नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औं स्मृति दिवस

काठमाडौं। नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस परेको छ। पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा नेकपा एमालेले विभिन्न कार्यक्रम गरेको छ।

अधिकारीको विसं.२०५६ सालको वैशाख १३ गते निधन भएको थियो। अधिकारी विसं.२०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए। अधिकारीपछि पाँचजना कम्युनिष्टले सरकारको नेतृत्व गरिसकेका छन्। तर अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको बढी चर्चा हुने गरेको छ। अधिकारी नेतृत्वको सरकारले बृद्ध भत्ता वितरण गर्न सुरु गरेको थियो।

आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम पनि त्यहि सरकारले ल्याएको हो। १०० बाट सुरु भएको बृद्ध भत्ता अहिले तीन हजार रूपैयाँ पुगेको छ। नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताका व्यक्तित्व मनमोहनको जन्म विसं.१९७८ सालमा काठमाडौंमा भएको थियो। अंग्रेजविरूद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका थिए।