काँग्रेस उम्मेदवार ८८ किलोे सुन तस्कर प्रकरणमा पक्राउ

maitrinews

रसुवा । नेपाली काँँग्रेसको समानुपातिकतर्फको टिकट लिन काठमाडौं आएका बेला उक्त पार्टीका समानुपातिक उम्मेदवार मानबहादुर तामाङ पक्रउ पर्नुभएको छ । सुन तस्करीका नाइके तामाङ केही समयअघि ठमेलमा फेला परेको ८८ किलो सुनमा लगानीकर्ता मध्येका अगुवा हुनुहुन्छ ।

नेपाल–चीन–केरुङ व्यापार संघको अध्यक्ष समेत रहनु भएका तामाङ महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन फेला पारेपछि अर्धभूमिगत बन्नुभएको थियो । रसुवाको क्षेत्र नम्बर २ बाट कांग्रेसको समानुपातिक उम्मेदवार रहनु भएका तामाङ कांग्रेसले समानुपातिक उम्मेदवारको सूची बुझाएको भोलिपल्ट सामेबार पक्राउ पर्नुभएको हो ।
महाशाखाले केरुङ नाका हुँदै काठमाडौं भित्रिएको सुन भदौ १९ मा क्षेत्रपाटीबाट बरामद गरेको थियो । बा १७ च ६४२७ नम्बरको गाडीसहित महाशाखाले मनोज अधिकारीलाई पक्राउ गरेपछि तस्करीमा सक्रिय जालो खुलेको थियो । अनुसन्धानमा काठमाडौंमा सुन कारोबारीको आवरणमा रहेका व्यवसायी, तामाङले केरुङ नाका कटाएर काठमाडौंसम्म तस्करीको सुन ल्याउने गरेको खुलेपछि प्रहरीले उहाँको खोजी गरेको थियो ।
अनुसन्धान क्रममा तामाङले केरुङ नाका, धादिङ र नुवाकोटको नाकाबाट सुन बोकेर सवारीसाधन सहजै कटाउने गर्नुभएको खुलेको छ । जिल्लाका सुरक्षा निकायका अधिकारीसँग निकट सम्बन्ध रहेका उहाँको सिफारिसको गाडी सहजै नाका कट्ने गरेको थियो । प्राप्त जानकारी अनुसार कांग्रेसको उच्च नेतृत्वसँगको सम्बन्धकै कारण तामाङले सहजै सुन तस्करी गरिरहनु भएको थियो । उहाँलाई समानुपातिक तर्फबाट सांसदमा समेत सूचीमा राखेपछि यो आशंकालाई झनै बल पुगेको छ । असोज १७ मा नेपाली कांग्रेस रसुवाले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवारसँगै समानुपातिकका लागि २१ जनाको नाम सिफारिस गरेको थियो । निर्वाचन क्षेत्र नम्बर २ को समानुपातिक कोटाका लागि ६ जनाको नाम सिफारिस भएकोमा तामाङको नाम तेस्रो नम्बरमा थियो ।