शाहिद र राशिदलाई पछि पार्दै सन्दीप बने सर्वाधिक विकेट लिने स्पिनर

Maitrinews

काठमाडौं । पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै उनीहरुलाई पछि पारेका हुन् । सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।

दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका सन्दीपले सोमबार रातिको लिग अन्तर्गत १३ औँ खेलमा किङ्ग्स–११ पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारेका हुन् ।      सन् २०१९ को जनवरीयता सन्दीपले बङ्गलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेल्दै छ खेलमा चार विकेट, यूएईसँगको तीन टि–२० सिरिजमा पाँच विकेट लिन सफल भएका थिए ।

सन्दीप युएईसँगको सिरिजपछि पुनः अष्ट्रेलियाको बिग ब्यास लिग खेल्दै चार विकेट लिएका थिए । त्यसैगरी पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आईपीएलमा सुरुवाती दुई खेलमा तीन विकेट लिएपछि सन्दीपको २७ विकेट पुगेको हो ।