महानगरभित्रका बी र सी डिभिजनलाई काठमाडौँ महानगरपालिकाको अनुदान

Mohan Bastola

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका भित्रका बी र सी डिभिजनका फुटबल क्लबलाई क्रमश तीन र दुई लाख अनुदान दिएको छ । अनुदान पाउने क्लबहरुमा बी डिभिजनका अन्नपूर्ण क्लब, टुसाल युवा क्लव, कुमारी युवा क्लब, बाँसबारी युवा क्लब छन् भन् सी डिभिजनका सानो गौचरण क्लब, महाविर क्लब, समाज कल्याण खेलकुद क्लब प्लानिङ वाइज युनाइटेड, स्वयम्भु क्लब, मनोहर एकीकृत क्लब र समाजिक युवा क्लब छन् ।
अनुदान रकम हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले टिमले जित्दा मात्र आफुले पनि जित्ने र टीमले हार्दा आफूले पनि हार्ने भएकाले खेलाडीहरुले टीमले जित्ने गरी खेल्नु पर्ने भन्दै राजनीतिमा पनि त्यहि नियम लागु हुने बताउनुभयो ।

‘टीमले जित्दा मैले जित्छु, टीमले हार्दा मैले हार्छु भन्ने भावनाले काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘खेलमा जस्तै राजनीतिमा पनि त्यो नियम लागु हुुनुपर्छ । त्यो भयो भने मात्र राजनीतिले असल बाटो समात्न सक्छ । उहाँले आगामी दिन महानगरले खेलकुदको विकास र पूर्वाधारमा माहानगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘यो हाम्रो सानो सहयोग हो,’ उहाँले भन्नुभयो, ‘देशमा मात्र होइन विदेशमा पनि नाम चम्काउने गरी खेल्नु होला । आगामी दिनमा हामी थप सहयोग गर्न तयार छौँ ।’

कार्यक्रममा बोल्दै उपमयेयर हरिप्रभा खड्कीले महिलाहरुको पनि खेलकुदको विकास गर्नुपर्नेमा जोड दिनुभयो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले पनि खेलकुदको विकासमा महानगर लाग्ने बताउनुभयो । एन्फाका अध्यक्ष कर्मा्छिरिङले महानगरपालिकाले खेलकुदको विकासमा गरेको सहयोगको खुलेर प्रसंशा गर्नुभयो । ‘राष्ट्रको निकायले खेलकुदमा लगानी नगरेसम्म खेलकुदको विकास हुन सक्दैन,’ उहाँले भन्नुभयो, ‘खेलकुदको विकासमा काठमाडौँ महानगरपालिकाले राम्रो सुरुवात गरेको छ । यो सहयोग खेलकुदको इतिहासमा स्वर्ण अक्षरले लेखिन्छ ।’ उहाँले महानगरको सामाजिक विकासमा खेलको क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । ‘महानगरले खेलकुद विकासका लागि पूर्वाधार विकासमा पनि हसयोग गरोस भन्ने हाम्रो अपेक्षा छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो तर्फबाट पनि सक्ने सहयोग महानगरपालिकालाई गर्छौ ।’

यस अघि महानगरभित्रका ए डिभिजनका क्लबहरु मनाङमस्याङ्गी, संकटा, हिमालयन शेर्पा, सरस्वती युवा, मच्छिन्द्र युवा र काठमाडौँ खेल मण्डललाई काठमाडौँ महानगरपालिकाले १०–१० लाख अनुदान सहयोग गरेको थियो ।