वन्यजन्तुको मासु व्यापार रोक्न अपिल

 

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउन सबै देशहरुलाई अपील गरेको छ ।

डब्ल्यूएचओका प्रमुख डा। टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।

चीनको वुहान शहरस्थित जंगली जनावर र पंक्षीहरुको खरिदबिक्री हुने बजारबाट कोरोना भाइरस फैलिन सुरु गरेको थियो । संक्रमण बढ्दै गएर मानिसहरुको ज्यान जान थालेपछि डब्ल्यूएचओले ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटलकाल घोषणा गरेको थियो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोसले भनेका छन्, ‘जीवित जनावरको बिक्री हुने बजारलाई फेरि तबमात्र खोल्न अनुमति दिनुपर्छ, जब भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ ।’

टेड्रोसले पशुपंक्षी बजार लाखौं जनताको भोजनको एक महत्वपूर्ण स्रोत भए पनि अधिकांश क्षेत्रमा स्वच्छताको अभाव रहेको बताएका छन् ।

साथै डब्लुएचओले जनावरबाट मानिसमा सर्ने भाइरस रोकथामका लागि एक उपयुक्त उपायको खोजी गरिरहेको पनि बताएको छ ।