हामी उत्ताउलो होइन रचनात्मक प्रतिपक्षी बन्छौँ —बद्री पाण्डे,केन्द्रीय सदस्य, नेपाली कांग्रेस

नेपाली काँग्रेसका युवा नेता वद्री पाण्डेले सरकारलाई रचनात्मक सहयोग गर्न आफुहरु तयार रहेको बताउनु भएको छ । उहाँले सरकारलाई हौसिएर भन्दा पनि सक्ने कुरा मात्र बोल्न पनि सुझाव दिनुभयो । अहिलेका मन्त्रीहरु बढी बोल्ने काम क मगर्ने भएकाले समस्या आएको भन्दै उहाँले थोरै बोल्न धेरै काम गर्न पनि सुझाव दिनुभयो । राम्रो काम गरे सरकारको सधैँ समर्थन गर्ने उहाँको भनाई छ । पाण्डेसँग मोहन बास्तोलाले गरेको कुराकानीः
संघीय र संसद्को निर्वाचनपछि काँग्रेस निकै कमजोर बन्यो, यसको समीक्षा काँग्रेस भित्र भएको छ कि छैन ?
हामीले यो विषयमा विभिन्न जोडकोणाबाट समीक्षा गरेका छौँ । केही दिन अघि मात्र सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा पनि यही विषयमा निकै लामो छलफल भयो । हामीले यसरी समीक्षा गर्दा केही कुरामा ध्यान दिन जरुरी छ भन्ने पनि ठानेका छौँ । सबै भन्दा पहिला त हामीले आन्तरिक सुदृढिकरणमा ध्यान दिन जरुरी छ । जनताले पनि हामीलाई तिमीहरु आन्तरिक संगठन निर्माणमा कमजोर भयौँ है भनेर यो निर्वाचनमा झकझक्याउनु भएको छ । हामीले अत्यन्तै गम्भीर भएर यसमा लाग्न आवश्यक छ ।
तर, नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक भएपछि काँग्रेस कमजोर बन्नु त स्वाभाविक नै थियो नि होइन ?
हो, हामीले यो विषयमा पनि केन्द्रित भएर छलफल गर्र्यौ । नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक ठाउँमा बसेर चुनाव लडेका थिए । त्यस्तो अवस्थामा हामी कमजोर बन्नु स्वाभाविक हो । त्यसैले अब हामीले मुख्य गरेर दुई ओटा कुरामा ध्यान दिन जरुरी छ । पहिलो भनेको दुई ठूला कम्युनिष्ट पार्टीसँग निर्वाचन लडेका थियौँ । यस्तो बेलामा हामी केही कमजोर बन्नु अस्वाभाविक होइन । आगामी दिनमा अझ ती दुई ठूला दल एक हुँदैछन् । उनीहरु एक भएपछि हामीलाई झन् चुनौतिपूर्ण हुने छ । त्यसका लागि हामीले हामी आफैँलाई पनि करेक्शन गर्न जरुरी छ । दोस्रो भनेको हाम्रो आन्तरिक संगठन बलियो बनाउने, विगतमा भएका कमिकमजोरीलाई हटाएर अघि बढ्ने, आफूलाई सुदृढ, प्रभावकारी र बलियो बनाउने गरी संगठनका संरचना बनाउने लगायतका कुरामा पनि ध्यान दिनुपर्छ । आगामी दिनमा पार्टीले अझ शक्ति आर्जन गरेर जनाने हो भने हामीलाई आगामी दिन अझ चुनौतिपूर्ण हुने निश्चित छ । अहिले केन्द्रीय तहदेखि क्षेत्रीय र तल्लो तहसम्म कार्यकर्तामा छटपटी छ । यसलाई पनि समाधान गरेर अघि बढ्नु पर्ने चुनौति अहिले काँग्रेसलाई छ । निष्ठावान कार्यकर्ताको मूल्याङ्कन गरेर संगठन सुदृढिकरण गरे हामी अघि बढ्नु नै अहिलेको सबै भन्दा उत्तम विकल्प हो । बैठकमा पनि हामीले यो विषयमा निकै मिहिन ढंगले छलफल र बहस गरेका छौँ । त्यो बहस र छफलले पार्टीलाई सुधार गर्नका लागि भित्रैबाट एक खालको चेतना पैदा भएको महशुस पनि हामीले गरेका छौँ ।
सधैँ सत्तामा बसिरहेको काँग्रेसलाई अबको पाँच वर्ष त निकै कठिन होला नि ?
यी अरुले आरोप लगाउने कुरा भए । तर, काँग्रेस सत्ता बाहिर बस्ने नसक्ने पार्टी होइन । पञ्चायत ढाल्न, लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र नेपालको राजनीतिलाई सहि दिशामा अघि बढाउने हिजो पनि काँग्रेसको भूमिका थियो, आज पनि छ र भोलि पनि रहिरहने छ । हामी अहिले पनि मूल राजनीतिमा कतै चुकेका छैनौँ । पछिल्लो समय हाम्रा सभापतिको नेतृत्वमा सरकार गठन हुँदा दुई नम्बर प्रदेशमा आन्दोलनको आगो बलिरहेको थियो । त्यहाँ शक्तिशाली दलहरु आन्दोलनमा थिए । ती सबै दललाई पनि समेटेर स्थानीय निर्वाचन हुँदै प्रदेश र संघीय निर्वाचनमा उत्साहपूर्वक सहभागी हुने वातावरण काँग्रेसले नै गरेको थियो । हामीले त्यो तथ्यलाई पनि भुल्नु हुँदैन ।
संविधान पनि नेपाली काँग्रेस नेतृत्वको सरकार रहेकै बेला जारी भएको हो । संविधान जारी हुँदै गर्दा यो संक्रमण काल कति समयसम्म गुज्रिने हो भन्ने धेरैले आशंका गरेका थिए । तर, ती सबै आशंकालाई चिर्दै काँग्रेसकै अगुवाईमा अहिले देश संविधान पूर्ण कार्यान्वयनको चरणमा अघि बढेको छ । काँग्रेसको अगुवाई कै कारण प्रदेश निर्वाचन, संघीय निर्वाचन, स्थानीय निर्वाचन सम्पन्न भएसँगै देश अहिले स्थीरताको दिशामा अघि आधार खडा गरेका छौँ । यसकारण पनि हामी राजनीतिक कारणले सफल भएका छौँ । हामीले कमजोर भयौँ भनेर दिल खुम्च्याउनु पर्ने केही कारण छैन । हामीले गौरव गर्ने नै भूमिका खेलेका छौँ ।
तर, गणितीय हिसावमा त काँग्रेस कमजोर देखियो नि, होइन ?
हो, हामी गणितीय हिसावमा भने केही पछि परेका छौँ । त्यसैले यसलाई सुधार गर्नका लागि हामीले हाम्रो कार्यशैली सुधार गर्नु जरुरी छ । हामीले संघ र प्रदेशको निर्वाचमा पनि धेरै कुराको ख्याल गरेको भए वामगठबन्धनको बावजुद पनि नतिजा यो भन्दा राम्रो आउन सक्ने थियो होला भन्ने अनुमान गर्न सक्छौँ । म अहिले पनि ढुक्कका साथ भन्न सक्छु । हामीले काँग्रेसलाई केही करेक्शन गरेर अघि बढ्ने हो भने आगामी पाँच वर्षपछिको निर्वाचनमा निकै राम्रो पोजिशनमा लैजान सक्छौँ ।
भनेपछि अब सत्ता बाहिर बसेर नै काँग्रेस सुधार्ने प्रयासमा तपाईँहरु लाग्नु हुन्छ ?
सत्ता बाहिर र भित्र भन्ने कुरा दलीय व्यवस्था वा लोकतान्त्रिक व्यवस्थाको एउटा निकै राम्रो उदाहरण हो । यसलाई यसैगरी लिनु पर्दछ । दलीय व्यवस्थामा कुनै पनि दल सत्तामा र बाहिर पनि बस्न तयार हुनुपर्छ भन्ने कुराको उदाहरणका रुपमा पनि मैले यसलाई लिएको छु । सरकारको भूमिकामा लोकतान्त्रिक दलहरु रहेन भने पनि निकै उत्साहका साथ प्रतिपक्षको भूमिकामा पनि रहनुपर्छ भन्ने उदाहरणका रुपमा समेत यो अवस्थालाई लिनुपर्छ भन्ने मेरो मान्यता छ ।
अहिले हामी प्रमुख प्रतिपक्षी दलका रुपमा छौँ । मेरो विचारमा हामीले प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्नुपर्छ । या भयो भने मुख्य गरेर दुई ओटा कुरामा प्रतिपक्षले खवरदारी गर्न आवश्यक हुन्छ । पहिलो भनेको सत्ता पक्षलाई गलतबाटोमा जानबाट रोकिरहने अर्थात त्यसका लागि निरन्तर दबाब सिर्जना गरिरहने अनि दोस्रो चाहिँ हामीले प्रतिपक्षमा रहेर सकारात्मक विधिको विकास गर्ने । जसले गर्दा आगामी दिनमा हामी सत्तामा पुग्दा पनि प्रतिपक्षलाई त्यहि भूमिकामा बस्न बाध्य बनाउन सक्छौँ । अहिले हामीले सकारात्मक प्रतिपक्षको भूमिका खेल्यौँ भने त्यो पछिका प्रतिपक्षीलाई पनि सकारात्मक भूमिका खेल्नका लागि नजिर बस्छ ।
प्रतिपक्षी भएर पनि तपाईँहरुको जिम्मेवारपूर्ण भुमिका रहन्छ ?
अवश्य, प्रतिपक्षमा जाने वित्तिकै उत्ताउलो बन्नुपर्छ भन्ने होइन । प्रतिपक्षमा बसेर पनि रचनात्मक भूमिका खेल्नुपर्छ भन्ने काँग्रेसको पहिलादेखिकै मान्यता हो । म त भन्छु– अझ प्रतिपक्षमा बसेपछि उच्च महत्वकाक्षांका साथ रचनात्मक भूमिकासहित काम गर्नुपर्छ । हाम्रो पार्टी नेपाली काँग्रेस त्यही भूमिकामा अघि बढ्छ भन्नेमा म विस्वस्थ छु ।