भारत—पाकिस्तान सम्बन्ध सुधारको संकेत

maitrinews

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री इमरान खानलाई शुभकामना सन्देश पठाएका छन् । पाकिस्तानमा २३ मार्चलाई राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ ।
सोही अवसरमा मोदीले पाकिस्तानी समकक्षीलाई शुभकामना सन्देश पठाएका हुन् ।
मोदीको शुभकामनालाई भारत र पाकिस्तानबीच सम्बन्ध सुधारका लागि हालैका दिनमा भइरहेका प्रयासकै एउटा कडीका रुपमा हेरिएको छ ।

शुभकामना सन्देशमा मोदीले एउटा छिमेकीका रुपमा भारत पाकिस्तानी जनतासँग हार्दिक सम्बन्ध राख्न चाहेको उल्लेख गरेका छन् । तर, त्यसका लागि विश्वासको वातावरण अनिवार्य भएको मोदीको भनाइ छ । ‘एउटा छिमेकी मुलुकका नाताले भारत पाकिस्तानी जनतासँग हार्दिक सम्बन्धको चाहना राख्छ । त्यसका लागि आतंक र शत्रुतारहित विश्वासको वातावरण अनिवार्य हुन्छ,’ मोदीले भनेका छन् । साथै उनले पाकिस्तानी प्रधानमन्त्री खानलाई कोरोना महामारीको चुनौती सामना गर्नका लागि शुभकामना समेत दिएका छन् ।
यसैबीच दिल्लीमा सिन्धु नदीको पानी बाँडफाँडसम्बन्धी भारत र पाकिस्तान उच्चस्तरीय आयोगको दुई दिने बैठक समेत सुरु भएको छ । जलस्रोतका उच्चअधिकारीहरुको यो बैठक प्रत्येक वर्ष हुनुपर्ने भए पनि दुई देशबीचको असहज सम्बन्धका कारण साढे दुई वर्षपछि मात्र हुन लागेको हो ।

१४ फेब्रुअरी २०१९ पुलवामा घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्त्य तनावपूर्ण रहँदै आएको थियो । जम्मु–कश्मीरको पुलवामा भएको आत्मघाती बम हमलामा भारतको केन्द्रीय सुरक्षा बलका ४० जवानको ज्यान गएको थियो । भारतले उक्त घटनामा पाकिस्तानको हात रहेको आरोप लगाउँदै आएको छ । गत वर्ष भारतले जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णय गरेपछि त पाकिस्तान भारतसँग थप चिढिन पुग्यो ।

दुई छिमेकबीचको तनावकै कारण दक्षिण एसियाली सहयोग संगठन ९सार्क० को शिखर सम्मेलन पनि पछि धकेलिँदै आएको छ । पुलवामा घटनापछि भारतले नोभेम्बर २०१९ मा पाकिस्तानमा हुने तय भएको १९औं सार्क सम्मेलनमा भाग नलिने बतायो । त्यसयता सार्क सम्मेलन कहिले हुने भन्ने टुंगो लाग्न सकेको छैन । जसका कारण पूरै संगठनकै भविष्यमाथि प्रश्न उठ्न थालेको छ । सार्कको १८औं सम्मेलन नोभेम्बर २०१४ मा काठमाडौंमा भएको थियो ।

सार्कलाई सक्रिय बनाउनका लागि अध्यक्षका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समकक्षी मोदीलाई धेरै पटक आग्रह गरिसकेका छन् । तर, भारतले पाकिस्तानले सीमापार आतंकवादलाई नरोकेसम्म सार्क अगाडि बढ्ने सम्भावना नरहेको बताउँदै आएको छ । र, पछिल्लो समय भारतले पाकिस्तानसँगको सम्बन्धकै कारण पछिल्लो समय सार्कलाई छाडेर बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास ९बिमस्टेक० मा जोड दिँदै आएको छ ।

तर, पछिल्ला केही सातायता भने दुवै मुलुक तनाव कम गर्न अग्रसर देखिएका छन् । त्यही क्रममा एक महिनाअघि मात्र दुवै देशका उच्चअधिकारीहरुबीच सिमामा युद्धविराम लगायतका विगतमा भएका सम्झौताहरुको कठोर रुपमा पालना गर्न समझदारी बनेको थियो । त्यही बेला नै सिन्धु नदीको पानी बाँडफाँडसम्बन्धी आयोगलगायतका अन्य द्विपक्षीय बैठकहरुका लागि सहमति भएको बताइएको छ ।

विश्लेषकहरुले भारत र पाकिस्तानबीच द्विपक्षीय बैठक सुचारु हुनुले सार्कका लागि सुखद भएको टिप्पणी गरेका छन् । ‘सार्कका लागि पाँचवर्षमा पहिलो सुखद खबर’ मंगलबारदेखि दिल्लीमा सुरुमा भारत–पाकिस्तान जलस्रोत अधिकारीहरुको बैठकका सम्बन्धमा भूराजनीतिक मामिलाका विश्लेषक कन्स्ट्यान्टिनो ह्याभियरले ट्विट गरेका छन् ।