चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि

चितवन, ३ साउन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्यटकको आगमनमा वृद्धि भएको छ। पर्यटक आगमन बढेसँगै निकुञ्जले पर्यापर्यटनमार्फत २७ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत आर्थिक वर्षमा कुल दुई लाख ७२ हजार ९२३ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्। अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ३१ हजार ३२९ रहेको थियो।

गत वर्ष निकुञ्ज भ्रमण गर्ने पर्यटकमध्ये सार्क मुलुकका २२ हजार ८८३ र अन्य विदेशी मुलुकका ८८ हजार ६६५ जना रहेका छन्। दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू निकुञ्ज पुग्ने गर्दछन्।

पर्यटकको सङ्ख्या बढेसँगै निकुञ्जको राजस्वमा पनि सकारात्मक प्रभाव परेको छ। गत आर्थिक वर्षमा निकुञ्जले पर्यापर्यटन शीर्षकबाट मात्र रु २७ करोड ६३ लाख ३९ हजार ९५० राजस्व आर्जन गरेको छ। यसका अतिरिक्त काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री र जरिवानालगायतका अन्य शीर्षकहरू समेत गरी कुल रु ३१ करोड एक लाख ६४ हजार ५५१ राजस्व सङ्कलन भएको निकुञ्ज कार्यालयले जनाएको छ।