जनताको मुहारमा कामबाट मुस्कान दिन चाहन्छु : डा.अजयक्रान्ति शाक्य,प्रदेश सांसद उम्मेदवार
काठमाडौँ । बौद्धिक क्षेत्रका प्रभावशाली व्यक्तित्व डाक्टर अजयक्रान्ति शाक्य आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नुभएको छ् । काठमाडौ क्षेत्र नंबर ९ को क बाट डाक्टर शाक्य प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नुभएको हो । सिंगो काठमाडौकै मुहार उज्यालो बनाउने अडानकासाथ नेकपा एमालेवाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका डाक्टर शाक्यले नेकपा एमालेको मूलधारमा बसेर राजनीति गरेको पनि अढाई दशक भैसकेको छ । विशेषत पर्दापछाडि बसेर नेपाली जनताको हर दुःख तथा पीडामा साथ दिएर सक्दो सेवा दिने कार्य डाक्टर शाक्यबाट भएको छ । डाक्टर अजयक्रान्ति शाक्यको जीवनयात्रा सरसर्ती हेर्ने हो भने त्रिवेणी जस्तो छ । काठमाडौको लगन टोलमा डाक्टर शाक्यको जन्म भएको हो । क्षेत्र नंबर ९ कै स्थानीय बासिन्दा र क्षेत्र नंबर ९ का स्थानीय जनताको सुख–दुःखका साथी बौद्धिक व्यक्तित्व हुनुहुन्छ –डाक्टर शाक्य । ४८ वर्षका डाक्टर शाक्यले विद्यालय तहको अध्ययन घर नजिकैको विश्व निकेतन माध्यामिक विद्यालयबाट पूरा गर्नुभएको हो । उहाँ १३ वर्षको कलिलो उमेरमै ‘चेस च्याम्पियन’ बन्नुभएको थियो । १३ वर्षको उमेरमै चेसको राष्ट्रिय खेलाडी बनेर दर्जनौँ पुरस्कार जित्न सफल डाक्टर शाक्य १५ वर्षको उमेरमा चेसको राष्ट्रिय ‘कोचर’ समेत बन्नुभयो । दुई वर्ष कोचरका रुपमा काम गरेका डाक्टर शाक्यलाई १३ वर्षको उमेरदेखि नै कम्युनिष्ट राजनीतिको रंग चढ्ेको थियो । ‘१३ वर्षको उमेरमै म चेसको राष्ट्रिय खेलाडी बनेको थिएँ,’ डाक्टर शाक्यले भन्नुभयो–,‘त्यसैबेला रसियन राजदूतसँग चेस खेल्न दूतावास जान्थेँ । त्यहाँको कम्युनिष्ट वातावरणले मलाई पत्तै नपाई कम्युनिष्ट बनाएछ ।’ डाक्टर शाक्यले अक्टोवर क्रान्ति, विश्वको श्रमिक आन्दोलन आदिका बारेमा पनि दुतावास आवत–जावतकै बेलामा बुझ्ने अवसर प्राप्त गर्नुभएको थियो । टंक कार्की, महेश मास्केलगायतका नेताहरु डाक्टर शाक्यको घर नजिकै बस्थे । उनीहरुसँगको चिनजानले पनि डाक्टर शाक्यलाई कम्युनिष्ट तिरको झुकाव बढ्दै गएको हो । जब डाक्टर शाक्यले विसं २०४० सालमा एसएलसी पास गर्नुभयो त्यसपछि भने डाक्टर शाक्य संगीतमा होमिनुभयो । भर्खर एसएलसी पास गरेका डाक्टर शाक्यको त्यसैबेला टोलटोलमा हुने सांगितिक कार्यक्रममा माग हुन्थ्यो । ड्रमसेट, कंङगोलगायतका बाजाप्रति बढी रुचि राख्ने शाक्यलाई कम्युनिष्ट बन्न त्यो सांगीतिक माहोलले पनि थप ऊर्जा प्रदान गरेको थियो । भर्खर देशमा बहुदल आएको थियो । पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था प्राप्तिका लागि देश नै जुरुक्क उठेका बेला डाक्टर शाक्यले कम्युनिष्टप्रतिको झुकावलाई दवाएर राख्ने कुरै भएन । डाक्टर शाक्य पनि त्यही आन्दोलनमा होमिनुभयो । संगीतका क्षेत्रमा पनि पाइला अघि बढाउँदै गरेका डाक्टर शाक्यले संगीत दिएका पप– एल्वम ‘प्रेम स्पर्स’ २०४८ सालमा बजारमा आयो । त्यसपछि नेपालका ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानले गाएको नेवारी गित ‘छन्त एके धुङ्का’ मा पनि दिएको संगीतले त तहल्का नै मच्चाउन सफलता प्राप्त गरेको थियो । डाक्टर शाक्यका एकल संगीतका चार वटा एल्वम वजारमा आएपछि शाक्य संगीतको क्षेत्रमा पनि अत्यन्त चर्चित बन्नुभयो । ‘व्यक्ति एक आयम अनेक’ भने जस्तै डाक्टर शाक्यले जे–जेमा हात हाल्नुभयो त्यसमा सफलता प्राप्त गर्दै जानुभयो । उसु र मार्सलआर्टको खेलाडी समेत रहेका डाक्टर शाक्यले विसं. २०४६ सालदेखि नै लेखन यात्रालाई पनि अघि बढाउनुभयो । धर्म–संस्कृतिका विषयमा बढी कलम चलाउने शाक्यले ‘द शाक्यज्’, ‘मृत्यु संस्कार’, ‘दशकर्म संस्कार’ जस्ता पुस्तक लेखेर बजारमा ल्याउनुभएको छ । विसं.२०४६ सालको आन्दोलनसँगै राजनीतिमा बढी सक्रिय बनेका डाक्टर शाक्यले पार्टीका विभिन्न कमिटीमा बसेर काम गर्नुभएको छ । जनसाँस्कृतिक मञ्चको केन्द्रीय सदस्य एक कार्यकाल र केन्द्रीय कोषाध्यक्षका रुपमा दुई कार्यकाल विताएका डाक्टर शाक्यले जिफण्टमा योजना आयोगको सदस्यका रुपमा दुई कार्यकाल काम गर्नुभयो । जिफण्टमै विदेश विभागमा रहेर एक कार्यकाल काम गरेका डाक्टर शाक्यले उपत्यका समन्वय समितिको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ । संविधान जारी भएपछि बनेको नेकपा एमालेका प्रभावशाली नेता तथा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रधानमन्त्रीको कार्यालयमा विज्ञान प्रविधि सामाजिक साँस्कृतिक विकास सल्लाहकारका रुपमा काम गरेका डाक्टर शाक्यले वुद्धिज्म्मा विद्यावारिधि गर्नुभएको हो । उहाँले भ–ूगर्भ र भौतिक शास्त्र, अर्थशास्त्र, सामाजिकशास्त्र र संगीतमा स्नातकका साथै तीन वटा विषयमा स्नातकोत्तरको अध्ययन पूरा गरिसक्नुभएको छ । आफूले प्राप्त गरेको ज्ञान र सीपलाई राजनीतिका माध्ययमबाट देशको विकास निर्माणमा खर्च गर्ने अठोटसहित प्रदेशसभामा उम्मेदवार बनेका डाक्टर शाक्यले जनताको मुहारमा मिठा भाषणबाट होइन कामबाट मुस्कान दिने एक मात्र ध्येय रहेको पनि बताउनुभएको छ ।
पछिल्लो समय राजनीति पहुँचवालाहरुको पहुँचभित्र मात्रै रह्यो भन्ने आरोप लाग्ने गरेको छ, तपार्इलाई त्यस्तो लाग्दैन ?
राजनीतिमा लाग्दा केही पाउँछु भनेर लाग्ने होइन् । आफ्नो व्यक्तिगत स्वार्थ लिएर लाग्यो भने त्यस्ता नेता–कार्यकर्ताहरू विकृत हुन्छन् । उनीहरूबाट जनताले धेरै अपेक्षा पनि गर्न सक्दैनन् । तपार्इंले भनेको कुरा एक हदसम्म ठिक पनि छ । तर यस्तो स्वाभाव भएका व्यक्तिका नेता–कार्यकर्ताका सीमित समयका लािग मात्र हुन्छन् ।
राजनीतिका माध्ययमबाट समाज सेवा गर्न, देश र जनताका लागि बलिदान दिन तयार भएर धैर्य पूर्वक राजनीतिमा लाग्नेका लागि त्यो हुँदैन । पार्टीले पनि त्यस्ता व्यक्तिहरूले गरेको कार्यको मूल्याकंन गर्छ जस्तो मलाई लाग्दछ ।
चार वटा विषयमा स्नातक, तीन वटा विषयमा स्नातकोत्तरसँगै विद्यावारिधी गरिसक्नु भएको छ, राजनीति नगरेर त्यही क्षेत्रबाट पनि त देशको सेवा गर्न सकिन्थ्यो होला नि ?
राजनीतिका क्षेत्रबाट मात्र हैन मैले आफ्नो क्षमता र योग्यता अनुसार विभिन्न क्षेत्रबाट पनि देश र जनताका लागि सक्दो योगदान गर्दै आएको छु । मेरो यही योग्यता र क्षमतामाथि विश्वास गरेर नै पार्टीले मलाई टिकट दिएको हो ।
जनताको मुहारमा खुसी छर्न सक्ने क्षमता भएको व्यक्ति डा। अजयक्रान्ति शाक्य नै हो भन्ने यहाँका जनताले राम्ररी बुझेका छन् ।
तपार्इको क्षेत्र विकासको योजना के छ ?
निश्चय पनि, मलाई पार्टीले टिकट दियो । अब माननीय बन्ने हो भनेर लहडमा कुद्ने कुरा हुँदैन । पार्टीले पनि म माथि निकै ठुलो विश्वास गरेर जिम्मेवारी दिएको हो । त्यसैले मैले चुनाव जितेपछि सबै भन्दा पहिला आफ्नो क्षेत्र, त्यसपछि जिल्ला र समग्र देशकै लागि के–के गर्ने सकिन्छ ती योजनाका साथ नै उम्मेदवार बनेको हुँ ।
देशमा अब राजनीतिक क्रान्ति पूरा भएको छ । अब मुलुकलाई समृद्धितर्फ दो¥याउनु पर्ने जिम्मेवारी सबै राजनीतिक दलको काँधमा आएको छ । कुनै दलबाट टिकट लिएर उम्मेदवार बनेपछि केही प्रष्ट योजनाहरू ल्याउन सक्नुपर्छ । मुलुकमा राजनीतिका नाममा धेरै विकृति–विसंगतिहरु भित्रिएका छन् । मुलुक अराजकतातिर उन्मुख भइरहेको हो कि भन्ने अनुभूति जनताले गर्न थालेका छन् । हामीले माथिदेखि तल्लो तहसम्म देखा परेका विकृतिहरुको अन्त्य गर्न जरुरी छ । झन् नयाँ पुस्तामा देशमा देखिएका विकृतिले धेरै नैराश्यता छाइसकेको छ । अधिकांश युवा अवसरका लागि विदेशीन बाध्य भएका छन् । यी सबै कुराको न्युनिकरण गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लान आवश्यक छ । म यसमा दिलोज्यान दिएर लाग्ने छु । हामीले हाम्रो घोषण पत्रमा सर्वै कुरा उल्लेख गरेका छौं।
तपार्इ काठमाडौँको सांस्कृतिक र धार्मिक महत्वको क्षेत्रबाट उम्मेदवार बन्नु हुँदै गर्दा के छ योजना ?
निश्चय पनि काठमाडौँ धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरात्वात्कि महत्वको जिल्ला हो । यहाँका सांस्कृतिक धरोहरको संरक्षण तथा प्रर्वद्धन गर्दै यस क्षेत्रलाई हेरिटेज संरक्षण क्षेत्रका रूपमा स्थापित गर्नेछु । साथै यस क्षेत्रलाई स्मार्ट क्षेत्रका रूपमा विकास गर्नेछु ।
यस्तै काठमाडौँ देशको राजधानी पनि हो । त्यसैले यहाँको विकासले देशको चित्र कोरेको हुन्छ । यही हेरेर समग्र देशको मूल्याङ्कन गरिन्छ । त्यसैले यो क्षेत्रको विकास भनेको देशको विकास हो ।म धेरै भाषण गर्ने, जनतालाई बढी भन्दा बढी आश्वासन दिने र अन्त्यमा केही नगर्ने स्वाभावको व्यक्ति होइन । जति गर्न सकिन्छ त्यति मात्र बोल्नुपर्छ भन्ने मेरो मान्यता छ ।
एक पटक चुनाव जितेपछि आफ्नो रहर पूरा भयो भनेर हिँड्ने हो भने जे भन्दा वा बोल्दा हुन्छ । तर, मेरो त्यो ध्यय नभएकाले सक्ने कामको मात्र आश्वासन दिने हो । हामीले हाम्रो घोषणा पत्रमा उल्लेख गरे वमोजिमका कामहरू मुलुकलाई आर्थिक समृद्धितर्फ लान विशेष योगदान दिनेछु ।
तपार्इले चुनाव जित्ने आधार के छ ?
अहिले वाम गठबन्धन यहाँ मात्र होइन मुलुकभरी नै छ । पहिला एमाले एक्लै लड्दा पनि यो क्षेत्रमा शक्तिशाली नै थियो । त्यसमा अहिले झन् माओवादी पनि थपिएको छ ।हामीले स्थानीय निर्वाचनलाई आँकलन गर्ने हो भने पनि हामी अहिले मुख्य प्रतिस्पर्धी दल नेपाली काँग्रेस भन्दा निकै माथि छौँ ।चुनाव जित्ने मेरो यो पहिलो आधार हो ।
दोस्रो, म यहीको स्थानीय व्यक्ति हुँ । यही क्षेत्रको विद्यालयमा अध्ययन गरेँ । मैले यही क्षेत्रका बाटा–घाटामा बाल्यकाल विताए । मैले यहाँका जनताको दुःख, सुखलाई राम्ररी बुझेको छु । यहाँको धर्म, संस्कृति, रिति–रिवाजका बारेमा जानकार छु । यहाँको विकास कसरी गर्नुपर्छ त्यो पनि राम्ररी थाहा छ । त्यति मात्र होइन, मैले मेरो तर्फबाट निरन्तर रूपमा सक्दो समाजसेवा गर्दै आएको छु । यी सबै मेरा जितका आधार हुन् । यहाँका जनताको मुहारमा खुसी छर्न सक्ने क्षमता भएको व्यक्ति डा। अजयक्रान्ति शाक्य नै हो भन्ने यहाँका जनताले राम्ररी बुझेका छन् । मेरो विज्ञता पनि यहाँको विकासमा सहयोगी बन्ने अपेक्षा गरेको छुृ । त्यसैले चुनाव जित्नेमा ढुक्क छु । मैले मात्र होइन प्रदेशको क र ख दुवैबाट शानदार विजयी प्राप्त हुन्छ भन्नेमा ढुक्क छौँ ।