माथिल्लो तामाकोशी आयोजनामा बैशाखदेखि बिजुली उत्पादन

maitrinews

चरिकोट । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन राष्ट्रि गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । अहिले त्यहाँ कठिन भनिएको एक्सपान्सन ज्वाइन्टको जाडान काम सुरु भएको छ ।
आयोजनाकै जटिल मानिएको ३१० मिटरको माथिल्लो र ३७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको १०० मिटर तर्सो भागमा एक्सप्यान्सन जोइन्टको जडान काम सुरु भएको हो ।
एक्सप्यान्सन ज्वाइन्टमा २ दशमलव पाँच मिटरको दुईवटा पेनस्टक पाइप जडान कार्य सुरु भएको माथिल्लो तामाकोशी आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।
सुरुको डिजाइन अनुसार एक्सप्यान्सन ज्वाइन्ट बन्न नसक्दा आयोजनाको काम प्रभावित भएको थियो । लट–२ का भारतीय ठेकेदार कम्पनी टेक्स म्याको रेल्वे ईन्जिनियरिङले सुरुको डिजाइन अनुसारको एक्सप्यान्सन ज्वाइन्ट पाईप बनाएर पठाउन नसकेपछि डिजाइन संशोधन गरिएको थियो ।
अब निर्माणको कार्य सम्पन्न गरी बैशाखदेखि चरणबद्ध रुपमा विद्युत् उत्पादन सुरु हुने आयोजनाले जनाएको छ ।