बाँसैबाँसबाट नाटकघर निर्माण

काठमाडौं । भएका थियटर बन्द भइरहेको बेला राजधानीमा अर्को थियटर खुलेको छ। थापागाउँमा सञ्चालनमा आएको कुञ्ज नाटकघरको शताब्दी पुरुष सत्यमोहन जोशी र राजनीतिज्ञ प्रदीप ज्ञवालीले संयुक्त रूपमा उद्घाटन गरे। बाँसैबाँसका सामग्रीबाट कुञ्ज नाटकघर निर्माण भएको छ। उक्त नाटकघरमा आकर्षक बनोट तथा आर्टका अनेक नमुना पनि समावेश गरिएका छन्।
उद्घाटनपछि चिनियाँ साहित्यकार लु सुनको चर्चित कृतिमा आधारित नाटक ‘म्याड म्यान्स डायरी’ पनि मञ्चन गरिएको थियो। नाटकमा म्याड म्यानको भूमिका सुदाम सिकेले गरेका थिए। सुदामको एकल अभिनय रहेको नाटकको निर्देशन चे शंकरले गरेका हुन्। उनले यसअघि इल्युजन, कोही किन बर्बाद होस्, एनिग्मा, लुक ब्याक इन, एंगर र एकलव्यको अन्तिम टेक नाटक निर्देशन गरिसकेका छन्।
नाटक हेरेपछि जोशीले लु सुनको सिर्जना चिनियाँ परिवेशसँग मिल्ने भए पनि हाल नेपाली सन्दर्भमा पनि मिल्दोजुल्दो रहेको बताए। चिनियाँ नेता माओले समेत लुसुनको साहित्यिक क्षमताको प्रशंसा गरेका कुरा उनले बताए। ज्ञवालीले नाटकमा अभिनय जीवन्त रहेको बताउँदै ध्वनि, प्रकाश र अभिनयको संयोजनले नाटक उत्कृष्ट रहेको बनाए। नाटक फागुन १६ सम्म चल्नेछ।
साहित्य, सिर्जना र रंगमञ्चको क्षेत्रमा नयाँ काम गर्न सुरु गर्न लागेकाले यसमा सबैको साथ र हौसला आवश्यक पर्ने नाटकघर सञ्चालक कमल ढकालले बताए।