भारतमा रेलले किचेर १६ मजदुरको मृत्यु

maitrinews

 

भारत । भारतको महाराष्ट्रको औंरगाबादमा रेलले किचेर १६ जना आप्रवासी मजदुरको मृत्यु भएको छ । दुर्घटना बदनापुर र कर्माड रेलवे स्टेसनको बीचमा रहेको परभनी–मनमाड रेल सेक्सनमा भएको थियो ।

दक्षिण मध्य रेलवे प्रमुख पिआरओका अनुसार दुर्घटना शुक्रबार बिहान भारतीय समयअनुसार करिब ५ः३० बजे भएको थियो ।

पिआरओले ती मजदुरहरू रेलको ट्रयाकमा सुतेका कारण दुर्घटना भएको बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुर्घटनाबाट घाइते भएका पाँचजनालाई औंरगाबादको सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

औंरगाबादका एसपी मोक्षदा पाटिलका अनुसार सबै मजदुर जालनाको एक स्टिल फ्याक्ट्रीमा काम गर्थे । ती कामदार मध्यप्रदेश जानलाई जालनाबाट भुसावलतर्फ हिँडिरहेका थिए । उनीहरूलाई भुसावलबाट रेल पाउने बताइएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै दुर्घटनाप्रति गहिरो दुख व्यक्त गर्दै सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।