भर्चुअल गीत गाएरै नौलाख कमाउन सफल

लण्डन। बेलायतमा नेपाली रफी तथा किशोर कुमार नै मानिएका ख्यातिप्राप्त नेपाली गायक सपन कुमार राईले भर्चुअल गीत गायनवाटै करिबन नौलाख नेपाली रुपैयाँ कमाएका छन्। नेपालमा कोरोना महामारीका कारण संकटमा परेका नेपालीहरुका लागि सहयोग जुटाउने प्रमुख लक्ष्यका साथ गत शनिवार र आइतवार गायक सपन कुमार राईले नेपालकी कोकिलकण्ठी गायिकाको रुपमा ख्याति कमाएकी शर्मिला बर्देवासंग भर्चुअल जुम मार्फत युगल गीत गाएर ५ हजार ४ सय ९२ पाउण्ड १९ पेन्स अर्थात करिबन नेपाली नौलाख रुपैया कमाउन सफलता प्राप्त गरेको हो।

बेलायतस्थित सपन कुमार राईको सपन निवासवाटै तीन–तीन घण्टा फेसबुक लाइभ गरेर सपन र शर्मिला दुवैले मर्मस्पर्शी गीत गाएर उक्त रकम ऐतिहासिक रुपमा संकलन गर्न सफलता मिलेको जानकारी गायक सपन कुमार राईले दिएका छन्। उक्त भर्चुअल लाइभ कार्यक्रममा असंख्य नेपाली तथा भारतीय दर्शकहरुको साथ र सहभागिता रहेको थियो। ती असंख्य दर्शकको चाहना तथा अनुरोधमा नै दुवैले नेपाली तथा हिन्दी हिट गीतहरु गाएर मन्त्रमुग्ध पारेका थिए। कार्यक्रममा मन्जु गुरुङ राईले पनि गीत गाएर माहोल झन् भावुक बनाएकी थिइन् ।

संकलित रकममध्ये एनआरएनए यूकेलाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर किन्न दुई हजार ८ सय पाउण्ड १९ पेन्स, दुःखी असहायलाई निःशुल्क खाना खुवाइरहेका नेपालका गायक मिलन लामालाई ६७३ पाउण्ड, राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनलाई ६७३ पाउण्ड, तमुधिं यूकेलाई ६७३ पाउण्ड, निःशुल्क खाना बांडिरहेका नेपालस्थित क्याप्टेन विजय लामाको न्यानोपन संस्थालाई ६७३ पाउण्ड सहयोग स्वरुप दिने घोषणा सपन कुमार राई र शर्मिला बर्देवाले गरेका छन्। भर्चुअल सांगीतिक कार्यक्रमको संयोजन प्रतिमा जोशीले गरेकी थिइन् । सरोज परियार र सुनिलले प्रविधिमा सघाएका थिए । प्रतिमाले चन्दादाताहरुलाई धन्यवाद समेत दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *