समयमै सचेत हुनसके क्यान्सरबाट जोगिन सकिने

Maitrinews

काठमाडौँ । समयमै सचेत हुनसके प्राणघातक क्यान्सर रोग लाग्नबाट बच्न सकिने भएकाले सबैमा सचेतना जगाउनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । बर्सेनि हजारौँ मानिसको ज्यान लिइरहेको र हजारौँ मानिसलाई पीडित बनाएको क्यान्सर रोगबाट बच्न सबै जिम्मेवार हुनुपर्ने बेला आएको छ ।

 


नेपाल वुमन चेम्बर र नेपाल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा आयोजित स्तन क्यान्सर रोकथाम विषयक कार्यक्रमका सहभागी विज्ञहरुले क्यान्सरबाट जोगिन सबै सचेत हुनुपर्नेमा जोड दिनु भएको हो ।


कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्न नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्ने बताउनुभयो । उहाँले आम नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील हुनुपर्ने र क्यान्सरजस्ता घातक,यसका लागिधेरै स्रोतसाधान चाहिने भएकाले सरकारले स्वास्थ्य बीमा नीति अवलम्बन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।


नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठले क्यान्सर रोगी उपचारका लागि अब विदेश जान नपर्ने गरी सबैखाले सेवा एकै ठाउँमा उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले अस्पताललाई प्रविधियुक्त बनाइएकोले क्यान्सर रोगीले सजिलै उपचार गर्न पाउने बताउनुभयो ।
नेपाल वुमन चेम्बरका अध्यक्ष डा. अन्जान शाक्यले रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नै नदिन समयमै सचेत हुन आम नेपालीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले स्तन क्यान्सर महिला र पुरुष दुवैलाई हुने भएकाले क्यान्सरबारे जानकारी लिनुपर्ने,त्यसबारे थाहा पाइराख्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष डा. शाक्यले अहिले पनि सबै ठाउँका जनता क्यान्सरप्रति सचेत हुन नसकेको अवस्था रहेकाले देशव्यापीरुपमा ,देशका कुना कुनामा क्यान्सरसम्बन्धी जनचेतना जगाउन आवश्यक भएको बताउनुभयो ।
उहाँले कामकाजी र व्यवसायिक महिलाको क्यान्सर रोगथाम तथा जाँचको चेतना फैलाउन ठूलो भूमिका रहने बताउँदै क्यान्सरसँग लडिरहेका व्यक्तिहरुको सहारा समूहमा महिलाले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।


कार्यक्रममा नेपाल वुमन चेम्बर स्वास्थ्य विभागका संयोजक तथा नेपाल क्यान्सर अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठले कार्यक्रमको परिकल्पना तथा व्यवस्थापन गर्नुभएको थियो । उहाँले नेपाल वुमन चेम्बरका सदस्यहरुको स्वास्थ्य परीक्षण गर्दा ५० प्रतिशत छुट दिइने जानकारी दिनुभयो ।
अस्पतालका मेडिकल निर्देशक डा. विजेशराज धिमिरेले नेपाल क्यान्सर अस्पताल र नेपाल चेम्बर अफ कमर्सले भविष्यमा अझ नजिकिएर सामाजिक कार्य गर्ने बताउनुभयो ।


कार्यक्रमको दोस्रो सत्रमा अस्पतालका सर्जिकल अन्कोलोजी विभाग प्रमुख डा. कपेन्दशेखर अमात्यले स्तन क्यान्सरका बारेमा सहभागीहरुलाई प्रस्तुतिसहित विशेष जानकारी दिनुभएको थियो ।
नेपाल क्यान्सर अस्पतालले क्यान्सर भए नभएको तत्काल पत्ता लगाउने डिजिटल मेमोग्राम ल्याएको छ । के कारणले क्यान्सर हुन्छ भनी जान्न आवश्यक छ । क्यान्सर भए नभएको थाहा पाउन कम्तीमा वर्षको एक पटक स्केनिङ गर्नुपर्नेमा क्यान्सर विज्ञहरुले जोड दिनुभएको छ ।
कार्यक्रममा स्तन क्यान्सरको निदान, रोकथाम र उपचारकोे जनचेतना अभिबृद्धिका लागि समाजका अगुवा महिलाहरुले खेल्नुपर्ने भूमिकामा प्रकाश पारिएको थियो ।