हजारौं आप्रवासी अमेरिकातर्फ

 

मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रलाई दिइँदै आएको सहायता रकम कटौती गरिने चेतावनी दिएका छन्  । होन्डुरसका नागरिक अवैध आप्रवासीका रूपमा अमेरिका प्रवेश गर्न ठूलो समूह ९क्याराभान० बनाएर सीमातर्फ अघि बढेपछि ट्रम्पको यस्तो भनाइ आएको हो  ।

संयुक्त राष्ट्रसंघले ७ हजारभन्दा बढी मानिस अमेरिकाको सीमातर्फ अगाडि बढिरहेको जनाएको छ । मेक्सिकोमा पहिल्यैदेखि अमेरिका प्रवेशको मौका छोपेर बसेकासमेत अहिले क्याराभानमा सामेल भएका छन् ।

ट्रम्पले अमेरिकाको सीमा छेउमै आउन लागेको क्याराभानका बारेमा दिनहुँ ट्वीट गरी अमेरिकी सीमा बललाई सचेत बनाइएको बताएका छन् । उनले क्याराभानमा सामेल मानिस ‘आपराधिक’ भएको उल्लेख गर्दै कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेका छन् । ‘हामी अब ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरलाई दिइआएको वैदेशिक सहायता पूरै वा आंशिक कटौती गर्नेछौं, र त्योबाहेक हामीसँग अर्को विकल्प छैन,’ ट्रम्पले भनेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय चुनावमा समेत आप्रवासीविरोधी नीतिको चर्को वकालत गरेका कारण राष्ट्रपति ट्रम्पलाई फाइदा पुगेको थियो । अहिले यही नोभेम्बरमा हुने मध्यावधि चुनावमा पनि यही मुद्दा प्रबल रूपमा उठ्ने देखिएको छ । ‘दुर्भाग्यवस, मेक्सिकोको प्रहरी र सैनिकले अमेरिकाको दक्षिणी सीमातर्फ अगाडि बढेको क्याराभानलाई रोक्न अक्षम भएजस्तो देखिँदै छ । अपराधीहरू र अपरिचित मध्यपूर्वका मानिसको पनि यहाँ घूसपैठ छ,’ उनले भने ।

मेक्सिकोका गृहमन्त्री अल्फन्सो नाभारेटले आफ्नो मुलुक कुनै पनि सरकारले उक्साएको आधारमा उत्तेजित नहुने स्पष्ट गर्दै संवादका लागि निरन्तर आग्रह गरिने बताए । मेक्सिकोका अधिकारीले ग्वाटेमालासँगको सीमानदीमा अलपत्र परेका आप्रवासी रोक्न आफ्नो मुलुकले भरमग्दुर प्रयास गरेको उल्लेख गर्दै उनीहरू नदीमा जोखिम मोलेर मेक्सिको प्रवेश गरेका जनाएका छन् । एक मेक्सिकन अधिकारीले सोमबार अबेर सयौं होन्डुरसबासीलाई आप्रवासीका रूपमा मेक्सिको प्रवेश गर्न दिइएको बताए ।

यो क्याराभान दक्षिण मेक्सिकोको चियापास हुँदै उत्तरी मेक्सिकोतर्फ अघि बढेको अधिकारीले बताएका छन् । उनीहरूमध्ये धेरैजसो खाली खुट्टै हिँडेका वा बाटोमा भेटिने कार र ट्रकमा चढेका थिए । कतिपयका खुट्टामा प्लास्टिकका जुत्ता वा चप्पल थिए ।

अधिकारकर्मीले करिब तीन हजार किलोमिटरको यो दूरी छिचोल्न उनीहरूलाई करिब एक महिना लाग्ने बताएका छन् । ‘हामीलाई प्रहरीले पक्राउ गर्ने हो कि भन्ने केही डर लागिरहेको छ । तर यदि उनीहरूले हामीलाई स्वदेश फर्काए भने पनि हामी प्रयत्न जारी राख्नेछौं,’ नोमी बोबाडिल्लाले भनिन् । ३९ वर्षीया बोबाडिल्ला होन्डुरसको सान पेड्रो सुलामा सरसफाइको काम गर्थिन् । उनी हिँड्न थालेको १३ दिन भइसक्यो ।

‘मेक्सिकोले राम्रो व्यवहार गर्दैन भन्ने हामीलाई राम्रैसँग थाहा छ, र उनीहरूले हामीलाई होन्डुरस फर्काइदिन पनि सक्लान् । साथै, हामीलाई यहाँका लागूऔषध तस्करले अपहरण र हत्या पनि गर्न सक्नेबारे हामीलाई थाहा छ,’ अर्का आप्रवासी हुँवा फ्लोरेले भने, ‘तर हाम्रो देशमा योभन्दा अझ बढी त्रास छ, त्यसैले हामीले यसलाई निरन्तरता दिएका छौं ।’

आप्रवासीले सामना गर्नुपर्ने खतरा गत सोमबार नै देखिएको थियो । क्याराभानमा सहभागी एक २५ वर्षीय व्यक्तिको हत्या भएको छ । अधिकारकर्मीले आप्रवासीमाथि मेक्सिकोले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।

धेरैवटा अधिकारवादी समूहले मेक्सिको सरकारले आप्रवासीलाई गैरकानुनी थुनामा राखेको र कानुनतस् मेक्सिको प्रवेश गर्न वा निर्वासन चाहेका आप्रवासीलाई पक्राउ गरी मानवअधिकारको गम्भीर उल्लंघन गरेको बताएका छन् ।

मेक्सिकोको नयाँ गठन हुने सरकारमा प्रस्तावित विदेशमन्त्री मार्सेलो एब्रार्डले आप्रवासी नीतिमा महत्त्वपूर्ण परिवर्तन गर्ने बताएका छन् । आगामी डिसेम्बर १ मा वामपन्थी रुझानका आन्द्रेस मानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिको पद बहाली गर्दै छन् । उनले मध्यअमेरिकामा लगानी वृद्धिमार्फत आप्रवासीको प्रवाहमा न्यूनीकरणका लागि पहल गरिने बताए ।

केही अधिकारवादीले ट्रम्पले क्याराभानलाई राजनीतिक लाभका लागि प्रयोग गरिरहेको आरोप पनि लगाएका छन् । ‘ट्रम्पलाई क्याराभानको डर होइन, उहाँले कंग्रेसमा विजयी हुन क्याराभानको प्रयोग गरिरहनुभएको छ,’ गत अप्रिलमा अर्को क्याराभानको आयोजना गरेका अधिकारकर्मी इरिनिओ मुजिकाले भने ।

उक्त क्याराभान पनि ट्रम्पका लागि टाउको दुखाइ भएको थियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले क्याराभानका केही आयोजकको राजनीतिक महत्त्वाकांक्षा रहेको भन्दै भत्र्सना गरेका छन् ।