संघीय प्रतिनिधि सभाको भूमिकालाई अझ उच्च, मर्यादित र विश्वसनीय बनाउन लाग्छु —कृष्णबहादुर महरा, सभामुख, संघीय संसद्


वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको माओवादी नेता कृष्णबहादुर महरा संघीय संसद्को सभामुख बन्नुभएको छ । उहाँका विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले समेत उम्मेदवार नबनाएपछि उहाँ निर्विरोध बन्नुभएको हो । उहाँले आफूले सबै राजनीतिक दललाई सहमतिमा ल्याएर आर्थिक एजेण्डालाई प्राथमिकता दिदैँ अघि बढ्ने पनि बताउनुभएको छ । त्यसैगरी उहाँले सरकारले ल्याएका नीति, कार्यक्रम र बजेटलाई सबै सांसद्हरुको भावनालाई बुझेर छलफल गर्ने र नीति, कार्यक्रम र बजेटलाई सफल बनाउने आफ्नो जिम्मेवारी रहने पनि बताउनुभएको छ । महरासँग मैत्रिन्युजका लागि मोहन बास्तोलाले गरेको कुराकानीः

सबैभन्दा पहिला तपाईँ सर्वसम्मत सभामुख निर्वाचित हुनुभएकोमा बधाई छ ?

धन्यवाद, म यसमा खुशी छु, हर्षित छु । म संघीय प्रतिनिधि सभाको भूमिकालाई अझ उच्च, मर्यादित र विश्वसनीय बनाउनका लागि मेरो ध्यान केन्द्रित गर्ने छु । यसका लागि भूमिका खेल्ने छु ।

तपाईँ सभामुख निर्वाचित हुनुभएको छ । सबै राजनीतिक दलले आर्थिक एजेण्डालाई अघि सारेका छन् । वाम गठबन्धन जो अहिले सरकारको नेतृत्व गरिरहेको छ । यसले त चुनावी एजेण्डा नै आर्थिक समृद्धि भनेको छ । यो पूरा गर्न चाहिँ तपाईँको भूमिका कस्तो रहन्छ ?

निश्चितै रुपमा मेरो भूमिका रहन्छ नै । हो तपाईँले भने जस्तै सबै राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणपत्र नै आर्थिक समृद्धिको नारालाई प्राथमिकता दिएका छन् । अब एक ढंगले भन्ने हो भने राजनीतिक एजेण्ड सकिएको छ । अबको एजेण्डा भनेको नै आर्थिक समृद्धिको एजेण्डा हो । त्यसैले यसमा मेरो भूमिका स्वाभाविक रुपमा रहने नै छ । सरकाले यसको नेतृत्व गर्छ । सरकारले ल्याएका नीति, कार्यक्रम र बजेटलाई सबै सांसद्हरुको भावनालाई बुझेर छलफल गर्ने र नीति, कार्यक्रम र बजेटलाई सफल बनाउने मेरो जिम्मेवारी रहनेछ । त्यसमा म सकारात्मक भूमिका खेल्नेछु । संघीय संसद्को प्रतिनिधि सभाले त्यसमा राम्रो भूमिका खेल्यो भन्ने सन्देश म दिनेछु । मेरो भूमिकाप्रति कसैले पनि आशंका नगर्ने गरी म काम गर्नेछु ।

मधेसवादी दल पनि वर्तमान सरकारमा सहभागी हुने भन्दै आएका छन् । यद्यपि उनीहरुले पहिलो एजेण्डा नै संविधान संशोधन भनेका छन् । यो उनीहरुको माग पूरा गर्न पनि त समस्या होला नि । यसमा तपाईँको भूमिका ?

यो पद निकै गौरवपूर्ण पनि छ र निकै चुनौतिपूर्ण पनि छ । नयाँ संविधान बनेपछि एक ढंगले भन्ने हो भने राजनीतिक बहस टुंगिएको छ । नेपाली जनताका सबै आस्था, विचार भावना केन्द्रित हुने ठाउँ भनेको प्रतिनिधिसभा नै हो । प्रतिनिधिसभामा जति पार्टीहरुले प्रतिनिधित्व गर्छन् वा प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने दलहहरुको समेत भावनालाई प्रतिनिधित्व गर्दै सबैका भावनालाई राष्ट्रिय समहतिमा ल्याउने, साझा भावनामा ल्याउनेमा मेरो भूमिका रहन्छ । त्योसँगै शुसासन र समृद्धि ल्याउने गरी हामी सबै राजनीतिक दलहरुले आवश्यकता अनुसार संविधानलाई परिमार्जन गर्ने, संशोधन गर्ने, विकशित गर्ने काम हुन्छ । त्यसमा मैले अघि पनि भने मेरो भूमिका सकारात्मक रहन्छ ।

तपाईँले अघि पनि भन्नुभयो । यो तपाईँको पदक निकै गौरवपूर्ण र त्यत्तिकै चुनौतिपूर्ण पनि छ । सबैको भावनाको प्रतिनिधित्व गर्ने गरी तपाईँ भूमिका खेल्नुहुन्छ होइन त ?

अवश्य पनि प्रतिनिधिसभा भनेको जनताको सार्वभौमसत्ता प्रयोग गर्ने सर्वोच्च अंग हो । मैले अघि पनि भने– यहाँ जनताका सबै विचार, आस्था, भावना र मनोविज्ञान केन्द्रित हुन्छ । यसपटकको प्रतिनिधिसभा नयाँ संविधानमा आधारित छ । यसमा समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेका छौँ । जनताको कुनै हिस्सा मनोविज्ञान अहिले छुट्दैनन् । महिला, जनजाति, मधेस सबै क्षेत्रको प्रतिनिधित्व सुनिश्चित हुने भएकाले जनताका सबै भावना र मनोविज्ञान केन्द्रित हुन्छ । जनताको सार्वभौमसत्ता प्रयोग गर्नसक्ने सर्वोच्च थलोका रूपमा यसलाई लिनुपर्छ ।्
समस्याहरू केन्द्रित गर्ने ठाउँ पनि यही हो । छलफलको उचित वातावरण निर्माण गर्ने र समाधान निकाल्ने ठाउँ पनि यही हो । यसकारण अबका दिनमा नयाँ संविधानको नयाँ अवधारणाअनुसार प्रतिनिधिसभालाई विकास गर्नेछौँ । संघीयता कार्यान्वयन, नयाँ कानुन, नीतिहरू निर्माण गर्नुपर्नेछ । यसैअनुसार संसद् अघि बढ्नेछ ।

तपाईँ त ०४८ सालदेखि नै संसद्को प्रतिनिधित्व गरेको व्यक्ति । यस अघि पनि निकै महत्वर्पू जिम्मेवारी पूरा गर्नुभएको व्यक्ति । अब तपाईँको यो कार्यकाल सफल होला भनेर जनताले अपेक्षा गर्ने आधार पनि त होला नि ?

मैले निकै गौरवपूर्ण बेलामा यो जिम्मेवारी सम्हालेको छु । देशमा अहिले संघीयता लागु भएको छ । यसलाई ठीक ढंगले कार्यान्वय गर्नु पर्ने चुनौति हाम्रा सामू छ । नेपाली जनताले आफ्नै संविधान हो भन्ने अनुभूति दिने गरी काम गर्नु पर्ने अर्को चुनौति पनि हामीसँग छ । हामी यो नेपाली जनताको सपना, चाहना र भावना पूरा गर्ने गरी काम गर्ने छौँ ।

नेपाली कांग्रेस प्रमुखप्रतिपक्षी दल छ । अहिले यो दललाई पनि सँगै लिएर जानुपर्ने जिम्मेवारी छ । फेरि कांग्रेसले तपाईँको विरुद्धमा कुनै पनि उम्मेदवार नउठाएर तपाईँको निष्पक्ष भूमिका खोजेको छ । यो पूरा गर्न न चुनौति होला नि ?

सबैभन्दा पहिला त मलाई सर्वसम्मत बनाउने सबै दललाई धन्यवाद दिन चाहन्छु । अर्को कुरा संसद् भनेको सम्पूर्ण सांसदको संगम थलो हो । सत्तापक्ष र प्रतिपक्ष भन्ने संसदीय व्यवस्थाको पक्ष हो नै, तर सत्तापक्षको काम–कारबाहीलाई प्रतिपक्षले रचनात्मक ढंगले कुरा उठाउने र रचनात्मक सुझाबलाई सत्तापक्षले आत्मसात् गर्ने नै संसदीय परम्पराको राम्रो उदाहरण हो । यो वातावरण सिर्जना गर्न मैले सम्भव देखेको छु । यो संसद्मा भएका सबै दल, सबै माननीय सांसदको विचारमाथि छलफल गर्ने र समाधान गर्ने थलो हो । यस्तो वातावरण बनाउन म लाग्नेछु ।
अहिले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी सहभागितासहितको नयाँ संविधान बनेको छ । त्यसकारण नयाँ संविधानमा आधारित भएर बनेको प्रतिनिधिसभा हो । यो हिजोको जस्तो होइन ।
संसद्भित्रको अभ्यास, प्रक्रियागत विधिको दृष्टिकोणले पनि यो नितान्त नयाँ परिवेश हो । यस्तो अवस्थामा नयाँ भूमिकासहितको प्रतिनिधिसभाको सभामुख हुन पाउँदा म खुसी छु । केही राजनीतिक उपलब्धिसहितको संविधान र संविधानमा आधारित प्रतिनिधिसभा बनेको हुनाले यसको नेतृत्व गर्ने भूमिकामा आफूलाई पाउँदा खुसी छु ।