नेपाल क्यान्सर अस्पताललाई जापानी सहयोग

काठमाडौँ । जापानले हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरलाई चिकित्सक सामग्री उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा काठमाडौँस्थित जापानी राजदूतावास र अन्तर्राष्ट्रिय सरोकार केन्द्र (आईसीसी)बीच एक सम्झौता भएको छ । सम्झौतामा अन्तर्राष्ट्रिय सरोकार केन्द्रका अध्यक्ष प्रा.डा. अञ्जान शाक्य र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापत्रमा अल्ट्रासाउण्ड इको कार्डियोग्राफी, ईआरसीपी, ब्रोन्कोस्कोपी मेसिशनलगायतका उपकरण दिने उल्लेख छ । ललितपुको हरिसिद्धिमा सञ्चालित सो अस्पताललाई दिइने उपकरण गैर नाफामुलक संस्था आइसीसीमार्फत दिन पाएकोमा आफूलाई खुशी लागेको राजदूत ओगावाले जानकारी दिनुभयो । ‘जापानीदूतावासले गरेको यो सहयोगले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरलाई अझ धेरै विरामीलाई उपचारमा सहज होस भन्ने आशा लिएको छ,’ उहाँले भन्नुभयो, ‘सन् २०११ मा स्थापना भएको आइसीसीले यस्ता सामाजिक कार्यहरु अझै गर्न सफल होस् । सोही संस्थामार्फत हामीले क्यान्सर अस्पताललाई सहयोग गर्न पाएकोमा खुशी लागेको छ ।’
दूतावासले करिब ८६ लाख बरावरको उपकरण सहयोग गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा आर्ईसीसीका अध्यक्ष प्राडा. शाक्यले आफ्नो संस्थाले यस्ता खाले सामाजिक कार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरले गरिब निमुखा बिरामीहरुका लागि अझै बढी काम गर्न सकोस् भनेर आफ्नो संस्थाले अस्पताललाई आवश्यक उपकरण उपलब्ध गराएको जानकारी दिनुभयो । ‘हाम्रो पहलमा दूतावसले गरेको यो सहयोगले सो अस्पतालबाट प्रत्येक महिना सयौं जनाले उक्त सेवा प्राप्त गर्न सक्नेछन्,’ डा.शाक्यले भन्नुभयो, ‘अस्पतालले यो परियोजनालाई भरपुर उपयोग गर्ने अपेक्षा गरेका छौँ ।’उहाँले दुतावासले गरेको सहयोग उल्लेखनीय भएको पनि बताउनुभयो ।
कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष तथा क्यान्सर रोगका विशेषज्ञ डा. सुदिप श्रेष्ठले आईसीसीको पहलमा दूतावासले गरेको सहयोगको प्रसंशा गर्दै भन्नुभयो, ‘हामी यो सहयोगबाट प्रभावित भएका छौँ । क्यान्सरका रोगीहरुको थप उपचारका लागि यो अनुदानले हामीलाई थप सहयोग पुग्नेछ ।
सन् २०११ म स्थापना भएको अन्तर्राष्ट्रिय सरोकार केन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग मिलेर विभिन्न चेतनामूलक सामाजिक कार्य गर्दै आएको छ ।