चिनियाँ फुटबलर बु लीको विश्व चर्चा

Maitrinews

 

काठमाडौं । ला लिगामा क्याटालन डर्बीमा लियोनल मेस्सीले दुई गोल गरेर बार्सिलोनालाई जिताए । तर खेलपछिको दृश्यमा भने मेस्सी मात्र थिएनन् । उनीसँगै चर्चामा जोडिए, स्पानियोलका वु ली ।

क्याम्प नाउमा रहेका स्पानियोल समर्थकले खेलको ६३ औँ मिनेटसम्म ‘ओ‘ले ओले‘ओले’ आवाज निकाल्दै समर्थन गरिरहेका थिए । ६४ औँ मिनेटमा जब वु ली मैदान प्रवेश गरे, उनीहरुको शैली फेरियो, ‘वु‘ली‘ वु ली‘ वु ली ।’

मैदानमा उपस्थित दर्शकसँगै ला लिगा पछ्याउने विश्वभरका दर्शक र झण्डै चार करोड चिनियाँ समर्थकले पनि लीको शैली प्रत्यक्ष हेरिरहेका थिए । खेल हुने दिन र खेलपछि पनि दर्जनौँ चिनियाँ सञ्चार माध्यममा लीकै चर्चा चल्यो ।

गएको जनवरीमा चिनको फुटबल क्लब साङघाई एसआईपीजीबाट स्पेनिस क्लब स्पानियोल गएदेखि नै वु ली फुटबल समर्थकमाझ चर्चामा छन् ।

रेलिगेसनको कठीन अवस्थाबाट अगाडि बढिरहेको टिममा उनको आगमनले नयाँ उत्साह थपियो । हुन पनि ला लिगामा गोल गर्ने पहिलो चिनियाँ खेलाडी बनेको लीको शैली नै गजवको देखिन्छ ।

चार हप्ताअघि भायाडोलिडविरुद्ध गोल गरेपछि त उनी चिनियाँ समर्थकमाझ मात्रै होइन, विश्व फुटबल प्रेमीका आँखामा परे । युरोपका मुख्य पाँच फुटबल लिगमा चिनियाँ खेलाडीले गोल गरेको ३ हजार ७ सय ३१ दिनपछि लीको खेल हेर्न पाएका चिनियाँ समर्थक त दंगै छन् ।

शनिबार बार्सिलोनाविरुद्ध त लीकै लागि पनि महत्वपूर्ण समय थियो । किनभने उनका स्टार लियोनल मेस्सीविरुद्ध उनी मैदान उत्रिएका थिए । ली सानैदेखि मेस्सीका समर्थक हुन् । चिनमा उनलाई मानिसहरु पहिलेदेखि नै मेस्सीसँगै तुलना गरिरहन्थे ।
२००८ को बेइजिङ ओलम्पिकका बेला बल टिप्ने काममा खटिएका उनै ली ले लियोनल मेस्सीसँग तस्वीर खिचाउने अवसर पाएका थिए । अहिले उनै मेस्सीविरुद्ध मैदान उत्रन पाउनु लीको फुटबल जीवनकै उत्कृष्ट क्षण बन्यो ।

चिनको नानजिङमा जन्मिएका लीका बुबाआमा दुवै सामान्य कामदार हुन् । घर खर्च चलाउनै ठिक्क हुने परिवारको कमाइले लीको फुटबल अघि बढ्न सक्दैनथ्यो । त्यसैले उनको लागि सहयोग गर्न साङ्घाई क्लबकै जु जेनबाओले दाता खोजे ।

सानैमा लीको फुटबल कला देखेका जेनबाओले आफ्नो एक साथीको सहयोगमा लीलाई पढ्ने र खेल्ने व्यवस्था मिलाइदिएका थिए । चिनमा फुटबलमा लाग्ने साना केटाकेटी सामान्य परिवारकै हुन्छन् । किनभने अलि हुने परिवारका सन्तान पढ्ने र जागिर खानेमा मात्रै केन्द्रित छन् । त्यहाँबाट छुटेका कोही मात्रै खेलकुदमा लाग्छन् ।

२००३ को नोभेम्बरको एक दिन ली पहिलोपटक आफ्ना प्रशिक्षक गेनबाओसँगै फुटबल मैदानमा देखिएका थिए । १२ वर्षका उनी ओभर कोट लगाएर अनौठो हाँसो हाँस्दै यताउति गरिरहेका थिए ।

त्यसको १६ वर्षपछि स्पेन लाग्ने बेलामा लीले त्यही दिन सम्झिरहेका थिए । ‘ठीक यो समय म १६ वर्षअघिको त्यो दिन सम्झिरहेको छु । मैले भविष्यका लागि फुटबल खेल्न घर छाडेर अर्को सहर गएको थिएँ । अहिले पनि उस्तै गरी देश छाडेर जाँदै छु’ उनले भनेका थिए ।

ली साहसी, स्पस्ट र लक्ष्य बनाएर अघि बढ्ने शैलीका छन् । २००४ मा चिनियाँ टेलिभिजन सीसीटीभीले लिएको एक अन्तर्वार्तामा सञ्चालकले भनेका थिए, फुटबल स्टार भएपछि अर्को क्लबमा जान तपाइँको ट्रान्सफर रकम कति होला रु

लीको जवाफ थियो, ‘७० मिलियन डलर जति होला ।’ जब कि त्यो समय इन्टरनाजियोनल मिलानोबाट रियल मड्रिड गएका ब्राजिलियन रोनाल्डोको रकम ४६ मिलियन डलर मात्रै थियो ।

चिनका उत्कृष्ट फुटबलर

साङ्घाईमा छँदा नै लगातार पाँच सिजन सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका ली ओस्कार र हल्क जस्ता खेलाडीसँगको संगतले पनि निकै उत्कृष्ट बन्दै गएका हुन् । अहिले त्यही अपेक्षा स्पेनिस मैदानमा चिनिया समर्थकले गरिरहेका छन् ।

२००३ मा जेनबाओ फुटबल एकेडेमीमा आबद्ध भएका ली २००६ देखि साङ्घाई फुटबल क्लबमा छन् । चिनको यु १७, यु २० हुँदै राष्ट्रिय टिममा २०१० मा पुगेका उनले ६३ खेलमा १५ गोल पनि गरेका छन् ।

चाइनिज सुपर लिगका सर्वाधिक गोल कर्ता लीले साङ्घाईबाट खेलेका २९६ खेलमा १५१ गोल गरेर कीर्तिमान बनाएका छन् ।

खेल रणनीति, स्थान, गति र तिब्रताका कारण पनि ली चिनका उत्कृष्ट फुटबलर हुन् । आफ्नो सुट हान्ने कलामा सुधार गर्नुपर्ने बताउँदै आएका लीले त्यसमा पनि निकै कडा मेहनत गरिरहेका छन् । जसले उनी चिनमा लगातार सर्वाधिक गोलकर्ता बन्न सके ।

यसैले चिनमा उनलाई समर्थकहरु ‘वु क्यु वाङ’ को नामले पनि सम्बोधन गर्छन् । जसको अर्थ हुन्छ, ‘वु फुटबलका राजा’ ।

बजार विस्तारमा प्रयोग

लीको फुबटल शैली उत्कृष्ट हुँदा हुँदै पनि उनको स्पेनमा गरिएको उपस्थिति खेलभन्दा बढी बजारको लोभले भएको फुटबल विश्लेषक बताउँछन् । हुन पनि स्पानियोलका अध्यक्ष चेन यानसेङ आफै पनि चिनिया नागरिक भएकाले उनले चीनको बजार देखेका छन् ।

दुई मिलियन युरोमा स्पेनिस क्लब गएका २७ वर्षका लीले पहिलो दिनदेखि नै आफ्नो प्रभाव पनि देखाए । त्यसैले त स्पानियोलको सामाजिक सञ्जालमा एकै महिनामा ८ लाख समर्थक थपिए । जसले चिनमै पनि रियल मड्रिड र बार्सिलोनाको तुलनामा नगन्य समर्थक रहेको स्पानियोलको बजार बढिरहेको छ ।

त्यसैले पूरा युरोपको भन्दा झण्डै दोब्बर जनसंख्या रहेको चिनमा बजार विस्तारले अरु युरोपियन लिगलाई समेत दबाव बनेको छ । त्यो सँगै बार्सिलोनामा रहेका ७० हजार चिनिया नागरिकले पनि स्पानियोलको बजारमा साथ दिइरहेका छन् । अझ नयाँ सिजनको सुरुमा स्पानियोलले चिन भ्रमणको योजना बनाइरहँदा बजार अझै बढेर जाने निश्चित छ ।

स्पानियोलले बजारकै लागि सोचेको भए पनि अवस्था अहिले फेरिएको छ । उनले मैदानमा आफ्नो कला सावित गरिसकेका छन् । आउने वित्तिकै भिलारियलसँग २(२ को बराबरी खेलेका उनले रायो भालेकानोविरुद्ध जित दिलाए । भ्यालेन्सिया र हुएस्कासँग बराबरी भएपछि भायाडोलिडविरुद्धको जितमा त उनले गोल नै गरे ।

यसैले स्पानियोलका मिडफिल्डर भिक्टर सान्चेजले भनेका छन्, ‘उनी आउँदा हामीलाई उनको बारेमा थाहा थिएन । वास्तवमा त हामी अचम्ममा परेका थियौँ । उनी निकै तिब्र छन्, बक्स भित्र खालि ठाउँ भेट्छन् र उनको आँखा गोलको खोजीमा रहन्छ ।’