प्रदेश नम्बर–२ का जनता एमालेलाई विजयी बनाउन आतुर छन् —विष्णु पौडेल,उपमहासचिव, नेकपा (एमाले)

एमालेका उपमहासचिव विष्णु पौडेल सफल अर्थमन्त्रीका रुपमा परिचित हुनुहुन्छ । केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री रहनुभएका पौडेलले गरेको बजेट भाषणको अहिले पनि चर्चा छ । जनतामुखी बजेट ल्याएको श्रेय उहाँलाई जान्छ । सरकारले यही असोज २ गते प्रदेश नम्बर–२ को निर्वाचन मिति घोषणा गरेको छ । एमाले तराई विरोधी भन्ने आरोप लागिरहेका बेला पौडेल अहिले तराईको बारा जिल्लामा हुनुहुन्छ । आफूले तराई–मधेसलाई केन्द्रमा राखेर बजेट ल्याएको दाबी गर्ने पौडेलसँग प्रदेश नम्बर–२ को निर्वाचन, प्रदेश नम्बर–२ मा एमालेको अवस्थालगायतका विषयमा केन्द्रित भएर मैत्रीन्युजका लागि मोहन बास्तोलाले गर्नुभएको कुराकानीः

यही असोज २ गतेका लागि सरकारले स्थानीय निर्वाचनको मिति तोकेको छ । निर्वाचन आयोगले पनि त्यही तयारी गरेको छ । नेकपा (एमाले)को चाहिँ तयारी कस्तो छ ?

नेकपा एमालेले प्रदेश नम्बर–२ को निर्वाचनलाई केन्द्रमा राखेर आफ्ना गतिविधि अघि बढाएको छ । केन्द्रीय र स्थानीय तहबाट पनि प्रदेश नम्बर–२ मा एमालेले कसरी बहुमत हाँसिल गर्नसक्छ भन्ने सन्दर्भमा विभिन्न खाले छलफल र तयारीहरु अघि बढाएको अवस्था छ । प्रदेश नम्बर–२ का आठ वटै जिल्लामा जिल्लादेखि वडा तहसम्मका भेला, वैठक र छलफलहरु तीव्र गतिमा अगाडि बढेका छन् । मतदातालाई कसरी मतदान प्रक्रियामा सहभागी हुने भन्ने सन्दर्भमा पनि एमालेले वडा तहसम्म योजना बनाएर अगाडि बढेको छ । त्यसैले एक ढंगले भन्ने हो भने हामीले प्रदेश नम्बर–२ को निर्वाचन केन्द्रित अभियानलाई तिव्र बनाएका छौँ । अहिले पनि म प्रदेश नम्बर–२ कै बारा जिल्लामा रहेको छु । यहाँको अवस्था, एमालेप्रति फैलाएका भ्रम आदिका बारेमा यहाँका जनताको मनोविज्ञान कस्तो रहेको छ भन्ने सन्दर्भमा पनि छलफल भैरहेका छन् ।

उम्मेदवार चयनलगायतका बारेमा पनि त केही छलफलहरु भएका होलान नि ?

निश्चय पनि हामीले स्थानीय स्तरमा लोकप्रिय, लामो समय योगदान गरेका र पार्टीप्रति प्रतिबद्ध व्यक्तिलाई उम्मेदवारका रुपमा पहिलो प्राथमिकतामा राखेको छौँ । दुई चरणमा भएका निर्वाचनमा पनि हामीले सोहीअनुरुप नै उम्मेदवार चयन गरेका थियौँ । यद्यपि केही ठाउँमा केही कमजोरीहरु भए भन्ने गुनासाहरु पनि आए । हामी यो प्रदेशमा यस्ता गुनासाहरु पनि नआउने गरी उम्मेदवार चयन गर्ने छौँ । गाउँपालिका र नगरपालिकाको हकमा जिल्ला र प्रदेशले नै टुंगो लगाउने छ । उपमहानगरपालिका र महानगरपालिकाका हकमा भने स्थायी कमिटीले अन्तिम निर्णय गर्ने छ ।

अहिले तराई–मधेसमा एमाले कमजोर छ भन्ने आरोप लागिरहेको छ । सत्ताले पद र पैसाको पनि दुरुपयोग गर्ने सम्भावना त्यत्तिकै छ । यस्तो अवस्थामा प्रदेश नम्बर–२ मा निर्वाचन जित्न त निकै कठिन होला नि ?

ती सबै भ्रमहरु हुन् । तराई–मधेसमा एमाले कमजोर छ भनेर विभिन्न खालका भ्रम फैलाउने काम भैरहेको छ । तर, यहाँका जनता त्यो पत्याउन तयार छैनन् । एमालेले जे गर्छ त्यही मात्र बोल्छ भन्ने विश्वास तराई–मधेसका जनतामा रहेको मैले पाएको छु । एमालेले तराई–मधेसको विकासमा खेलेको भूमिकाबाट पनि यहाँका जनता प्रभावित भएको मैले पाएको छु । त्यसैले ती सबै भ्रमलाई चिर्दै यहाँका जनताले एमालेलाई पहिलो शक्तिका रुपमा विजयी बनाएर पठाउने निश्चित छ ।

भरतपुर काण्डलाई नै हेर्ने हो भने पनि त्यहाँ सत्ताको चरम दुरुपयोग भएको छ । तपाईँहरुले भरतपुर काण्डलाई कसरी लिनु भएको छ ?

एमालेले भरतपुर घटनालाई दूर्भाग्यपूर्ण भनेको छ । त्यहाँ सम्मानित सर्वोच्च अदालतले जुन खालको निर्णय गरेर पुनः मतदान गर्ने भन्यो । त्यो हाम्रो अपेक्षा भन्दा बाहिरको कुरा भयो । तर, हामीले सम्मानित अदालतको निर्णय मान्नुको अर्को विकल्प छैन । हामी जनतामा विश्वास गर्छौ । मलाई अझै पनि विश्वास छ, भरतपुरका जनता सत्यका पक्षमा उभिनेछन् । सत्यका पक्षमा काम गर्ने एमालेलाई विश्वास गर्ने छन् र फेरि पनि परिणाम एमालेकै पक्षमा आउने छ ।

तपाईँले यसो भन्दै गर्दा प्रदेश नम्बर–२ मा पनि सत्ता र पैसाको दुरुपयोग होला नि ?

भरतपुर घटना प्रदेश नम्बर–२ मा पनि नदोहोरिएला भन्न सकिन्न । त्यसैले एमालेले भरतपुर घटनाबाट पाठ सिकेर प्रदेश नम्बर–२ मा हुन सक्ने सबै प्रकारका षडयन्त्रलाई चिर्ने गरी योजना बनाएर अघि बढ्दै छ । एमालेले अहिले प्रदेश नम्बर–२ का सबै जिल्लामा केन्द्रबाटै पदाधिकारीको नेतृत्वमा कमाण्डर खटाउने तयारी गरेको छ । हामी सबै तराईलाई नै केन्द्र बनाएर यहाँका गतिविधिलाई नजिकबाट नियाल्दै छौँ । विभिन्न खाले षडयन्त्रलाई तोडेर एमालेलाई पहिलो पार्टी बनाउनु पर्छ भन्ने हेक्का तराईका जनताले राखेका छन् । नेपाली कांग्रेस र माओवादीप्रति अहिले राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु समेत रुष्ट बनेको अवस्था छ । उनीहरु कांग्रेस–माओवादीले पटक–पटक धोका दिएको भन्दै विश्वासको आधार गुमाएको चर्चा गर्न थालेका छन् । एमालेले कुनै पनि सम्झौता नगरे पनि धोका चाहिँ नदिएको उनीहरुले खुलेरै भन्न थालेको छन् ।

केपी ओली नेतृत्वको सरकारमा तपाईँ अर्थमन्त्री हुनुहुन्थ्यो । ओली सरकारका पालामा सबै भन्दा बढी बजेट तराई–मधेसमा पारेको भन्ने चर्चा एमाले आफैँले गर्ने गरेको छ । त्यहाँका जनताले यस्तो महसुस गरेका छन् ?

निश्चय पनि, तराई–मधेसका जनतालाई तराई–मधेसका जनताका पक्षमा काम गर्ने पार्टी एमाले मात्र हो भन्ने विश्वास भएको छ । एमाले नेतृत्वको सरकारले तराई–मधेसमा विनियोजन गरेको बजेटपछि त झन् तराइको जनता एमालेप्रति आकर्षित भएका छन् । एमाले तराईका जनताका पक्षमा काम गर्ने पार्टी हो भन्नेमा पनि तराईका जनताका ढुक्क भएका छन् । एमाले सरकारमा रहेका बेला काठमाडौ–तराई फाष्ट्रट्याक आफ्नै लगानीमा बनाउने निर्णय गरेको थियो । पूर्व–पश्चिम राजमार्गलाई ६ लेनको बनाउने, २० हजारलाई तराई–मधेसमा आवासको व्यवस्था गर्ने, हुलाकी राजमार्ग निर्माण गर्ने जस्ता काम म अर्थमन्त्री भएका बेला गरिएका निर्णय हुन् । हामीले तराईका सहर व्यवस्थित गर्न १८ वटा आर्थिक सहर निर्माण गर्ने लगायतका निकै महत्वपूर्ण कुरालाई पनि बजेटमा व्यवस्था गरेका थियौँ । हुलाकी राजमार्ग निर्माण गर्ने एमाले सरकारको योजना पनि अहिले अलपत्र परेको छ । एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै ढाल्ने काम भयो । एमाले नेतृत्वको सरकार ढलेसँगै अहिले एमालेले तराई–मधेसमा अगाडि सारेका सबै काम अलपत्र परेका छन् । अझै पनि तराई–मधेसका जनताले एमालेको नेतृत्वको सरकार बनोस् र ती योजना पूरा हुन भन्ने चाहेका छन् ।
पूर्वाधारमा कमजोर रहेका तराईका सहरलाई व्यवस्थित गर्ने, तराई–मधेस सिंचाइ अभियानलगायतका योजना पनि अहिले अलपत्र परेका छन् । मरिनको पानी वागमतीमा खसालेर तराईका जिल्लामा सिंचाई गर्ने योजना पनि अहिले अलपत्र परेको छ । यी सबै काम पूरा गर्न एमाले नै चाहिन्छ भन्ने त्यहाँका जनताले महसुस गर्न थालेका छन् ।
नेपालको इतिहासमा पहिलो बजेट सुवर्णशम्शेर जबराले घोषण गरेका थिए । त्यसपछिका कुनै पनि बजेट तराई केन्द्रित थिएनन् । एमाले नेतृत्वको सरकारले मात्र तराई केन्द्रित बजेट ल्यायो त्यसैले तराईका जनताको सच्चा पार्टी एमाले मात्र हो भन्ने यहाँका जनताले महशुस गरेका छन् । तराई केन्द्रित बजेट कार्यान्वयन हुन नदिने अन्य दलप्रति विश्वास गुमाएका जनताले यो पटक प्रदेश नम्बर–२ बाट एमालेलाई विजयी गराएर पठाउने निश्चित छ ।

स्थानीय निर्वाचनमा पहिलो बनेको दल एमाले प्रदेश र संघीय निर्वाचनमा पनि पहिलो नै बन्छ भनेर एमालेले दाबी गर्दै आएको छ । त्यो कत्तिको सम्भव छ ?

एमाले श्रमिक, मजुर र किसानका पक्षमा बोल्ने पार्टी हो । आम जनताले त्यही महशुस गरेका छन् । राष्ट्रियताका पक्षमा सबै भन्दा बढी अडान लिने पार्टी पनि एमाले नै हो भन्ने कुरा पनि नेपाली जनतालाई राम्ररी हेक्का छन् । त्यही कारण स्थानीय निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन जनता सफल भए ।
नेपालको इतिहासमा अर्थात प्रजातन्त्रप्राप्तिपछिको अवस्थालाई हेर्ने हो भने सत्तामा भएको पार्टीले नै पटक–पटक जित्दै आएको छ । तर, यो पटक प्रतिपक्षमा रहेको दल एमाले पहिलो पार्टी बन्यो । एमाले पहिलो पार्टी बनेसँगै हामीले गौरवका साथ भन्न सक्छौँ कि अब एमाले प्रतिपक्ष होइन । एमाले प्रमुख पार्टी हो । प्रतिपक्षमा रहेको पार्टी एमालेका विरुद्धमा सत्तापक्षले गठबन्धन नै गर्नुपर्ने अवस्था आयो । तर, पनि एमालेलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न सकेनन् । यसले पनि के प्रमाणित गर्छ भने अब प्रदेश र केन्द्रीय निर्वाचनमा पनि एमाले नै पहिलो पार्टी बन्ने छ । एमाले हराउनका लागि बनेका गठनबन्धन र दाउपेच अब काम लाग्दैनन् भन्ने हेक्का नेपाली जनतालाई भएको छ । त्यसैले अबका निर्वाचनमा एमाले बहुमतसहितको पहिलो पार्टी बन्ने छ र आम नेपालीले चाहेनको नेपाल निर्माण गर्नेछ ।