इरानविरुद्ध सैन्य कारबाहीसहित सबै विकल्प खुला

 

साउदी अरब । आफ्नो तेल प्रशोधन उद्योगमा केही हप्ताअघि आक्रमण भएपछि साउदी अरबले त्यसको जबाफ दिन आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ।
तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका एक प्रवक्ता अदेल अल जुबैरले बताए।

साउदी अरबले कस्तो कदम चाल्ने भनेर निर्णय लिनुअघि विस्तृत अनुसन्धानको परिणामलाई कुर्ने उनले बताए।

तर इरानलाई उत्तरदायी बनाइनुपर्ने उनको भनाइ थियो।

अमेरिका र साउदी अरबले ती आक्रमणका घटनामा इरानको संलग्नता भएको आरोप लगाउने गरेका छन्।

तर इरानले आफूले ती आक्रमण नगरेको दाबी गरेको छ।

न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा बोल्दै इरानी राष्ट्रपति हसन रूहानीले असमझदारीले भीषण युद्ध गराउन सक्ने चेतावनी दिएका छन्।

यसअघि फ्रान्स, जर्मनी र ब्रिटेनका नेताहरूले साउदी तेल प्रशोधन केन्द्रमा भएका आक्रमणहरूमा इरानको हात रहेको बताएका थिए।