अमेरिकामा ४० हजार मानिसको बन्दुकबाट हत्या

अमेरिका । अमेरिकामा बन्दुकका कारण हुने मृत्युको संख्याले रेकर्ड कायम गरेको छ । अघिल्लो वर्ष संयुक्तराज्य अमेरिकामा लगभग ४० हजार मानिसहरु बन्दुकले मरे । ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’को तथ्याँकबाट गरिएको विश्लेषणबाट निस्किएको यो नयाँ तथ्याँकले बन्दुकले हुने मृत्यु दशकौं यताकै सबैभन्दा धेरै भएको देखाएको छ ।
यस्तै खालको विश्लेषण पहिलोपटक एक गैर–नाफामुलक बन्दुकसँग सम्बन्धित नीति वकालत गर्ने समूह ‘एडुकेसनल फण्ड टु स्टप गन भ्वाइलेन्स’ले सञ्चालन गरेको थियो । सीएनएनले त्यो विश्लेषणलाई अनुसरण गर्दा सन् २०१७ मा ३९,७७३ मानिस बन्दुकबाट मारिएको पाएको छ । यो संख्या सन् १९९९ को भन्दा १० हजार बढी हो । त्यो वर्ष २८, ८७४ मानिस बन्दुकबाट मारिएका थिए ।

बन्दुकबाट हुने मृत्यु दरलाई वर्षहरुको समेत समायोजन गर्दा सन् १९९९ मा प्रति १ लाखमा १०।३ मृत्यु हने गरेको थियो, जुन सन् २०१७ मा बढेर प्रतिलाख १२ पुगेको छ । सेन्टर फर डिजिज कन्ट्रोलका तथ्याँकशास्त्रीहरुले सन् २०१७ मा अमेरिकामा बन्दुकबाट भएको मृत्यु सन् १९७९ यताकै उच्च भएको बताएका छन् । त्यो वर्ष पहिलोपटक बन्दुकबाट हुने मृत्युलाई कुल मृत्यु दरमा सुचिकृत गरिएको थियो ।

सीएनएनले गरेको विश्लेषणमा सन् २०१७ मा अमेरिकामा बन्दुकले मारिएकामध्ये २३, ८५४ मानिसहरु आत्महत्या गरेर मारिएको पाइएको छ । यो संख्या पनि १८ वर्षयताकै उच्च हो । सन् १९९९ मा बन्दुकबाट आत्महत्या गर्नेहरुको संख्या १६,५९९ थियो । त्यो संख्यामा ७ हजार बृद्धि भएको देखिन्छ ।

सन् १९९९ को तुलनामा बन्दुकबाट हुने आत्महत्याको दर वर्षहरुको समायोजन गर्दा ६।० बाट बढेर ६।९ पुगेको छ । तथ्याँकमा बन्दुकबाट हुने मृत्युमा बन्दुक प्रयोग गरेर हुने हत्या र आत्महत्याको साथ साथै असावधानीका कारण बन्दुक पड्केर हुने मृत्यु, युद्धमा हुने मृत्यु वा प्रहरीको कारबाहीको क्रममा हुने मृत्यु पनि समावेश छ । त्यस्तै केही बन्दुकबाट भएका मृत्युको भने कारण पत्ता लागेका छैनन् ।