गौतम गाम्भिरले किन लिए क्रिकेटबाट सन्यास ?

Maitrinews

 

काठमाडौं । भारतीय टेस्ट ओपनरमध्येमा सर्वाधिक रन बनाउने तेस्रो नम्बरका खेलाडी गौतम गाम्भिरले सबैखाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । मंगलबार साँझ सन्यासको घोषणा गरेपछि २०१६ नोभेम्बरमा राजकोटमा इङ्ल्यान्डविरुद्ध खेलेको टेस्ट उनको करियरको अन्तर्राष्ट्रिय खेल बन्यो । उक्त टेस्टको पहिलो इनिङमा २९ रन बनाएका गाम्भिरले दोस्रो इनिङमा खाता खोल्न सकेका थिएनन् । डिसेम्बर ६ मा रणजी ट्रफीअन्तर्गत आन्ध्र प्रदेशविरुद्धको खेलमा दिल्लीको टोलीबाट खेलेपछि उनी खेलाडीका रुपमा मैदान उत्रिने छैनन् ।
१२ वर्ष लामो टेस्ट करियरमा गाम्भिरले ९ शतक र २२ अर्धशतकका साथ ४२।९२ को औसतमा ४ हजार १ सय १९ रन बनाएका छन् । उनले २००८ मा दिल्लीस्थित आफ्नो घरेलु मैदान फिरोज शाह कोट्लामा अस्ट्रेलियाविरुद्धको टेस्टमा २ सय ६ रन बनाएका थिए । त्यो उनको करियरको एकमात्र दोहोरो शतक हो ।
यसैगरी २००३ देखि २०१३ सम्म चलेको एकदिवसीय अन्तर्राष्ट्रिय करियरमा गाम्भिरले ११ शतक र ३४ अर्धशतकका साथ ३९।६८ को औसतमा ५ हजार २ सय ३८ रन बनाएका छन् ।
गाम्भिरले २००७ देखि २०१२ सम्म ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा ३७ खेलमा ११९।०२ को स्ट्राइकरेटमा २७।४१ को औसतमा ९ सय ३२ रन बनाएका छन् ।
इन्डियन प्रिमियर लिग ९आईपिएल० मा उनको पूर्व टोली दिल्ली डेयरडेभिल्सले नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स राखेकै दिन फेसबुक भिडियोमार्फत् गाम्भिरले सन्यासको घोषणा गरेका हुन् ।
आईपिएलमा सर्वाधिक रन स्कोररको हैसियतका साथ उनले करियरमा पूर्णविराम लगाएका हुन् । आईपिएलमा उनले १ सय ५२ इनिङमा ३१ को औसतमा ३६ अर्धशतकसहित ४ हजार २ सय १७ रन बनाएका छन् । दिल्लीबाट आईपिएल करियर सुरु गरेका उनी २०११ मा कोलकाता नाइट राइडर्स सरुवा भएका थिए । उनले कोलकाताबाट २०१२ र २०१४ मा गरी दुई पटक आईपिएलको उपाधि जितेका थिए ।