पार्टीभित्रकै नेताबाट अनिष्ट हुने काम भयो : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताउनुभएको छ । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले संसदीय प्रणाली र दलीय व्यवस्थामा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको दाबी गर्नुभयो ।

उहाँले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वाभाविक भएको टिप्पणी गर्नुभयो ।

‘तिनले कहाँ–कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरु हुन्छन् । नेतृत्व तह अनुशासनहीन र अराजकतामा उत्रिन्छ । सम्मानीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । सरम छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

नेताहरुले पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको प्रधानमन्त्रीले भन्नुभयो। आफ्नो सरकार ढाल्नका लागि विश्वासको मत नदिएर बाहिर बस्नु र अर्को सरकार बनाउन कसरत गर्नु दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुभयो ।