मिरेले ४३ रन बटुले । तारिसाइ मुसाकान्डको ३७ रन पनि जिम्बावेका लागि महत्वपूर्ण रह्यो । जिम्बावेका लागि ग्रेम केमरले नटआउट ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

श्रीलंकाको सामान्य ब्याटिङ 
श्रीलंकाका लागि दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरे पनि स्ट्राइक रेट कम हुँदा इनिङले गति लिन सकेन । धनुष्का गुणतिलकाले ८६ बलमा ५ चौकासहित ५२ रन तथा असेला गुणरत्नेले ८१ बलमा ४ बल खेलेर नटआउट ५९ रन जोडे । एन्जेलो म्याथ्युले २४ तथा धनुष्का चमाराले नटआउट १८ रन जोडे । खराब ओपनिङ गरेको श्रीलंकाका ६ ब्याट्सम्यानले दोहरो अंकमा रन बटुल्न सकेनन् । श्रीलंकाले नवौँ ओभर चल्दा पहिलो ३ विकेट गुमाउँदा ३१ रन जोडेको थियो । श्रीलंकाको इनिङलाई कमजोर बनाउने क्रममा सिकन्दर राजाले ३ विकेट लिए भने ग्रेम क्रेमरले २ विकेट हात पारे ।