विश्व शारीरिक सुगठनमा महेश महर्जनलाई स्वर्ण पदक

Maitrinews

 

काठमाडौं । भनिन्छ– प्रतीक्षाको फल मिठो हुन्छ। फल मिठो बनाउन परिश्रम, लगन र धैर्यको पनि उत्तिकै खाँचो हुन्छ। मंसिर २५ गते थाइल्यान्डको चियाङमईमा सम्पन्न १०औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडी महेश्वर महर्जनले त्यही धैर्य र लगनको प्रतिफलका रूपमा स्वर्णपदक हात पारेका हुन्।

महर्जनले विगत २० वर्षदेखि बडी बिल्डिङमा संघर्ष गरिरहे। उनले आफ्नो मात्र नभई नेपाली शारीरिक सुगठनको करिब ६५ वर्षदेखिको इतिहासलाई स्वर्णिम बनाए। किनकि लामो इतिहास बोकेको नेपाली शारीरिक सुगठनले विश्व च्याम्पियनसिपमा रजत पदकभन्दा माथिको सफलता प्राप्त गर्न सकेको थिएन। एसियामा भने उनले सन् २०१६ मा भुटानमा आयोजित ५०औँ एसियन शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक दिलाएका थिए। हालसम्म नेपाललाई शारीरिक सुगठनको अन्तर्राष्ट्रिय स्तरमा दोहोरो स्वर्णपदक दिलाउने महर्जन एक्ला खेलाडी हुन्।

नेपाललाई विश्व च्याम्पियनसिपमा पहिलोपटक स्वर्णपदक दिलाउन सफल भएका उनै महर्जन मंगलबार थाइल्यान्डबाट स्वदेश फर्केका छन्। उनको स्वागतका लागि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनालगायत कयौं खेल समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। त्यहाँ जम्मा भएका मानिसको भीडबाट एक व्यक्तिले भने, ‘क्रिकेट आउँदैछ हो।’ रिपोर्टिङमा गएका एक पत्रकारले जबाफ फर्र्काइहाले, ‘होइन।’ फेरि अपरिचित ती व्यक्तिले सोधिहाले, ‘फुटबल होला।’

पत्रकारले जबाफ फर्काए ,‘होइन, बडी बिल्डिङ हो।’ अचम्मित हुँदै ती व्यक्तिले सोधे, ‘हो र रु’ उनको प्रश्नको आसय थियो नेपाली खेलकुदमा क्रिकेट र फुटबलले मात्र समर्थकको साथ पाएको छ। महर्जनले पनि ऐतिहासिक सफलता हात पार्दै बडी बिल्डिङमा सबैको ध्यान केन्द्रित गराएका छन्। उनको त्यो सफलतापछाडि पनि कयौं किसिमका संघर्ष होलान्। उनी भन्छन्, ‘स्वर्ण जित्न साँच्चै ठूलो मिहिनत गर्नुप(यो।’ कयौं महिनासम्म नुन बारेका उनलाई खर्चको भारले पनि च्यापिरहेको थियो। प्रतियोगिताअगाडि कसैले ‘महर्जनले पदक जित्न सक्दैन’ भनेको इख उनमा थियो। उनी भन्छन्, ‘यस खेलमा हामीलाई एकदम दुःख छ। हामीले परिश्रम गरेरमात्र हुँदैन, निकै महँगा खानेकुरा खानुपर्छ। केही खानेकुरा देशबाहिरबाट पनि मगाउनुपर्छ।’

नेपाललाई ऐतिहासिक सफलता दिलाउन ३५ वर्षे महर्जनले करिब ७–८ महिनादेखि निरन्तर तयारी गरेका थिए। यसक्रममा उनले करिब ८ लाख जति व्यक्तिगत खर्च भएको बताए। त्यसो त, खेल जीवनको दुई दशकभित्र उनले शारीरिक सुगठन ९बडी बिल्डिङ० को कला सिक्दा कयौं खर्च गरे होलान्।

उनी भन्छन्, ‘खर्चभन्दा पनि देशका लागि पदक जित्न पाएँ, त्यसैमा खुसी छु। जसमा समग्र खेल क्षेत्र एवं राष्ट्रले गर्व गर्न पाएको छ, यही नै मेरा लागि ठूलो उपलब्धि हो।’ सहिद धर्मभक्त माथेमाबाट सुरु भएको शारीरिक सुगठनले पछिल्ला ५–६ वर्षयता सफलता चुम्न थालेको छ।

पहिलोपटक सन् २०१४ को छैटौं संस्करणको फिटनेस फिजिक्समा विमललाल श्रेष्ठले रजतपदक जितेका थिए। त्यसपछि सातौं संस्करणमा रुजेश साहीले ५५ केजी तौलमा कांस्य, आठौं संस्करणमा ननिता महर्जनले कांस्य र नवौं संस्कणमा ननिताले नै रजत र रुजेशले कांस्यपदक जित्दै नेपाली शारीरिक सुगठनलाई नयाँ उचाइ दिलाएका थिए। तर, मंसिर २५ देखि २ पुससम्म थाइल्यान्डको चियाङमईमा सम्पन्न १०औं विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियसिपको ७५ केजीमा नेपाललाई स्वर्ण पदक दिलाउँदै महेश्वरले शारीरिक सुगठनलाई स्वर्णिम बनाए। यसो त महेश्वरसहित अन्य विधाका खेलाडीले अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा थुप्रै स्वर्णपदक दिलाइसकेका छन्।

असोजमा सम्पन्न १५ औँ धर्मश्रीका विजेता विश्व शारीरिक सुगठन प्रतियोगिताका लागि छनोट हुनुपर्ने र नेपालका तर्फबाट प्रतिस्पर्धी बन्नुपर्नेमा किन महेश्वरलाई सो स्थानमा राखियो ? नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले आफूहरूले राष्ट्रिय गान नदिएको स्पष्ट पार्दै भने, ‘हामीसँग एक व्यवस्थापक मात्र थिए। उनी खेलाडीको सहयोगीका रूपमा खटिएका थिए। सोही बेला आयोजकले डाउनलोड गरेर नेपाली राष्ट्रिय गीत बजाएछन्, त्यो पुरानो परेछ। तर, उनीहरूले माफी मागिसकेका छन्।’राजभण्डारीले महेश्वरको तयारी आठ महिनाअघिदेखि भएकाले उनलाई पठाइएको बताए। उनले भने, ‘हामीले तयारीका हिसाबमा महेश्वरलाई पठाएका थियौं। जुन धर्मश्री प्रतियोगिताभन्दा अघि नै तय भएको थियो।’

महेश्वरको सफलता धेरै कारणले अर्थपूर्ण छ। खेलकुदको विश्वकप वा विश्व च्याम्पियनसिपमा पदक जित्नु नेपाली खेलाडीका लागि सहज मानिँदैन। त्यसैमा पनि राष्ट्रिय खेलकुदबाट शारीरिक सुगठनका लागि छुट्याइने बजेट निकै कम हुन्छ। सोही बजेटमै वार्षिक कार्यक्रम, प्रतियोगिता र खेलाडीलाई अन्तर्राष्ट्रिय खेलमा सहभागिताका लागि भने थोरै रकम खर्च गर्न संघ बाध्य हुन्छ।

त्यसैले त ठूलो प्रतियोगितामा सहभागिता जनाउँदा कैयौं रकम खेलाडी आफैंले खर्च गर्नुपर्छ। महेश्वर भन्छन्, ‘राष्ट्रिय खेलकुद परिषद्ले पनि सहयोग गर्ने बाचा गरेको छ। म खेलाडी हुँ। मेरो काम खेल्ने हो। उहाँहरुको काम व्यवस्थापन हो। मलाई विश्वास छ, त्यो उहाँहरूले गर्नहुन्छ।’ उनले प्रतिस्पर्धाअघि संघलाई पदक जित्ने विश्वास दिलाएको जानकारी दिए। उनले भने, ‘सोहीअनुरूप प्रदर्शन पनि गर्न सफल भएँ। परिवार, सिनियर खेलाडी र सबैको सहयोगले यो उपलब्धि प्राप्त गर्न सक्दा मलाई गर्व लागेको छ।’ विमानस्थलमा उनको स्वागत गर्न आमा, पत्नी र सात वर्षका छोरा पनि गएका थिए।

पछिल्ला महिनामा आफ्नो तौल घटाउन उनले कयौं किसिमका तयारी गर्नुपरेको थियो। विश्व च्याम्पियनसिप तयारीअघि तौल घटाउन उनले नुनदेखि पानीसम्म बारे। ‘उनले ऐतिहासिक सफलता सजिलै प्राप्त गरेकी होइन, यो उनको कठोर मेहनतको फल हो’, संघका उपाध्यक्ष दिनेश राजभण्डारीले भने, ‘महर्जनले प्रतियोगिता तयारीक्रममा आफ्नो नियमित खानामात्रै होइन, नुनदेखि पानीसम्म बारे।’ उनको सफलतामा परिवारको सहयोग र समर्थन पनि अर्को महत्वपूर्ण पक्ष बनेको छ। महेश्वर भन्छन्, ‘सर्वप्रथम त, परिवारको सहयोगले आज विश्व च्याम्पियनसिपमा पदक सम्भव भयो। त्यसमा झनै मेरी आमाले धेरै मेहनत गर्नुभएको छ। मेरो अबको लक्ष्य विश्व च्याम्पियनसिपमै अझै सफलता प्राप्त गर्नु हो।’