निजी क्षेत्रले किन तत्कालै कोभिड खोप भित्र्याउन सक्दैनन् ?
काठमाडौँ । सरकारले निजी क्षेत्रले पनि कोभिड खोप भित्र्याउन सक्ने भने पनि तत्कालै उक्त व्यवस्था कार्यान्वयनमा आउने सम्भावना नदेखेको अधिकारीहरूले बताएका छन्।
सरकारले हालसम्म कुनै पनि निजी निकायलाई खोप ल्याउनका लागि अनुमति दिएको छैन।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरू कोभिड खोप लगाउनुपर्ने जनसङ्ख्याको ४० प्रतिशतलाई खोप दिइसकेपछि निजी क्षेत्रलाई पनि खोप ल्याउन बाटो खोल्न सकिने बताउँछन्।
अहिलेसम्म कुल जनसङ्ख्याको लगभग डेढ प्रतिशतले खोप लिइसकेको मन्त्रालय बताउँछ।
निजी क्षेत्रलाई शर्त
सरकारले गत पुसमा तय गरेको खोप खरिदसम्बन्धी मापदण्डमा चारवटा ढाँचा प्रस्ताव गरिएको थियो जसमा निजी क्षेत्रले पनि खोप खरिद गर्ने परिकल्पना गरिएको छ।
उक्त ढाँचामा सरकारले सोझै सरकारसँग खरिद गर्ने, सरकारले उत्पादकसँग खरिद गर्ने, सरकारले खोप विक्रेतासँग खरिद गर्ने र निजी क्षेत्रले खोप खरिद गरेर सरकारले तोकेका अस्पतालबाट उपलब्ध गराउने व्यवस्था गरिएको बताइन्छ।
