चीन गरिबीमुक्त भएको घोषणा

maitrinews

बेइजिङ । चीनले आठ वर्षको अवधिमा सिंगो मुलुक नै गरिबीमुक्त भएको घोषणा गरेको छ । राजधानी बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल्स’ मा आयोजित सभामार्फत राष्ट्रपति सी चिनफिङले चिनियाँ विशेषतायुक्त मापदण्डबमोजिम अब चीन चरम गरिबीबाट मुक्त भएको घोषणा गरेका हुन् ।
सत्तासीन भएपछि राष्ट्रपति सीले २०१२ देखि नै गरिबी निवारणको लक्ष्यलाई आफ्नो कार्यकालको सबैभन्दा प्रमुख एजेन्डा बनाउँदै आएका थिए । आफ्नो प्रतिबद्धताबमोजिम उनले गरिबीग्रस्त क्षेत्रहरूमा स्थलगत भ्रमण गरेर स्वयं नीति निर्माणमा साथ दिएका थिए । घोषणामा दाबी गरिएअनुसार आठ वर्षको अवधिमा चीनका ८३२ वटा गरिब जिल्ला, १ लाख २८ हजार गाउँ गरिबीमुक्त भएका हुन् ।

चिनियाँ मापदण्डबमोजिम त्यहाँका करिब १० करोड नगारिकलाई गरिबीको चपेटाबाट निकालिएको दाबी गरिएको छ । यद्यपि चिनियाँ मापदण्डको गरिबी निवारणको विषयलाई लिएर केही पश्चिमा सञ्चारमाध्यमले आशंका गरिरहेका छन् । चिनियाँ सञ्चारमाध्यमले भने यसलाई मानव इतिहासमा आजसम्म नभएको अद्भुत उपलब्धि भनेर व्याख्या गरेका छन् । आफ्नो महत्त्वाकांक्षी योजना सफल पार्न राष्ट्रपति सीले आठ वर्षको अवधिमा चीनका १४ वटा अति विपन्न क्षेत्रको भ्रमण गरेका थिए ।

१० करोड मानिस गरिबीबाट मुक्त भएपछि संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यको अवधि सन् २०३० अगावै गरिबी न्यूनीकरण लक्ष्य प्राप्ति गरेको जनाइएको छ । दिगो विकासको लक्ष्यभन्दा १० वर्ष अगाडि नै पूरा भएको भन्दै यसलाई उपलब्धि मानिएको छ । गरिबीमुक्ति घोषणासभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले कम्युनिस्ट पार्टीको सुदृढ नेतृत्व तथा संगठित शक्तिले गरिबी निवारण सम्भव भएको बताए । चिनियाँ कम्युनिस्ट पार्टीको कार्यक्षमताको प्रशंसा गर्दै सीले केन्द्रीय सहकार्य संयन्त्र, प्रान्तीय जिम्मेवारी, सहर र ग्रामीण कार्य प्रणालीको समन्वयबाट यो सम्भव भएको उनको भनाइ छ । गरिबी निवारणमा पाँच तह सचिवालयसहितको रणनीति बनाएर संघर्ष गरिएको उनले जानकारी गराए ।

चीनले गरिबीग्रस्त क्षेत्रहरूको पुनर्निर्माण, दुर्गम क्षेत्रका बासिन्दालाई सुगममा स्थानान्तरण, जातीय समूहको गरिबी निवारण, आवास क्षेत्रको पुनःसंरचना, शिक्षामा हरेक बालबालिकाको पहुँचलगायत अभियान चलाएर गरिबीको जालो तोडेको हो । चीनले उसको गरिबी निवारण गर्दा विश्वको गरिबी निवारणमा ७० प्रतिशत योगदान पुगेको बताइएको छ ।