वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

 

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ।

प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रममा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चौथो नम्बरमा हुनुहुन्छ । तर उहाँ संवैधानिक इजलासमा पर्नुभएको छैन ।

श्रेष्ठ होम आइसोलेसनमा रहेकाले उहाँ पछाडिको वरीयतामा रहेका खतिवडा इजलासमा परेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

यसअघि संसद विघटनविरुद्धका रिट सुनुवाइका लागि संवैधानिक इजलास गठन गर्दा वरिष्ठताको क्रम मिचेको भन्दै प्रधानन्यायाधीश जबराको आलोचना हुँदै आएको थियो ।

पछिल्लो पटक संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।