आँधीका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ११ पुग्यो, १२ सय उडान रद्द

maitrinews

अमेरिका । अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
घटनामा परी मृत्यु भएका मध्ये एक प्रहरी र एक उद्धारकर्तासमेत रहेका अधिकारीले जनाएका छन् । टेक्सासको लुब्बुकमा उनीहरुको मृत्यु भएको हो ।

त्यसैगरी ओक्लाहोमामा पनि बाढी र वर्षासँगै आँधी आएको थियो । त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले दिएको जानकारीअनुसार आँधीका कारण सवारी साधनहरु बाटोमै रोकिएका थिए । बृद्धबृद्धाहरुको एउटा जोडी शनिबार लुइसियाना नजिकै शनिबार मृत अवस्थामा भेटिएका छन् भने अर्का एक जनाको इओवामा मृत्यु भएको छ ।

आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौ घरहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । त्यसैगरी कतिपय राजमार्गहरु बन्द भएका छन् । विषेशगरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन् ।
त्यसैगरी सिकागोका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने १२ सयभन्दा बढी उडान सेवा स्थगित भएको अधिकारीहरुले जनाएका छन् । विमानस्थलका अधिकारीहरुका अनुसार ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ९ सय ५० भन्दा बढी उडान स्थगित भएका हुन् ।

शनिबार बिहानैदेखि आइतबार दिउँसोसम्मका सेवाहरु बन्द गरिएको उनीहरुले जानकारी दिएका छन् । शनिबार रातभरी र बिहानसम्म पनि वर्षा भएको उनीहरुले बताएका छन् ।