ऊर्जाका अन्य स्रोत बन्द गरी विद्युतको खपत बढाउनुहोस्, लोडसेडिङ इतिहास भयोः हितेन्द्रदेव शाक्य

Mohan Bastola

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तत्काल लोडसेडिङको कुनै सम्भावना नरहेको बताउनुभएको आज ऊर्जा मन्त्रालयमा गरेको पात्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पनि माग र आपूर्तिको सन्तुलन कायम रहेको भन्दै लोडसेडिङको कुनै सम्भावना नरहेको बताउनुभयो । ‘केही दिन यता विभिन्न सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा अघोषित लोडसेडिङ सुरु भएको भन्दै जनमानसमा मानसिक त्रास उत्पन्न भएको छ,’ पत्रकार सम्मेलनमा बोल्दै विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक शाक्यले भन्नुभयो, ‘तपाईँहरुबाट व्यक्त भैरहेको चिन्ता र चासोप्रति हाम्रो ध्यानाकृष्ट भएको छ । पुस १३ र १४ को सन्र्दभलाई लिएर सामाजिक सञ्जाल र सञ्चारममाध्ययमले पनि निकै चासो व्यक्त गर्नुभयो । व्यवस्थापन नयाँ भएकाले पनि सञ्चारमाध्ययम र जनमानसमा मानसिक त्रास उत्पन्न भएको हुनसक्छ । म त्यसलाई सकारात्मक रुपमा लिन्छु र सबैलाई आश्वस्त पार्दै भन्न चाहन्छु । हामी उच्च सतर्कताका साथ प्राविधिक समस्या हलका लागि तयारी अवस्थामा छौँ । लोडसेडिङको कुनै सम्भावना छैन ।’

शाक्यले विद्युत उपभोक्ताको माग भन्दा आपूर्ति कम भएको अवस्थामा मात्रै लोडसेडिङ गर्नुपर्ने बाध्यता रहने भन्दै अहिले त्यस्तो अवस्था नभएको पनि प्रष्ट पार्नुभयो । ‘पुस १३ गते राष्ट्रिय विद्युत प्रणालीमा साँझ ६ बजेर २५ मिनेटमा १४ सय ३१ मेगावाटको लोड थियो । उक्त समयमा खिम्ती–लामोसाँघु १ सय ३२ केभी प्रशारणलाइन पूर्ण क्षमतामा सञ्चालित भएको खिम्ती–लामोसाँघु–भक्तपुर–माताथिर्त–हेटौँडा–ढल्केबर प्रसारण लाइन एउटै लुपमा सञ्चालित भएकोमा सोही समयमा मस्र्याङदी जलविद्युत केन्द्रको पिकिङ जलाशयमा पानीको सतह न्यूनतममा पुगेपछि प्रणालीमा यथावत सूचारु राख्न त्यहाँको उत्पादन घटाउँदा भारतबाट आयत गर्ने विद्युतको मात्रा बढी भई सोही समयमा खिम्ती–लामोसाँघु प्रशारण लाइन ओभरलोड भएकाले अवरोध भएको हो,’ उहाँले भन्नुभयो, ‘त्यसको निराकरण भैसकेको छ । राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोधलाई लोडसेडिङ भयो भनी नबुझ्न आग्रह गर्छु ।’

उहाँले विगतमा एउटा सर्किट ढल्केबरबाट पश्चिम चन्द्रनिगाहपुर, हेटौँडा हुँदै कुलेखानी, स्युचाटार, बालाजु भएर भक्तपुर हुँदै लामासाँघु र खिम्तीसम्म पुग्ने गरको बताउनुभयो । ‘अर्को खिम्तिबाट लामासाँघु, भक्तपुर हुँदै काठमाडौँ प्रवेश हुन्थ्यो,’ शाक्यले भन्नुभयो, ‘त्यस्तो अवस्थामा बानेश्वरतिर बिजुली पुगने भने हेटौँतिरको लाइनबाट विजुली ल्याएर जोड्नुपथ्यो भने त्यता ओभरलोड हुँदा भक्तपुरतिरबाट ल्याएर जोड्नुपथ्र्यो । कहिले पूर्वबाट कहिले पश्चिमबाट जोड्नुपर्ने बाध्यताले ती दुईको लुप प्रसारण कहिल्यै पनि एकै ठाउँमा जोडिन पाएका थिएनन् हामीले त्यसको समाधान मंसिरको पहिलो हप्ता गरेका थियौँ । २०७३ सालमा ढल्केवार–खिम्ती लाइन जोडिएदेखि नै जोड्न बाँकी रहेको काठमाडौँदेखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप ( सर्कल) हामी जोड्न सफल भएका थियौँ ।’ त्यसपछि सबै भन्दा बढी लोड वृद्धि भएको यो पहिलो पटक हो ।’

उहाँले खिम्ती–लामोसाँघुमा लोड बढी भएको अवस्थामा मध्यमस्र्याङदीको पानीको सतह घटेर जाँदा विद्युत उत्पादन घटाएको र नेपालमा उत्पादन घटाएको अवस्थामा माग बढी रहेका बेला त्यसको स्वाभाविक असर स्वरुप नेपाल–भारत प्रसारण लाइनबाट खिम्ती–लामोसाँघु हुँदै बढी विद्युत नेपाल आउन खोज्दा त्यसले खिम्ती–लामोसाँघु लाइन अवरोध भएको बताउनुभयो । ‘त्यसको असर ढल्केबर–चपुर लाइनबाट जान खोज्दा अवरोध भयो,’ उहाँले भन्नुभयो, ‘त्यसरी ढल्केवरदेखि पश्चिम र कोहलपुरदेखि पूर्वको क्षेत्रमा विद्युत अवरोध भयो । लपु जोडेपछि यो पहिलो पटक देखिएको समस्या हो । हामीले भोलिपल्टै भार प्रेषण केन्द्रमा पुगेर छलफल गरी प्राविधिक समस्याको समाधान गरिसकेका छौँ । अब यो समस्या थाहा नभएर फेरि दोहोरिने भन्ने हुँदैन ।’

उहाँले पुस १४ गते बानेश्वरको ६७ केभी प्रशारणलाइमा भएको अवरोधको पनि समाधान भैसकेको बताउनुभयो । ‘यस्तो समस्या यो वर्ष मात्रै आएको होइन विगतका वर्षमा पनि आउने गरेको उहाँले बताउनुभयो । ‘तर, समस्यालाई जति सक्दो छिटो समाधान गर्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो । ‘अघिल्लो वर्ष साउनदेखि पुससम्म २२ विद्युत प्रणालीमा अवरोध भएको रहेछ । तत्काल समाधान गरेकाले त्यो थाहा नभएको हो । यो वर्ष पनि साउन महिना भित्रमा १० पटक भएको रहेछ,’ उहाँले भन्नुभयो, ‘मंसिरमा एक पुस महिनामा दुई पटक भयो । तर, यो विषयलाई सामाजिक सञ्जाल र सञ्चारमाध्ययमले पनि निकै चासो व्यक्त गर्नुभयो । म पुनः दोहोर्याउन चाहन्छु । व्यवस्थापन नयाँ भएकाले सञ्चारमाध्ययम र जनमानसमा मानसिक त्रास उत्पन्न भएको हुनसक्छ ।’

उहाँले बेला–बेलामा स्थानीय स्तरमा समेत विद्युत अवरोध भैरहेको हुन्छ भन्ने चासो धेरैबाट व्यक्त हुने गरेकोप्रति स्मरण गराउँदै भन्नुभयो– ‘कतै यो वर्ष विद्युत अवरोध बढी भएको हो कि भनेर हामीले काठमाडौँका सबै वितरण केन्द्रमा पुगेर तथ्याङ्क लिएका छौँ । त्यस्तो अवस्था हामीले पाएनौँ । गतवर्ष भन्दा कम नै भएको पाइएको छ ।’
पुराना टान्फर्रमर प्रतिस्थापन गर्ने, वितरण प्रणालीका पुराना संरचनाहरु मर्मत सम्भार गर्ने जस्ता निरोधात्मक कार्यहरु गरिरहेको भन्दै त्यसको सकारात्मक प्रभावका कारण पनि अवरोध कम हुँदै गएको उहाँले दाबी गर्नुभयो । ‘२०७६ मंसिरमा बालाजुमा ५४ घण्टा अवरोध भएको रहेछ । २०७७ मंसिरमा ४९ घण्टा मात्रै अवरोध भएको रहेछ । २०७६ मंसिरमा लैनचौर क्षेत्रमा १७ घण्टा अवरोध भएको रहेछ । २०७७ मंसिरमा सवा ४ घण्टा मात्रै अवरोध भएको देखिन्छ । २०७६ मंसिरमा टेकुमा १२ घण्टा अवरोध भएको तथ्याङ्कले देखाउँछ । २०७७ मंसिरमा ६ घण्टा मात्रै अवरोध भएको रहेछ,’ शाक्यले भन्नुभयो, ‘बानेश्वरमा २०७६ मंसिरमा ४१ घण्टा अवरोध भएको रहेछ । २०७७ मंसिरमा १९ घण्टा मात्रै अवरोध भएको रहेछ । यद्यपि, बानेश्वर वरीपरीबाट सामाजिक सञ्जालमार्फत धेरै गुनासा आउने गरेको छ । यो भनेको जनताहरु धेरै सचेत हुँदै गएका छन् भन्ने सन्देश पनि हो ।’

अहिले झ्याप्प–झ्याप्प वत्ती जाने समस्या पनि विगतको वर्षमा भन्दा सुधार भएको उहाँले बताउनुभयो । ‘तर, जनमानसमा चाँहि फेरि पनि लोडसेडिङ हुने हो कि भन्ने मानसिक त्रास बढेको छ अर्थात जनता बढी सचेत भएका छन् र खवरदारी पनि बढेको छ । यसले हामीलाई अझ बढी जिम्मेवार बनाएको छ,’ उहाँले भन्नुभयो, ‘यही जिम्मेवारी बोधका कारण हामी हाम्रो प्राविधिक र अन्य टीमलाई अझ बढी सतर्कताका साथ तयारी अवस्थामा राखेका छौँ । त्यसैले सबैलाई म अब लोडसेडिङ होला कि भन्ने त्रासमा नबस्न अपिल गर्न चाहन्छु । हामी बैशाखबाट विद्युत निर्यात गर्ने अवस्थामा पुग्दैछौँ । त्यसैले आपूर्ति कम होला भन्ने त्रासमा बस्नु पर्ने कुनै कारण छैन ।’
उहाँले औधोगिक र व्यापारिक क्षेत्रमा ऊर्जाका अन्य स्रोतहरु बन्द गर्न र दक्ष उर्जा विजुली प्रयोग गर्न अपिल गर्नुभयो । ‘विजुली नै प्रयोग गरेर विद्युतको खपत बढाई दिनुहुन पनि अपिल गर्दछु । विद्युतको माग धान्ने सबै प्रयास पूरा गर्न हामी रहदम तयार छौँ,’ उहाँले भन्नुभयो, ‘विजुलीको खपत बढाउनु भनेको मुलुकको अर्थतन्त्र बढाउनु हो । दाउरा, पेट्रोल, ग्याँसको सट्टामा विजुली प्रयोग गर्नु भनेको अर्थतन्त्रलाई बढवा दिनु हो ।’