सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त

 

काठमाडौं । सरकारले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को पुनर्गठन गरेको छ। कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले अध्यादेशमार्फत् सिसिएमसीको पुनर्गठन गरेको हो। पुनर्गठन गरिएको सिसिएमसीमा प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति रहनेछ। सिसिएमसीको प्रमुख कार्यकारी अधिकृतमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको स्रोतले पुष्टि गरेको छ । शर्मालाई सचिव सरहको राजनीतिक नियुक्ति गरिएको हो।

कोभिड प्रतिकार्यमा नेपाली सेनाका उपरथी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सदस्य रहने व्यवस्था छ। यसलाई आपतकाल घोषणा गरेर सेना परिचालन गर्नसक्ने सम्मको अधिकार सरकारले दिइएको छ। निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।

पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए । अब उनले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र सरकारबाट अनुमोदन भएका योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि पाएका छन् ।

शर्माले सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी पनि सम्हाल्नुपर्ने छ ।

यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । हालै पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आएका छन् ।