युवा–विद्यार्थीले रोजगारी खोज्दा पार्सपोर्ट थमाउने शिक्षा कहिलेसम्म ? — केपी शर्मा ओली , अध्यक्ष, नेकपा (एमाले) 

 

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सफल राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्छ । उहाँको दूरदर्शी राजनीतिका कारण अहिले एमालेले राष्ट्रवादी छवि बनाउन सफल भएको छ । मुलुकको राजनीतिमा तर्कसहित विश्लेषणात्मक ढंगले समिक्षा गर्न सक्ने ओलीले नेपालको शिक्षाका बारेमा पनि निकै गहकिलो कुरा गर्नुभएको छ । उहाँसँग मैत्रिन्युज डटकमका लागि मोहन बास्तोलाले गरेको कुराकानीः

 देशको पछिल्लो राजनीतिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? 

पहिलो कुरा, हामी संक्रमण कालमा छौँ । संक्रमणकाल नकरात्मक कुरा होइन । बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको रक्षा गर्दै हामीले संविधान जारी गरेका छौँ । अहिले हामी संविधान कार्यान्वयनको चरणमा छौँ । योसँगै हामी संक्रमणकालको पनि अन्तिम चरणमा छौँ । संविधान बनेपछि संविधानले व्यवस्था गरेका संरचनाहरु तयार भएर जननिर्वाचित सरकारलाई हस्तान्तरण गर्दै ती संरचनालाई स्थायीत्व प्रदान सकेपछि संक्रमण कालको पनि अन्त्य हुन्छ । 

२०६२÷०६३ को परिवर्तनपछिको संक्रमणको पहिलो र त्यसपछि पहिलो संविधानसभा असफल भएदेखि दोस्रो संविधानसभाको निर्वाचन र संविधान जारी नहुन्जेलसम्मको दोस्रो चरण हो । त्यसपछि संविधान जारी भएपछि त्यसले व्यवस्था  गरेका संरचनाहरु तयार गरेर स्थिरता र स्थायीत्वमा प्रवेश गर्ने कुरा संक्रमणको तेस्रो चरण हो । अहिलेको संक्रमण चाहिँ प्राप्त सफलतालाई टेकेर अझ सफलता चुम्ने र अन्तिम व्यवस्थापन गर्ने हो । त्यसैले यो सकारात्मक छ । त्यसैले यो संक्रमणकालमा विभिन्न खालका व्यवधानहरु आउनुलाई अस्वाभाविक मान्नु हुन्न ।  

संविधान कार्यान्वयन गर्ने कुरालाई चाहिँ कत्तिको चुनौती ठान्नु भएको छ ? 

आन्दोलनको क्रम वा लोकतन्त्रप्राप्तिका सन्दर्भममा अनि ती उपलब्धीहरुलाई संवैधानिक रुप दिने कुरा अथवा त्यसलाई संस्थागत गर्ने कुरा नै किन नहोस अझ संविधान कार्यान्वयन गरेर त्यही संरचनामार्फत जाने कुरामामा नै किन नहोस् हरेक चरणमा अप्ठ्याराहरु छन् । तर, हामी यी सबै अप्ठ्याराहरुलाई पार गर्दै आएका छौँ । व्यवधानहरु छन् । चुनौतीहरु पनि छन् । त्यसकारण पनि केही विलम्व अवश्य छ । यद्यपि व्यवधानसँग डराएर भाग्ने समय हामीसँग छैन ।  

संविधान कार्यान्वयनका क्रममा विगतमा देखिएका चुनौतीलाई कसरी लिनु भएको छ नि ? 

हामीले पछि फर्केर हेर्ने हो भने एउटा संविधानसभा त असफल नै पार्ने काम भयो । अधिकार संस्थागत हुन नदिने र अघि बढ्न नदिने जबरजस्त शक्तिहरु कस्ता छन् भन्ने कुराको त्यो प्रमाण हो । पहिलो संविधानसभाबाट संविधान जारी हुन नदिन धेरै प्रयास भए । तर, हामी निरन्तर अघि बढ्यौँ र यहाँसम्म आएका छौँ । 

देशमा राजनीतिक संक्रमणकाल मात्र होइन सामाजिक, आर्थिक र साँस्कृतिक संक्रमणकाल पनि छ । मूलतः यो संक्रमणकाललाई राजनीतिक निकायहरु, संरचनाहरु निर्माण गरेर टुङ्याउनु छ । सामन्तवादले चलाएका विभेदको अन्त्य गर्नुछ । हामी ती विभेदको अन्त्य गरेर समतामूलक र सामाजिक न्यायमा आधारीत समाजको परिकल्पना गरिरहेका छौँ । त्यति मात्र होइन, अघि पनि भने– संविधान सहज ढंगले कार्यान्वयनमा ल्याउनु अर्को चुनौती हाम्रा सामू छ ।

अहिले जातीय, धार्मिक र क्षेत्रीयताका नाममा विभेद ल्याउने प्रयासहरु पनि भैरहेका छन् ।  अहिले संकृण र साम्प्रदायिक राजनीतिमा लैजाने प्रयास पनि भैरहेका छन् । पहिचान र पछौटेपनसँग लगेर जोड्ने र त्यसको दुरुपयोग गर्दै समाजलाई विकृत बनाउँदै पछाडि धकेल्ने अनि वैमनश्यता र द्वन्द्वको स्थिति सिर्जना गर्ने अनि अन्त्वागोता अस्थिरता, अशान्ति ल्याउने प्रयास पनि भैरहेका छन् । त्यति मात्र होइन राजनीतिक अस्थिरताका नाममा आफ्ना व्यक्तिगत उदेश्य भित्र्याउने प्रयास पनि भैरहेका छन् ।  

आवधिक निर्वाचन, जनउत्तरदायी सरकार, विभिन्न तहका स्थानीय र प्रादेशिक सरकारलाई स्थापित गर्नुछ । त्योसँगै नराम्रा संरचनाहरुलाई खतम गर्नुछ । हामी हाम्रो राष्ट्रियहितका पक्षमा जिम्मेवार भएर एकताबद्ध भएर लाग्न जरुरी छ । 

अहिले ९० प्रतिशत बढीले हस्ताक्षेर गरेर जारी गरेको संविधानका बारेमा पनि विभिन्न खाले भ्रम पैदा भएका छन् नि ? 

संविधानसभाबाट ९० प्रतिशतले हस्ताक्षर गरेर जारी गरेको संविधान मान्दिन भन्न मिल्दैन । हामी जे भन्छौँ त्यही अनुसार संविधान संशोधन हुनुपर्छ । दुई–चार जनाले भनेअनुसार संविधान बन्नुपर्छ धेरैले संशोधन गर्नु हुँदैन भनेर कहाँ हुन्छ ? भन्दै जोडजुलुम गर्ने कुरा अलोकतान्त्रिक तर्क हो । बुद्धी होइन मशलका भरमा, तर्क होइन कुतर्कका भरमा, सत्य–तथ्य होइन बलका भरमा, जबरजस्तीका भरमा देशलाई बेठीक दिशामा लैजाने हर्कत भैरहेको छ । समग्रमा निधेषको राजनीति गर्ने प्रयास भैरहेको छ । यो एमालेलाई मान्य छैन । 

अहिले राजपा पनि निर्वाचनमा आएको छ । यसलाई त सकारात्मक रुपमा लिनु भएको होला नि ? 

उनीहरु आउनै पर्ने बाध्यता थियो । पहिलो र दोस्रो चरणको निर्वाचनमा उनीहरुकै कार्यकर्ताले समेत नेतृत्वलाई चुनौति दिएर चुनावी मैदानमा गए । नेतृत्वले चाहेर पनि उनीहरुलाई रोक्न सकेन । अहिले पनि उनीहरुले भाग नलिएको भए उनीहरुले कार्यकर्तालाई रोक्न सक्ने अवस्था थिएन । त्यही भएर पनि उनीहरु चुनावी मैदानमा ओर्लिएका हुन् । 

प्रदेश नम्बर दुईमा एमालेको अवस्था के–हुन्छ ? 

प्रदेश नम्बर–२ को निर्वाचन असोज–२ मा हुँदैछ । एमाले पूर्ण तयारी र उच्च मनोवलका साथ प्रदेश नम्बर २ मा जाँदैछ । असोज २ मा हुने निर्वाचनमा कुनै दायाँबायाँ हुने छैन । त्यही मितिमा निर्वाचन हन्छ । एमाले प्रदेश नम्बर–२ मा कम्तीमा प्रमुख पार्टी बन्छ । 

 

मुलुकको दिनप्रतिदिन विग्रिदोँ राजनीतिबाट दिक्क भएर विदेश पलायन हुने युवाको सङ्ख्या बढ्दै गएको छ । देशको पूर्वप्रधानमन्त्री र एउटा जिम्मेवार पार्टी नेकपा (एमाले) को अध्यक्ष पनि भएको नाताले यसलाई कसरी लिनुभएको छ ? 

हाम्रो देशमा शिक्षा राणा शासनदेखि सुरु भएको देखिन्छ । हामीले व्रिटिस मोडेलको शिक्षा यहाँ सापटी लियौँ । हाम्रो पुरानो गुरुकुल शिक्षाले काम चलेन ।  हामीलाई आधुनिक शिक्षा चाहिएको थियो । व्रिटिसहरु भारतमा आएपछि उनीहरुलाई डाक्टर, इञ्जिनियर होइन ट्रकमा कति लोड, अनलोड गरे, कतिले कति काम गरे, उनीहरुलाई कति पारिश्रमिक दिनुपर्ने हो भनेर ‘क्र्लककीय’ कामका लागि दिएको शिक्षा हामीले नक्कल गर्यौँ । त्यस्तो शिक्षाको नक्कल गरेपछि बेरोजगार उत्पादन हुनु स्वाभाविक थियो । त्यसले मात्र चल्ने अवस्था थिएन । त्यसका लागि प्राविधिक शिक्षा, जीवनउपयोगी शिक्षा आवश्यक थियो । त्यो गर्न सकेनौँ । एकातिर क्षमतावृद्धि अर्कातिर गुणस्तरवृद्धि आवश्यक थियो । यो पनि हामीले गर्न सकेनौँ ।  हामीले गुणस्तरवृद्धि हाँसिल गर्न यी दुबै कुरालाई तालमेल गरेर समाज र व्यक्तिका लागि उपयोगी हुनुपर्ने थियो । शिक्षाका दुई वटा उदेश्य छन् । हामी त्यसमा केन्द्रित हुनुपर्छ ।  व्यक्तिलाई बेरोजगार बनाउने वा पीडा थप्ने शिक्षा होइन रोजगारीका अवसर सिर्जना गर्न सक्ने, जनवादी शिक्षा अहिलेको पहिलो आवश्यकता हो ।  हामीलाई चाहिएको पनि यही हो ।  जनवादी शिक्षा भनेको जीवनउपयोगी समाज उपायोगी शिक्षा हो । यो पहिलो उदेश्य हो । दोस्रो भनेको आचरण, व्यवहार र भावनामा शुद्धता भएको अर्थात उच्च नैतिकवान बनाउने शिक्षा ।    

आजको जमानामा प्रतिष्पर्धी क्षमता नभएको, आफैँ अवसर सिर्जना गर्न सक्ने क्षमता नभएको शिक्षाको काम छैन । देश विकास गर्न सिकाउने, लोकतान्त्रिक प्रणाली, पद्धति, प्रक्रिया मान्ने र लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा विकास गर्न सिकाउने शिक्षा अहिलेको आवश्यकता हो । 

हिजो र आजको शिक्षामा के–कस्ता भिन्नता छन् जस्तो लाग्छ ? 

हिजो हाम्रो देशमा असमानता र विभेद थिए । ती असमानता र विभेदको अन्त्य गरेर सामाजिक न्याय र समानताको बाटोमा अघि बढाउनुपर्छ भन्ने सिकाउने शिक्षा अहिलेको आवश्यकता हो । विविधतायुक्त हाम्रो देशमा वैमनश्यता, कटुता, विभेद जस्ता कुरा अथवा संक्रिणता होइन फराकिलोपनका साथ विविधतामा एकता सिकाउने शिक्षा सिकाउने, सद्भाव र पारस्पारिक एकता सिकाउने, माया–ममता, सिकाउने शिक्षा अहिलेको आवश्यकता हो । 

हाम्रो शिक्षा हाम्रा सामाजिक मान्यता, प्रचलनको संरक्षण गर्ने, सानालाई माया ठूलालाई आधार गर्ने, सबैलाई सुखी र खुशी बनाउने खालको हुनुपर्छ । वैदिककालदेखि ‘ओम शान्ति, जगत शान्ति, विश्व शान्ति, चराचर शान्ति’ भन्ने शिक्षा थियो । हाम्रै देशमा विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्म भयो । त्यसैले अहिलको शिक्षा विश्व शान्तिको शिक्षा हुनुपर्छ । समग्रमा भन्ने हो भने असल, योग्य नागरिक उत्पादन गर्ने शिक्षा चाहिन्छ । त्यो भयो भने बेरोजगारको अवस्था सिर्जना हुँदैन । 

सरकार वा राज्यको पनि त शिक्षामा दायित्व होला नि ? 

सरकार देश र जनताप्रति जिम्मेवार अनि उत्तरदायी हुनुपर्छ । जसले रोजगारीका अवसर सिर्जना गर्नका लागि नीतिहरु बनाउन सकोस् । युवाहरुलाई अवसर दिन सकोस् । कला, संस्कृति, साहित्य, खेलकुद, कृषि, पर्यटन, मनोरञ्जनसहित विविध विधाहरुलाई समेटेर व्यक्तिको रुची अनुसारको शिक्षा दिने व्यवस्था सरकारले गर्नुपर्छ । बालकले कुन शिक्षा चाहन्छ ? त्यसको उचित पहिचान गरेर उसको रुची अनुसारको शिक्षाको व्यवस्था गर्नुपर्छ । यस्तो शिक्षा दिन चाहने हो भने धेरै समय लाग्दैन । हामी छोटै समयमा नेपाललाई शिक्षित, स्वच्छ र सम्वृद्ध देश बनाउन सक्छौँ । यो भयो भने मात्र सुखी र सम्वृद्ध नेपाल निर्माण हुनेछ । 

विदेशमा गएर लिएको शिक्षा र सिकेको सीपलाई नेपालमै सदुपयोग गर्न के–कस्ता रणनीति सरकार वा राजनीतिक दलले अख्तियार गर्नुपर्ला ? 

वैदेशिक अध्ययन वा वैदेशिक रोजगारीमा जाने कुरा पूर्णरुपमा नराम्रो होइन । हामी ज्ञान आर्जन र राम्रा अवसरका लागि विदेश जाने हो । ज्ञान आर्जनका लागि बाहिर जानु पर्ने अवस्था सिर्जना नहुने हो भने राम्रो हुन्थ्यो । ज्ञान आर्जन त्यसै हुँदैन, पैसा तिर्नुपर्छ । हामीले स्वदेशमै ज्ञान आर्जनको अवसर सिर्जना गर्ने हो भने विदेश जाने पैसा पनि रोक्न सकिन्थ्यो । हाम्रो परिस्थिति अनुसारको शिक्षा प्राप्त गर्न सकिन्थ्योंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं । अहिले अरुको अवस्था अनुसारको शिक्षा सिकेर नेपालमा आउने र यहाँ समायोजन गर्न खोज्ने कुराले पनि समस्या भएको छ । युरोप, अमेरिकाको शिक्षाको नक्कल गर्न खोज्ने वा त्यहाँबाट ‘इन्जेक्टेट’ भएर आउने र त्यसै अनुसार यहाँ लागू गर्न खोज्ने अर्थात अरुको चाहना अनुसारको शिक्षा यहाँ दिन खोज्दा थप समस्या भएको छ । हाम्रो पछौटेपन त्यसैको कारण बनेको छ । 

हामीले आफ्नै परिवेश अनुसारको शिक्षा दिन जरुरी छ । अब पनि अन्य देशमा अरुले छाडेका कामका लागि हाम्रो देशबाट युवा जाने हो भने हामीले कहिल्यै प्रगति गर्न सक्दैनौँ । आगामी दिनमा डाक्टर, इञ्जियिर वा भिजिटिङ प्रोफेरका लागि विदेशमा जाने एृउटा कुरा भयो तर अदक्ष शक्तिका रुपमा जाने कुरालाई रोक्नु पर्छ ।  म पासपोर्ट नदिएर वैदेशिक रोजगार वा वैदेशिक अध्ययनका लागि जाने कुरालाई रोक्नुपर्छ भन्ने पक्षमा छैन । स्वदेशमै रोजगारी र आम्दामीका अवसर दिन नसकुन्जेल युवाहरु बाहिर जानुको विकल्प छैन । अहिलेसम्म युवाले रोजगारी खोज्दा पार्सपोर्ट थमाउने प्रचलन छ । यो रोक्नुपर्छ । म प्रधानमन्त्री हुँदा त्यसको प्रयास थालेको पनि थिएँ । मैले युवाको निरासालाई आशामा बदल्न खोजेको थिएँ । त्यो प्रयास थालेको पनि थिए । तर, मैले ती पूरा गर्न नपाउँदै मेरो नेतृत्वको सरकार ढल्यो । अहिले ती योजना अलपत्र परेका छन् ।  

युवा विद्यार्थीले शिक्षाका बारेमा के गर्नुपर्ला ?

युवा–विद्यार्थीले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्दै सम्वृद्धिका पक्षमा शैक्षिक वातावरण कस्तो हुनुपर्छ ? हाम्रा पाठ्यक्रम, हाम्रा पाठ्यपुस्तक, हाम्रो पठन–पाठन, हाम्रा शिक्षक, शिक्षण संस्थाहरु, विद्यार्थीहरु कस्ता हुनुपर्छ ?  शैक्षिक प्रणाली कस्तो हुनुपर्छ ? यो कुरामा ख्याल गर्नुपर्छ । कर्णधारहरु कर्णधार नै हुनुपर्छ । त्यो कुरामा पनि ध्यान दिनुपर्छ । जनवादी शिक्षाको उदेश्य के–हो ? त्यसमा ध्यान दिनुपर्छ । शिक्षालाई सर्वसुलभ बनाउने, शिक्षालाई सबैको पहुँचमा पुर्याउने कुरामा पनि ध्यान दिनुपर्छ । त्यो भनेको भौगोलिक, आर्थिकलगायतको पहुँच पनि हो । 

आमा–बुबाले करकाप गरेर कोही पनि इञ्जिनियर वा डाक्टर हुँदैन । आमा–बुबाले करकाप गरेर गीतकार वा संगीतकार पनि हुँदैन । कसैको करकापबाट गला राम्रो हुँदैन । मलाई मेरो बुबाआमाले करकाप गरेर गीतकार बनाउन खोजेको भए के हालत हुन्थ्यो होला ? मैले संगीत वा गायन पढ्नु पर्ने भएको भए के हुन्थ्यो ? मैले यहाँ भन्न खोजेको कुरा के–हो भने सबैले आ–आफ्नो रुचिको विषय पढ्न पाउनुपर्छ । 

एमालेले केही विकास गर्छु भन्दा आरोप लाग्ने गरेका छन् । यो उनीहरुको बुझाईको कमी हो जस्तो लाग्दैन ? 

एउटा पछिल्लो उदाहरण लिऔँ, भरतपुरमा मतपत्र च्यातिएको कुरालाई नेपाली कांग्रेसले च्यातियो भन्न सकेन । बरु माओवादीले त्यो च्यातिएको कुरा उचित भएन भनेर भन्यो । कांग्रेसको यो भन्दा निर्लज्जता के हुन्छ ? त्यसैका निरीह सहयोगी संस्थाहरुको अवस्था देख्दा बिचरा भन्न मन लाग्छ । 

मैले रेल ल्याउँछु भन्दा उनीहरुले खेलौना रेल ल्याएर बालुवाटार अघि तमासा गरे । प्यासिफिक ओसन, इण्डियन ओसनमा हामी हाम्रा पानी जहाज चलाउन सक्छौँ भन्दा त्यसलाई मजाक बनाएर उनीहरुले कागजका पानी जहाज बनाएर ‘प्रधानमन्त्रीको यही हो पानी जहाज’ भनेर उडाए । मैले विकास निर्माणका कुरा गर्दा मजाक भयो । तस्ता कामका लागि आजको पुस्ता प्रयोग भएको छ । आइटी युगको पुस्ता अहिले थोत्रो पुस्ताको सम्वाहक बनेर परिवर्तनलाई मजाकको विषय बनाउने कुरा कति दुखद् छ । कम्तिमा युवा संघ अनेरास्ववियु त्यस रोगबाट, त्यस दोषबाट मुक्त छन् भन्ने मैले ठानेको छु । 

तपाईँको बुझाईका शिक्षा के–हो ?

शिक्षा भनेको नागरिकलाई सक्षम बनाउने साधन हो । हामीलाई डाक्टर कति चाहिन्छ, ईन्जिनियर कति चाहिन्छ, व्यवस्थापक कति चाहिन्छ, हामीलाई भू–गर्भविद् कति चाहिन्छ, डाक्टरमा पनि फोक्सो, नाक, कान, घाँटी सम्वन्धि कस्ता डाक्टर चाहिने हो, त्यो पनि ध्यान दिनुपर्छ । सबै इन्जिनियर्स पुल बनाउने मात्र उत्पादन गरेर पनि हुँदैन । यो कुरामा पनि ध्यान दिनुपर्छ । हामी अहिले देश निर्माणको अभियानमा छौँ । यो हो भने पूर्वाधार निर्माण, उद्योग, व्यापारका विषयमा पनि अध्ययन जरुरी छ । घरजग्गा बेचेर पाइलोट पढ्नेहरु धेरै छन् । तर, उनीहरुसँग बेरोजगारी बाहेक केही छैन । अन्य क्षेत्रको पनि अवस्था त्यस्तै छ । त्यसैले सरकारले अध्ययनका लागि पनि विद्यार्थीलाई कुन क्षेत्रमा कति इजाजत दिने ध्यान दिन जरुरी छ । हामीलाई कस्तो जनशक्ति चाहिएको हो ? यो विषयमा पनि सरकारले योजना बनाउनुपर्छ ।  

म प्रधानमन्त्री हुँदा यस्तो प्लानको सुरुवाती गर्न खोजको थिएँ । तर, प्रधानमन्त्री हुने वित्तिकैदेखि नाकाबन्दीको झमेलामा पाँच महिना वित्यो । नाकाबन्दी खुल्ने वित्तिकै म भारत र चीनको भ्रमणमा गएँ । त्यहाँबाट फर्केर आउने वित्तिकैदेखि मलाई हटाउने सबै तयारी भैहाल्यो ।  मेरो नेतृत्वको सरकारले नीति, कार्यक्रम र बजेट ल्याउनु पर्ने थियो ल्याएर छाडिहालियो । त्यस्तो अवस्थामा मैले ती सबै कार्यक्रम गरेर भ्याउने अवस्था थिएन । यद्यपि, खानीहरुको अन्वेषण गर्नेलगायतको सुरुवात भने गरेको थिए । तर, शिक्षाका विषयमा प्रर्याप्त ढंगले काम गर्न सकेनौँ । अहिलेको सरकारमा शिक्षाको विकासमा कुनै पनि सोँच छैन । सरकार सोँचहीन, योजनाहीन अवस्थामा छ  । यो शिक्षा भैपरी आएको वा भवितव्य जस्तो भएको छ । यसलाई व्यवस्थित शिक्षा बनाउनु जरुरी छ । 

तपाईहरु बिचार गर्नुहोस् । अहिले केपी ओली प्रधानमन्त्री भएको र राजधानीमा यस्तै खाल्डाखुल्टी रहेका भए ती थोत्रा विचारका सम्वाहक विद्यार्थीको दुरुपयोग कसरी हुन्थ्यो । उधुम हुन्थ्यो । अहिले ती विद्यार्थी संगनठन निन्द्रामा छन् । सरकारलाई दोष दिदैँनन् । महानगरपालिका, नगरपालिकाको खाल्टाखुल्टी पुर्ने क्षेत्राधिकार नै होइन । अहिले उनीहरु महानगरपालिकालाई दोष दिइरहेका छन् । निर्वाचित भएको भोलिपल्टै घेर्न पुगेका छन् । यो भन्दा लज्जावोध के हुन्छ ? 

यी सबै कुराको समाधान के–होला ?

अहिलेको यो सयम तीव्र परिवर्तनको समय हो । म स्मरण गराउन चाहन्छु । म सानो छँदा ल्यापटप, कम्युटर वा टेलिफोन निकै मुश्किलको कुरा थियो । आज भन्दा १०–१५ वर्ष अघिकै कुरा गर्ने हो भने पनि यहाँ एक लाइन टेलिफोन प्राप्त गर्नका लागि निकै मुस्किल थियो । तर, अहिले हामी फेसवुक, ट्वीटर, इन्ट्राग्रामको जमानामा प्रवेश गरेका छौँ । अहिले पत्रपत्रिका भन्दा अनलाईन खवरहरुको जमाना भयो । यो आइटीको जमाना भयो । जति पढेलेखेको भए पनि आइटी मैत्री छैन भने त्यो व्यक्ति  कमजोर बन्ने समय आयो । २० वर्षलाई हेर्ने हो भने सञ्चार क्षेत्रमा समेत असाधारण परिवर्तन भएको छ । अहिले परिवर्तन भन्दा अघि बढेको पुस्ता, परिवर्तसँगै अघि बढेको पुस्ताबीच पनि निकै ग्याव छ । विस्तारै–विस्तारै जमाना निकै परिवर्तित भएको छ । अब पैसा बोक्ने जमाना गए । पैसाका ठाउँमा कार्ड बोक्ने जमाना आए । अब कापी–कलम बोकेर हिड्ने जमाना पनि गए । ल्यापटप, ट्याव बोक्ने जमाना आए । यो पुस्तान्तरण हो । अहिलेका बालबालिकामा पनि निकै ठूलो परिवर्तन भएको छ । 

हाम्रो पालमा पेले, म्यारोडोना देख्नु भनेको असम्भव कुरा थियो । अहिलेका बालबालिका विश्वका चर्चित खेलाडी, कलाकार सबैका बारेमा राम्ररी व्याख्या गर्न सक्छन् ।