फ्रान्समा अन्धाधुन्ध गोली प्रहार, तीन जनाको मृत्यु , १२ जना घाइते

 

पेरिस । फ्रान्सको पूर्वी शहर स्ट्रासवर्गस्थित क्रिसमस बजार नजिकै अन्धाधुन्ध गोली चलेको छ । उक्त घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

प्लेस क्लेवरमा भएको उक्त घटनामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थियो । घटनामा १२ जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनालाई आतंकवादीको संज्ञा दिँदै अधिकारीहरुले अनुसन्धान थालेका छन् ।

गोली प्रहार गरेपछि भाग्दै गरेको बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी पनि घाइते भएको बताइएको छ ।

उक्त संदिग्ध बन्दुकधारी आतंकवादी भएको प्रहरी स्रोत बताउँछ । उसको उमेर २९ वर्षको छ । स्टान्सवर्गमा जन्मिएको उसलाई यसअघि पनि प्रहरीले शंकाको घेरामा राखेको थियो ।

फ्रान्सको बीएफएम टेलिभिजनका अनुसार उक्त व्यक्ति मंगलबार बिहान आफ्नो घरबाट बाहिरिएको थियो । उसलाई प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गर्न खोजिरहेको थियो ।

खोजतलासका क्रममा प्रहरीले ग्रेनड फेला पारेको थियो । क्रिसमस नजिकिएसंगै सुरक्षा चुनौती युरोपभर बढ्दै गएको छ ।