ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पुगेः मुख्यमन्त्री पोखरेल

maitrinews

 

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको बताउनुभएको छ । नेकपाको चितवन भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्दे फसाउन खोज्दा प्रचण्ड आफै फसेको र उनको प्रयासपनि असफल भएको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले भन्नुभयो, अहिले प्रचण्ड र माधव नेपालले आफैंले गरेको हर्कतको परिणाम भोगिरहनुभएको छ । आफुलाई टाउकोमा हान्न खोजेपछि ओलीले संवैधानिक अधिकार प्रयोग गरेर प्रचण्ड–माधवहरुलाई सडकमा पुर्‍याइदिएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीलाई नक्कली राष्ट्रवादी भनेर आरोपपत्र पेश गर्ने व्यक्तिको राष्ट्रवाद सबैले देखिरहेको उहाँको भनाइ थियो ।

प्रचण्ड र माधव नेपालभन्दा ओलीको राजनीतिक उचाइ अग्लो रहेको बताउँदै पोखरेलले भन्नुभयो, अहिले पनि नेपाली जनताको बीचमा तपाईंहरु भन्दा अग्लो हैसियतमा प्रधानमन्त्री हुनुहन्छ । प्रचण्ड चुनावसँग डराएर हरेकचोटि निर्वाचन क्षेत्र परिवर्तन गर्ने गरेको आरोप लगाउँदै मुख्यमन्त्री पोखरेलले अबको निर्वाचनमा प्रचण्डले चितवन पनि छाड्ने दाबी गर्नुभयो ।