काठमाडौं उपत्यकामा आज विहीवारदेखि निषेधाज्ञा-खाद्य सामग्री तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द

काठमाडौं। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आज विहीवारदेखि निषेधाज्ञा लागु भएको छ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं उपत्यकामा निषेधाज्ञा गरिएको हो। आजबाट १५ दिन उपत्यकामा निषेधाज्ञा हुनेछ। निषेधाज्ञाको समयमा खाद्य सामग्री औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन्।

उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द हुनेछन्। खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ। सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ। सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न पाउनेछन्।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन्। त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायत ढुवानीका साधन पनि चल्न पाउनेछन्। सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाउनेछन्। अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *