४५ जना सिरियाली सैनिक मारेको टर्कीको दाबी

maitrinews

 

अंकारा । टर्कीले सिरियाका ४५ सैनिक मारेको दाबी गरेको छ । शुक्रवार टर्कीले सिरियामा आक्रमण गर्दा ३३ जना टर्केली सैनिक मारिएका थिए । सिरियाली राष्ट्रपति बशर–अल–असद सरकारलाई रूसले समर्थन गरेको छ । टर्कीले सिरियाली विद्रोहीलाई सहयोग गर्दै आएको छ ।

टर्कीले सिरियामाथि आक्रमण गरेपछि रूसले सिरियाको सहयोगका लागि २ वटा जहाज शनिवार टर्कीको सीमा नजिकै पठाएको छ । सिरियाको प्रत्याक्रमणबाट हतासिएको टर्कीले यूरोपेली महासंघलाई पनि धम्की दिएको छ । आफूलाई सहयोग नगरे यूरोपमा गैरकानूनी आप्रवासीको बाढी पठाइदिने चेतावनी दिएको छ ।

इद्लिबमा व्यापक युद्धको जोखिम बढिरहेका वेला भएको उक्त आक्रमणप्रति अमेरिका र राष्ट्रसंघले आपत्ति जनाएका छन् । टर्कीको हाटेका गभर्नर राहमी दोगानले टर्कीका दर्जनौं सैनिक घाइते भएका र उनीहरूलाई उपचारका लागि टर्की लगिएको जानकारी दिए । सिरियाको इद्लिब टर्कीसँग सीमा जोडिएको क्षेत्र हो । इद्लिबमा केही सातादेखि टर्की समर्थित लडाकु र रूससमर्थित सिरियाली सेनाबीच भइरहेको भीषण युद्धमा ठूलो जनधनको क्षति पुगेको छ । राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसका प्रवक्ता स्टेफानी डुजारिकले तत्कालै हस्तक्षेप नगरिए इद्लिबमा अझ बढी जनधनको क्षति हुन सक्ने चेतावनी दिएका छन् । महासचिव गुतेरेसले तत्काल युद्धविराम गर्न आग्रह पनि गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले आफूहरू नेटोको सदस्य राष्ट्र टर्कीको पक्षमा रहेको बताउँदै सिरियाली सेना, रूस र इरान समर्थित लडाकुलाई इद्लिबमा जारी कारबाही रोक्न आग्रह गरेका छन् । नेटो प्रमुख जेन्स स्टोलटेनबर्गका प्रवक्ताले पनि हिंसात्मक कारबाही तत्काल रोक्न र शान्तिको वातावरण बनाउन आग्रह गरेका छन् ।

टर्कीले इद्लिबमा रहेका आफ्ना सैनिक निरीक्षण पोस्टबाट सेना फिर्ता गर्न सिरियाली सरकारलाई आग्रह गरेको छ । रूसले भने सिरियाभित्रका आतंकवादीलाई टर्कीले सहयोग गरिरहेको आरोप लगाएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले इद्लिबमा ठूलो संख्यामा आफ्ना सेना मारिएलगत्तै आपत्कालीन बैठक बोलाएका थिए । राष्ट्रपतिका प्रेस सल्लाहकार फाहरेतिन आल्तुनले टर्कीको सेनाले पनि प्रतिरक्षात्मक कारबाही गरेको दाबी गरे ।

महिनाभित्र टर्कीका सेनालाई लक्षित गरी भएका आक्रमणबाट ५३ जना टर्केली सैनिकको मृत्यु भइसकेको छ । इद्लिब संकटका बारेमा टर्कीले कूटनीतिक सक्रियता तीव्र पारेको छ । टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालिनले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई फोन गरी पछिल्लो परिस्थितिका बारेमा अवगत गराएका छन् ।